१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पर्यटनमन्त्रीको एयरलाइन्सलाई निर्देशन


५ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । आजदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्डलगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुग्नुभएको हो । पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकनमा सहभागी हुनुभएको थियो ।

पर्यटनमन्त्रीले आन्तरिक टर्मिनलमा यात्रुको सुरक्षाका लागि एयरलाइन्सले अवलम्बन गरेको स्वास्थ्य मापदण्ड, स्वास्थ्य सावधानीको निरीक्षण तथा अवलोकन गर्नुभयो । उहाँले स्वास्थ्य सावधानीका लागि थप सजगता अपनाउन र स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्न एयरलाइन्सलाई निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । टोलीले आन्तरिक टर्मिनलको साथै अन्तर्राष्ट्रिय टर्मिनलको अवलोकन तथा सेवाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिनुभएको थियो ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभार लागू गरिएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण झण्डै ६ महिनापछि आजदेखि आन्तरिक उडान शुरु भएको थियो । सामान्य अवस्थाको २५ प्रतिशत क्षमतामा आन्तरिक उडान सञ्चालनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ । शुरुको सातादिनको अवस्थालाई हेरेर क्रमशः उडान संख्या थपिने प्राधिकरणले जनाएको छ । अहिले आन्तरिकतर्फ दैनिक ५० वटा सम्म उडान सञ्चालन गरिनेछ । आज बुद्ध एयर र यती एयरलाइन्सले मुख्य गन्तब्यमा उडान भरेका छन् । बुद्धले आफ्नो राजविराज बाहेक सबै गन्तब्य र यतीले पोखरा, चितवन र विराटनगरमा उडान भरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १९:१०