१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कोरोनासम्बन्धी केही महत्वपूर्ण जानकारीहरू


-डा खेमबहादुर कार्की 

कोरोना संक्रमण एक व्यक्तिदेखि अर्को व्यक्तिमा थुकको छिटाबाट सर्ने हो । संक्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छिउ गर्दा निस्केको थुकको छिटाहरु स्वस्थ व्यक्तिको मुख, नाक र आँखामा प¥यो भने त्यहाँबाट कोरोना भाइरस शरीर भित्र छिर्छ र संक्रमण हुन्छ । त्यसो हुँदा यो रोगबाट बच्न हरेक व्यक्तिले नाक, मुख छोप्ने गरी माक्स लगाउने, कम्तिमा एक व्यक्ति र अर्को व्यक्तिको बीचको दुरी २ मिटर भन्दा बढी हुने गरी बस्ने गर्नुपर्छ ।

संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउ गर्दा वा सास फेर्दा थुकका छिटा उडेर सतहमा आएका हुनसक्छन् र हाल चलाउँदा, हातले छुँदा ती थुकका छिटाहरु हातमा लाग्दा कोरोना भाइरस टाँसिन सक्छ । त्यही हातले मुख, नाक वा आँखा छुँदा ती भाइरसहरु शरीरभित्र प्रवेश गर्दछन् र संक्रमण हुन्छ । त्यसो हुँदा पटक पटक साबुन पानीले मिचि मिचि हात धुने बानी बसाल्नुपर्छ । हातले नाक, मुख तथा आँखा छुने गर्नुहुँदैन ।

कोरोना संक्रमित भएको थाहा पाउने वित्तिकै आत्तिने वा हडबडाउने वा सम्पर्कमा नआउने गर्नु हुँदैन । कोरोना संक्रमण भएको व्यक्तिको नजिक सम्पर्कमा रहेका व्यक्तिहरुलाई यो रोग सर्न सक्छ । त्यसैले, विगतको हप्तामा आफ्नो नजिकको सम्पर्कमा आएका व्यक्तिहरुको बारेमा स्वास्थ्यकर्मीहरुलाई जानकारी दिनु पर्छ । उनीहरुलाई सम्पर्कमा ल्याउने र परीक्षण गराउने साथै परीक्षणको नतिजा नआउन्जेल घरमा अलग्गै(छुट्टै) बस्न लगाउने र पोजिटिभ रिपोर्ट आएमा आइसोलेशन वा अस्पतालमा आउन र सेवा लिन उत्प्रेरित गर्नुपर्दछ । कोरोनाबाट भागेर होइन सामना गरेर नै जितिन्छ । कोरोना सङ्क्रमण भएको पत्ता लगाउने र सङ्क्रमितलाई छुट्याउनु नै कोरोना नियन्त्रणको महत्वपूर्ण कदम हो । यसमा सबैको सहयोग आवश्यक हुन्छ ।

कोरोना सङ्क्रमण देखिएको व्यक्तिको सम्पर्कमा आएका अरु व्यक्तिहरुको प्रयोगशाला परीक्षण सम्पर्क भएको ५ देखि ७ दिनमा गर्नुपर्छ । ५ दिन अघि गरेमा नतिजा नेगेटिभ (सङ्क्रमण नभएको) भन्ने आउन सक्छ किनभने यो भाइरस शरीरमा फैलन ५ दिनसम्म लाग्छ । शरीरमा फैलिएपछि मात्र परीक्षण गर्दा देखिने हो । त्यसैले आफ्नो नजीकको व्यक्तिलाई पोजेटिभ आउने वित्तिकै जाँच गराउनु भन्दा ५ दिनसम्म जनस्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पूरा गरेर अलग्गै बस्ने र ५ दिन पुगेपछि मात्र परीक्षण गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय अनुभवहरुको आधारमा कोरोना सङ्क्रमित व्यक्ति संभव भएसम्म घरमै बस्नु राम्रो मानिन्छ । घरमै अलग्गै बस्ने ठाउँ, शौचालय, नुहाउने ठाउँ भएका, परिवारमा ज्येष्ठ नागरिक वा बालबालिका नभएका ब्यक्तिहरु घरमा आइशोलेशनमा बस्नु राम्रो हो । तर यदि घरमा बस्ने परिस्थिति नभएमा महानगरपालिका÷नगरपालिका वा स्वास्थ्य मन्त्रालयले तयार गरेका आइसोलेशन केन्द्रहरुमा बस्नु पर्ने हुन्छ । यसका लागि सङ्क्रमित व्यक्ति र नीजका नजिकका नातेदार वा परिवारले सहयोग गर्नुपर्छ ।

सङ्क्रमित व्यक्तिहरु माथि कुनै प्रकारको हेला, भेदभाव वा दुर्व्यवहार गर्न पाइने छैन । यस्तो गरेको पाइएमा प्रचलित कानून अनुसार कार्वाही हुन्छ । कोरोना सङ्क्रमणको लडाईँको अग्रमोर्चामा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई कसैले दुर्व्यवहार गर्न पाइदैन । उनीहरुको साहस, आँट, धैर्यता र सक्रियताले मात्र यो युद्ध जित्न सकिन्छ । त्यसैले उनीहरुको मनोबल उच्च राख्न सबैले प्रयत्न गर्नुपर्छ । उनीहरु माथि दुर्व्यवहार गर्ने कुनै पनि व्यक्तिलाई कानून अनुसार सजाय हुन्छ । तत्काल कार्वाही गर्नुपर्छ ।

आइसोलेशन केन्द्रमा रहेका लक्षण चिन्ह नभएका व्यक्तिहरुलाई १४ दिन पछि पुनः परीक्षण नगरी डिस्चार्ज गर्न सकिन्छ । लक्षण चिन्ह नभएका व्यक्तिहरुमा संक्रमण भएको १० दिन पछि कोरोना निष्कृय हुने वा कोरोना भाइरसको मृत्यु भइसकेको हुने कुरा विश्व स्वास्थ्य संगठनले तयार गरेको निर्देशिमा प्रष्टसँग लेखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशन गरेको निर्देशिकामा पनि सोही कुरा प्रष्ट लेखिएको हुनाले सोही अनुसार गर्नु गराउन पनि अनुरोध छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार २१:३६