१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पूँजीगत लाभकर बढाइएकोमा सर्वत्र विरोध, पाँच अंकले घट्यो सेयर बजार


 

२१ जेठ, काठमाडौं । सरकारले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै शेयर बजारका लगानीकर्ताले विरोध जनाएका छन् ।

उनीहरुले आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई ज्ञापनपत्र बुझाई उक्त व्यवस्था तत्काल हटाउन आग्रह गरे । सरकारले आजैदेखि लागू हुने गरी बोनस तथा हकप्रद शेयरमा पूँजीगत लाभकर लगाउने व्यवस्था गरेको शेयर लगानीकर्ताको भनाइ छ ।

 

प्रमुख कार्यकारी अधिकृत साउदले भने लगानीकर्ताले गराएको ध्यानकर्षणका बारेमा सम्बद्ध निकायलाई जानकारी गराएर समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको थियो । यस्तै शेयर लगानीकर्ताले आजै नेपाल धितोपत्र बोर्डमा समेत ध्यानाकर्षण गराएका छन् । उनीहरुले बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र प्रवक्ता नीरज गिरीलगायत उच्च अधिकारीलाई भेटेर आफूहरुको समस्या समाधानका लागि आग्रह गरेका थिए । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पार्दै पूँजी बजारलाई सखाप पार्न खोजेको आरोप लगाउनुभयो ।

सरकारले आजदेखि बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । यस्तै लगानीकर्ताले आजै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलगायत अधिकारीसँग पनि छलफल गरी पूँजीगत लाभकरले लगानीकर्ता मारमा पर्ने गुनासो गरे। आजको छलफलमा कुनै सहमति नभए पनि मंगलबार पुनः छलफल गर्ने सहमति भएको छ ।

पाँच अंकले घट्यो बजार
आज शेयर बजार ५.११ विन्दुले ओरालो लागेको छ । स्टकका अनुसार शेयर कारोवार मापक सूचक नेप्से एक हजार २६८.८४ विन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ९० हजार ६०३ कित्ता शेयर रु ४३ करोड तीन लाख ८० हजार ९५९ मूल्यमा कारोवार भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २६७.२४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६.०८, व्यापार २.८७, होटल २८.६२, विकास बैंक ५.८, जलविद्युत् २७.१६, फाइनान्स ५.७६, बीमा ६५.७५, उत्पादन १८.३२ र माइक्रोफाइनान्स ३१.१३ विन्दुले घटेको छ । यस्तै अन्य समूह भने २४.१५ विन्दुले उकालो लागेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १९:१९