१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न औषधि व्यवस्था विभाग आग्रह


३१ भदाै, काठमाडाैँ । औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो ।

अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर विक्रि वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले अपिल गर्नुभयो । उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र विक्रि वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । विभागमा दर्ता भए/नभएको पत्ता लगाउन फोन गरेर पनि बुझ्न सकिने ढकालले बताउनुभयो ।

कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग बढेको छ । विभागले मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानीटाइजर विक्रि वितरणमा प्रतिवन्ध लगाएको छ । गतहप्ता ५ र हिजो मात्रै थप ४ वटा कम्पनीका सरोकारवालाका नाममा उत्पादन र विक्रि वितरण नगर्न सूचना जारी गरिएको महानिर्देशक ढकालले बताउनुभयो । मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग गरी उत्पादन गरेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उत्पादन नभएको स्यानिटाइजरमाथि प्रतिवन्ध लगाइएको उहाँले बताउनुभयो ।

विभागले प्रतिवन्ध लगाएका नेपालमै उत्पादन हुने र विदेशबाट आयात हुने स्यानीटाइजर पनि छन । विभागले ग्वान्झाउ ओबेपेक्ड फाइन कम्पनी चीन, आर एल इन्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाडौं लगायतका स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १६:४३