१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग


३१ भदौ, काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले आज राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् । विस्तारै सवै क्षेत्र खुला गर्दै गएकाले अब खेलाडीको प्रशिक्षण पनि सरकारले खुला गर्नुपर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो ।

उहाँले खेल क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले प्रशिक्षणको अनुमति दिनुपर्ने उल्लेख गर्नुभयो । प्रारम्भमा सरकारले प्रशिक्षणको बाटो खोली दिनुपर्ने अध्यक्ष शेर्पाको माग थियो । खेलाडीलाई अभ्यासमा फर्काउन अब ढिला गर्न नहुने उहाँको भनाइ थियो । विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि बिना दर्शक प्रतियोगिताहरु सञ्चालन गर्न सकिनेतर्फ एन्फाले सरकारको ध्यानाकर्षण गराएको छ । सो अवसरमा राखेप सदस्य सचिव सिलवालले खेलाडीका लागि प्रशिक्षणको वातावरण बनाउन आफुले सक्दो पहल गर्ने आश्वासन दिनुभयो ।

एन्फा प्रवक्ता किरण राईले केही देशले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि एन्फालाई प्रस्ताव गरेको जानकारी दिनुभयो । आगामी नोभम्बर र डिसेम्बर महिनामा मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव आएको उहाँले बताउनुभयो । बङ्गलादेश, मङ्गोलियालगायत देशले खेलका लागि प्रस्ताव गरेको छ । उक्त प्रस्तावबारे एन्फाले छलफल अघि बढाएको प्रवक्ता राईको भनाइ छ ।

सरकारले गत चैत महिनादेखि बन्द प्रशिक्षण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो । एन्फाले खेलाडीलाई प्रशिक्षण शुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो । सो क्रममा खेलाडीहरुको पिसिआर परीक्षण समेत गरिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १९:०९