१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विज्ञान पत्रकार मञ्चको अध्यक्षमा खनाल


११ असोज, काठमाडाैँ । नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मेरो लगानी डटकमका सम्पादक राजेन्द्र खनाल चयन भएका छन् । मञ्चको राजधानीमा सम्पन्‍न सातौं साधारणसभाले खनालको नेतृत्वमा सर्वसम्मत रुपमा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजन पोखरेल (द हिमालयन टाइम्स), सचिवमा गोविन्द पोखरेल (कान्तिपुर) र कोषाध्यक्षमा दीपा अधिकारी चुनिएका छन् । सदस्यहरुमा मधुसुधन गुरागाईं (काभ्रेन्युज डटकम) , बालिका मादेन (रेडियो नेपाल) र बुनु थारु (कान्तिपुर) रहेका छन् । मञ्चको सल्लाहकारमा संस्थापक अध्यक्ष छत्र कार्की र निवर्तमान अध्यक्ष लक्षमण डंगोल रहेका छन् ।

नेपालमा विज्ञान पत्रकारिता प्रवर्द्धनका लागि २०७० सालमा गठन भएको नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) क्यानाडास्थित विश्व विज्ञान पत्रकार महासंघसाग आबद्ध छ ।

नवगठित समितिका अध्यक्ष खनालले विज्ञान लेखन र पत्रकारितालाई समाजसँग जोड्न आफूले यथाशक्य भूमिका निर्वाह गर्ने बताए । एनएफएसजेलाई विज्ञान पत्रकारितामा कलम चलाउँदै आएका पत्रकारहरुको फोरमका रुपमा विकास गरी तथ्यपरक र सबैले बुझ्न सकिने विज्ञान समाचार लेखनलाई प्रवर्द्धन गरिनेछ,’ खनालले भने । निर्वतमान अध्यक्ष डंगोलले नवगठित समितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार ०७:०९