७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आन्तरिक उडान र लामो दुरीका सवारी साधन असोज १ गतेबाट नै सञ्चालन हुने


३० भदाै, काठमाडाैँ । सरकारले आन्तरिक उडान र लामो दुरीका सवारी साधन असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ मा जारी भएको लकडाउन पछि बन्द रहका आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो । आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट नै होटल, रेष्टुरेण्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने निर्णय भएको छ । ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ सिटमा १ जना मात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ । संक्रमणको अवस्था हेरी स्थानीय प्रशासनले आवश्यक निर्णय गर्न सक्ने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले असोज १ गतेबाट खुल्ने आन्तरिक उडान, लामो दुरीका सवारी सञ्चालन तथा होटल व्यवसाय सञ्चालनमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउनुपर्ने छ । अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन भने कात्र्तिक ३० सम्म बन्द नै गर्ने निर्णय भएको छ । यद्यपी दार्चुलाको खलंगा पुलघाट र इलामको पशुपति नगर नाका आवश्यकता अनुसार दुबै देशको सहमतिमा खोल्न सकिने निर्णय भएको छ । अन्य १० नाकाबाट भने प्रवेश दिइएको उहाँले बताउनुभयो ।

चीन तर्फको रसुवागढी नाकाबाट पनि समस्यामा परेकाहरुलाई आउन दिने निर्णय सरकारले गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यता अनुसार अन्तर्राष्ट्रिय नियमित र चार्टर्ड उडान पनि थप्न पाउने निर्णय भएको छ । त्यसका लागि ७२ घण्टा पहिले पीसीआर परीक्षण गरेको र रिपोर्ट नेगेटिभ हुनुपर्ने छ । यस्तै हिमाल आरोहण र पदयात्राका लागि नेपाल आउने विदेशी नागरिकहरुलाई कार्तिक ३० गतेबाट (अक्टोबर १७) अनुमति दिने निर्णय पनि सरकारले गरेको छ ।

विकास आयोजनामा आवश्यक पर्ने प्राविधिक जनशक्ति विदेशबाट ल्याउनका लागि पनि अनुमति खुला गरिएको छ । तर पीसीआर परीक्षण गरी रिपोर्ट नगेटिभ हुनुपर्ने आयोजनाले व्यवस्था गरेको क्वरोन्टिनमा बस्नुपर्ने शर्तहरु राखिएको छ । शैक्षिक संस्था, परीक्षा सञ्चालन, सभा सम्मेलन गोष्टि, प्रदर्शन भेला भने अर्को निर्णय नभएसम्म गर्न नपाइने उहाँले बताउनुभयो । सैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार लगायतमा पनि तत्काल नखुल्ने भएका हुन ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १९:२२