१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

रोजगारी सिर्जना गर्नेगरी ल्याइएको बजेटले ठूलो परिवर्तन ल्याउने विश्वास


२३ जेठ, काठमाडाैँ । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालद्वारा आज यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उहाँले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो ।

“सरकारी स्रोतबाट सञ्चालन भई घाटामा गएका उद्योगलाई पुनः सञ्चालनका लागि सरकारले लगानी गर्न हुँदैन,” उहाँले भन्नुभयो । अरुण तेस्रो सरकार आफैले निर्माण गर्दा देश र जनता लाभान्वित हुने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले बजेटले ज्येष्ठ नागरिकको बीमा तथा युवालाई सीपमूलक शिक्षामा प्रोत्साहन गरी विभिन्न परियोजनामा ऋण सहयोगको व्यवस्था गरेका कारण देशमा नयाँ उद्योग थपिने र रोजगार बढ्ने विचार व्यक्त गर्नुभयो । उहाँले विगतमा मुलुकमा राजश्व चुहावट र भ्रष्टाचारका कारण देश विकासमा अवरोध पुगको र त्यसको अन्त्यका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको अधिकारका लागि सरकारले बजार हस्तक्षेप र काला बजारीलाई कारबाहीको नीति ल्याउनुुपर्ने बताउनुभयो । केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले जलविद्युत्को विकासका लागि सरकारले प्राथमिकता दिएको बताउँदै त्यसले नागरिकको जीवनस्तर बढ्ने र देशको चाँडो समृद्धि हुनसक्ने बताउनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १७:४९