दैनिकी

  • १ आश्विन २०७७, बिहीबार १६:१५

सडक दुर्घटनामा परि घाईते भएका क्रिकेटर भण्डारीको सफल शल्यक्रिया

१ असाेज, काठमाडाैँ । कञ्चनपुरमा सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको आज शल्यक्रिया भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको सफल शल्यक्रिया भएको बताएको हो ।

कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्र राज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ ।सिप्यानले ललितको अवस्था स्थिर रहेको समेत बताएको छ । ललितलाई आईतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो । दुर्घटनामा परेपछि ललितलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरे पनि थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ । चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका थिए ।