१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आइसोलेसन अनुभवः कोरोना संक्रमितको मृत्युको खबर सुन्दा आङ जिरिङ्ग हुन्थ्यो


-सुस्मिता ढकाल

“भाद्र ३१, २०७७ को दिन त्यस दिन म घर बाहिर निस्केर खुला आकाशमा उडिरहेका चराहरू देख्दा मैले नि आफू तिनीहरूसँगै उडेको अनुभूति गर्दै थिए।” न त्यो आकाश मेरो लागि नौलो थियो न त्यहाँ उडिरहेका चराहरू नै। हरेक साँझ छतमा गएर त्यसको सुन्दरतामा रमाउने मेरो दिनचर्या नै बनेको थियो। कुनै बेला आकाश अलिक बढी सुन्दर देखियो भने खल्तीबाट मोबाइल झिकेर त्यो दृश्यलाई क्यामरामा कैद गरिहाल्थिए। तर आज मलाई त्यो आकाश भिन्नै लागिरहेको थियो। सायदै त्यति सुन्दर दृश्य मैले पहिले कहिले नि देखेको थिए होला। म त्यसमा यति हराइसकेकी थिए कि मोबाइल तर्फ मेरो ध्यान नै गएन।

विगत ५ महिना देखि क्वारेन्टाइनमा बसिरहँदा कल्पनासम्म गरेकी थिएन कि यस कोरोना नामक भाइरसको सिकार कुनै दिन म नि हुन्छु होला भनेर। विश्व नै यस महामारीसंग जुधिरहेका बेला म र मेरो परिवार नि यसबाट अछूतो रहन सकेनौ। गत भाद्र १७ गते म लगायत मेरो परिवारले आफ्नो स्वाब परिक्षणको लागि दियौं।

परिक्षण गराउनुको पछाडि नि कारण थियो। ३/४ दिन अघिबाट मलाई एकदमै असजिलो भइरहेको थियो। अलि अलि बिसन्चो हुँदा घरमा भनिहाल्ने मेरो बानी थिएन। १/२ दिन त सहेर बसे तर जब मेरा तिघ्राहरु नमज्जाले दुख्न थाले अनि म आमालाई भन्न बाध्य भए। दुई दिन त मैले दुखाईको औषधि नि खाए। अर्को दिन बिहान उठ्नासाथ घा‌‌टी पनि दुख्न थाल्यो। थुक निल्न नि निकै गाह्रो। सुरूमा त आमाले यसलाई सामान्य रूपमा लिनुभएको थियो तर जब एक दिन म टोइलेट गएर फर्कदा चक्कर लाएर बेडमा ढले तब सायद आमालाई नि चिन्ता लाग्न थालेछ क्यारे !

त्यो ३/४ दिन मैले राम्ररी खाना नि खाको थिइन। खानाको पारखी म जति मीठो पकवान मेरो अगाडि राख्दा नि रूचि नै नलाग्ने। आमाले जिस्केर “नानी ! तलाई कोरोना त लागेन नि ?” भनेर नि भन्नुभएको थियो। अनि बल्ल बाबाले विगत केही दिनदेखि आफूलाई नि गार्हो भएको र दुई रात राम्ररी नसुतेको कुरा खुलाउनु भयो। बाबा र मलाई उस्तै लक्षण देखिएकाले हामी अलि डरायौं।

भाद्र १८ साँझ ४ बजेतिर हाम्रो घरबाहिर हल्लाखल्ला मच्चियो । के भएछ भनेर बुझ्न बाहिर निस्कदा त रिपोर्ट आएको रहेछ अनि बाबा, दिदी र मलाई कोरोना पोजिटिभ देखिएछ। त्यो क्षण मलाई कुनै प्रतिक्रिया दिन आएन । एकातिर खुशी नि लागिरहेको थियो आमाको रिपोर्ट नेगेटिभ आएकोमा। आमाको प्रतिरोधात्मक क्षमता निकै कम रहेको छ।

तीन जनालाई नै देखिएकाले अनि आमा नि नर्स भएकोले होम आइसोलेसनमा बस्ने सल्लाह भयो। रिपोर्ट आएकै दिन दिदीलाई नि ज्वरो आयो। लक्षण देखिएकाले डाक्टरले ५ दिन औषधि खान दिनुभयो। बिहान साँझ गरि दिनमा १० वटा ट्याब्लेट खानुपर्ने। औषधि देख्नासाथ बान्ता होला जस्तो हुन्थ्यो। भाइरसको प्रकोप र औषधिको असरले नि होला शरीर पुरै कमजोर भइसकेको थियो। केही दिन त ओक्ष्यानमा सुतेरै बित्यो। शारीरिक रोग त आफ्नो ठाउँमा थियो नै अब त आइसोलेसनमा बसेर मानसिक तनाव नि हुन थालिसकेको थियो। घरको चार भित्ताभित्र खुम्चिएर बस्नुपर्दाको पीडा त म सम्झिन नि चाहन्न।

समाचार हेर्यो प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढेको बढ्यै। कोही बितेको खबर सुन्नासाथ आङ जिरिंग हुन्थ्यो। दिनभर घरभित्र बसिरहँदा अनेकौ कुराहरु मनमा खेलिरहने। तर जति सक्दो म आफूलाई व्यस्त राख्थे। पछि आमालाई नि पोजिटिभ देखिएसि परिवार नै सङ्गै बस्यौ। कहिले आफन्तहरूलाई त कहिले साथीहरुलाई मेसेन्जर मा फोन गरेर गफ गर्थे। कहिले कपी झिकेर आफ्नो मनको कुरा पोख्न खोज्थे तर २/३ लाइन पछि कलम रोक्किन्थ्यो।

मेरा प्रिय परिवारजन र साथीहरूले मलाई आफ्नो अनुभवहरु सेयर गर्न हौसला दिनुभएकोले आज मैलै आफ्नो कलमलाई बिचमा रोकिन दिईन। यस कठिन परिस्थितिमा साथ दिनुहुने सम्पुर्णप्रति म आभारी छु। तीसबै साथीभाइ र आफन्तहरु जसले हामीलाई बेलाबखत फोन गरेर यस परिस्थितिसँग जुध्न सहयोग गर्नुभएको थियो उहाँहरुलाई आभार व्यक्त गर्न चाहन्छु। हरेक दिन घर बाहिरको ढोकाबाट चियाएर हालखबर सोधी आत्मबल बढाइदिने हाम्रो छिमेकीहरुलाई म कहिले बिर्सने छैन। आज मैले नि आफ्ना तीतामीठा यादहरू लाई शब्दमा कैद गरेकी छु।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०९:५६