७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बामदेव गौतमलाई मन्त्री नबनाउन माग गर्दै कांग्रेस नेता त्रिपाठी सर्वोच्च अदालतमा


५ असोज, काठमाडौँ । लामो रस्साकस्सीपछि संघीय संसदको सदस्य भएका नेकपा उपाध्यक्ष बामदेव गाैतमको राष्ट्रियसभा सदस्य पद खारेज गर्न र मन्त्री नबनाउन माग गर्दै नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च अदालतमा पुगेका छन । कपिलवस्तुबाट गत प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका कांग्रेस नेता त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै गाैतमलाइ मन्त्री नबनाउन माग गरेका छन ।

वरिष्ठ अधिवक्ता समेत रहेका कांग्रेस नेता दिनेश त्रिपाठी ।

उनले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग पनि गरेका छन । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाई त्रिपाठीले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णय बदर गर्न माग गरिएको छ ।

नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनीत असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ । अदालतले निवदेनमाथि प्रारम्भिक सुनुवाई यही असोज ७ गते गर्ने तय गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार २२:१८