४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

रसुवामा गोलभेँडामा देखा परेको टुटा प्रकोप नियन्त्रणका लागि अभियान सुरु


–झरना नेपाली

२२ जेठ, रसुवा । रसुवा जिल्लामा कृषकले लगाएका गोलभेँडामा देखा परेको टुटा नियन्त्रणका लागि अभियान सुरु भएको छ । जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा कृषकले लगाएका गोलभेँडामा पात तथा फल जोतुवा किरा अर्थात टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको हो ।

टुटा नियन्त्रणका लागि विषादी वितरण, जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने र प्रविधि सहयोग लगायतको कार्य गरिएको छ । कार्यालयले दिएको जानकारी अनुसार टुटा प्रभावित क्षेत्रका कृषकलाई अल्कोरा, टुटा ट्रयाप, टुटा ल्युर, ट्रेसर, बिटी, एल्लो स्ट्रकी ट्रयाप वितरण गरेको छ ।

प्रविधि तथा विषाधीको प्रयोग सुरु गरिएसँगै टुटाको प्रकोप क्रमशः कम हुँदै गएको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताए । ‘टुटा नियन्त्रणका लागि समयमा नै अभियान सुरु भएकाले कृषकलाई कम क्षति पुगेको छ, वरिष्ठ कृषि विकास अधिकृत तिवारीले भने, यसमा कृषकले पनि उचित ध्यान पु¥याउन पर्छ ।’

‘टुटाको कारण हामीले क्षति वेहोर्नु परेको थियो, कालिका गाउँपालिका–५ का अगुवा कृषक भवनाथ पौडेलले भने, अहिले अभियान सञ्चालन गरेपछि क्षति कम हुँदै गएको छ ।’ पहिलो चरणमा गोलभेँडा खेतीको अवस्थाको बारेमा कृषक समुह र कृषि सहकारी मार्फत तथ्याङ्क संकलन गरिएको थियो ।

अभियान मूलक समस्या निधान तथा टुटा व्यवस्थापन कार्यक्रम जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको थियो । कार्यक्रममा कालिका तथा नौकुण्ड गाउँपालिकाका १०४ र उत्तरगयामा १०५ कृषक सहभागि भएका वागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

टुटाले गोलभेँडा, भण्टा, खुर्सानी र आलुमा समेत क्षति पु¥याउने कृषि प्राविधिक बताउँछन् । टुटा व्यवस्थापनका लागि आइपीएम पद्धती अपनाउन सुझाव दिइएको वागवानी विकास अधिकृत पाठकले बताए । टुटाको प्रकोपको कारण गोलभेँडामा क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालयले अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १७:११