७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राजनेता केपी ओली र नेकपाको अबको बाटो


-सुरेश भण्डारी

हरेक आन्दोलनको सुरुवात र अवसानका आफ्नै परिचक्र हुन्छन ।  नेपालको कम्युनिष्ट आन्दोलन अहिले सफलताको उच्च बिन्दुमा पुगेर बिस्तारै ओरोलो लाग्ने तरखरमा छ । नेकपाभित्र रहेको गुटहरुबीच भैरहेको पदको लडाँइले यदुवंशी युद्दको झल्को दिँदै छ । बाहिर बाहिर अहिलेको विवाद पद र कुर्सीका लागि होइन भने पनि भित्री रुपमा विभिन्न पदहरु विभाजन गरेर किल्लाबन्दी गरिएको कुरा जति नै डोकोले छोपे पनि लुक्दैन l

फेरी पनि त्यही पुरानो पुस्तालाई विभिन्न पद भाग लगाएर लिन भैरहेको झिना झप्टीलाई बिधीको लेपन लगाउनु भनेको बिरालोलाई रङ दलेर बाघ भनेर प्रचार गर्नु जस्तै हो । भाग लगाएर अनन्तकालसम्म अहिले कै नेतृत्व पुस्तालाई पार्टीको बागडोर दिने खेलमा अहिलेका आफूलाई युवा र क्रान्तिकारी धार भनेर दाबी गर्ने पुस्ता लागेको देख्दा यिनको सोच पनि खासै नयाँ छैन कि भने आशंका जिवित हुँदाहुँदै पनि दोस्रो तेस्रो तहका यिनै युवालाई विश्वास गर्नुको अर्को विकल्प छैन ।

अब नेकपाको युवा तथा क्रान्तिकारी धारले कम्युनिष्ट आन्दोलन जोगाउन हो भने छिटो भन्दा छिटो महाधिवेशनमा गएर सबै कुरा छिनोफानो गर्नुको विकल्प छैन । नेकपाको अबको महाधिवेशन नेतृत्व पुस्तान्तरणको महाधिवेशन हुनुपर्छ । अहिले नेतृत्व तहमा रहेका नेताहरुका अनेक कमजोरीको बाबजुद पनि उहाँहरुले देशका विभन्न कालखण्डमा नेतृत्व दिएर बिभिन्न योगदान दिसक्नु भएको छ । उहाँहरुको पार्टी नेतृत्वबाट सम्मानजनक बहिर्गमन र युवा पुस्ताको जबर्जस्त नेतृत्व अबको नेकपाका लागि अत्यावश्यक बनेको छ ।

नेकपाको अहिलेको बिरासतमा अहिले नेतृत्वमा रहेका नेताहरुको आफ्नै किसिमको योगदान छ । केपी ओलीको राष्ट्रवाद र गर्बिलो अडान साथै विकास निर्माण र देशको सम्बृद्धिप्रतिको भोक र नेतृत्व, माधवकुमार नेपालको समन्वलयमा प्रचण्डको निर्णय क्षमता तथा बामदेब गौतमको हक्की र निडर स्वभावको मिश्रणको साझा स्वरुप अहिलेको नेकपा हो ।

हरेक बस्तुहरुको उच्चतम क्षमता एउटा बिन्दुमा गएर सकिन्छ । त्यहाँ भन्दा अगाडी तन्काउन खोजियो भने त्यो बस्तुको कार्यक्षमता कमजोर हुँदै कामै नलाग्ने स्थितिमसम्म पुग्न सक्छ त्यसै गरी हरेक ब्यक्तिको क्षमतामा पनि एउटा उच्चतम बिन्दुमा पुगिसकेपछि त्यसलाई अरु तान्न खोजियो भने स्थिति भयाबह हुन सक्छ त्यसैले अब नेकपालाई यो भन्दा अगाडी पुर्याउने जिम्मा दोस्रो र तेस्रो तहका नेताहरुलाई दिनु सबै भन्दा उचित कदम हुनेछ ।

कालो बादलमा चाँदीको घेरा भनिए जस्तै अहिले नेकपा भित्र देखिएको विवादबीच पनि नेतृत्व पुस्ता हस्तान्तरणको झिनो आवाज सुनिदै छ अझ सबैभन्दा सकरात्मक पक्ष भनेको नेकपाका सबै नेता बिधि अनुसार पार्टी चल्नुपर्छ भन्ने ठाउँमा आइपुग्नु भएको छ । लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि राजनैतिक दलको लागि महाधिवेशनबाट निर्वािचत नेतृत्वलाई महाधिवेशन मार्फत नै परिवर्तन गर्नु भन्दा ठूलो बिधी अरु कुनै हुन सक्दैन । त्यसैले अब अहिलेको नेतृत्व तहमा रहनुभएको नेताले कार्यकर्ताप्रति विश्वास राख्नु पर्छ ।

कार्यकर्ताहरुले महाधिबेशन मार्फत दिएको जनादेशलाई सिरोपर गर्नुपर्छ । नेकपाका दोस्रो तहका केहि आशा लाग्दा नेता सम्मिलित कार्यदलको सुझाव पनि यस्तै छ । उत्त सुझावलाई अक्षरश पालना गर्दै महाधिवेशनमा गएर पुस्तान्तरणको वातावरण बनाउने जिम्मा पनि त्यसै कार्यदलमा रहेका लागायत अन्य दोस्रो तेस्रो तहको नेताको काँधमा आइपुगेको छ ।

अहिलेको नेताहरुले आफुले सक्ने योगदान गरिसक्नु भएको छ । अबको बाटोको नेतृत्व दोस्रो तहबाट हुनुपर्छ । सुवास नेम्वाङ, गोकर्ण विष्ट, प्रदिप ज्ञवाली, जनार्दन शर्मा, शंकर पोख्रेल लगायत दर्जनौ लोभ लाग्दा काबिल नेताहरु रहेको नेकपा कतिन्जेल कसलाई नेता मान्ने भन्दै उल्झिने !

अबको महाधिवेशन एकताको पुस्तान्तरण महाधिवेशन हुनुपर्छ । पुस्ता हस्तान्तरणको कुरा गर्दै गर्दा नेकपाको इतिहासलाई बिर्सनु हुँदैन । हामीले बिगतलाई राम्रोसँग नियाल्नै पर्छ । नेपालमा कम्युनिष्टहरुको यो किसिमको उपस्थिति हुनुमा कसको के भूमिका रह्यो भनेर एक चोटी घोत्लिनै पर्छ ।

क. पुष्पलाल श्रेष्ठले सुरु गर्नु भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई जननेता क. मदन भण्डारीको नयाँ तथा सफल प्रयोग जनताको बहुदलिय जनवादले सफलताको उचाइमा पुर्यायो जबजको राप र तापले तत्कालीन एमाले २०५१ मा नेपालको सबैभन्दा ठूलो पार्टी बन्दै नौ महिने लोकप्रिय शासन चलाउन सफल रह्यो । तत्कालीन प्रम क. मनमोहन अधिकारीको सुझबुझ पूर्ण सफल नेतृत्व तथा तत्कालीन मन्त्रीहरु क. केपी ओली, माधव नेपाल, स्वार्गीय भरतमोहन अधिकारी लगायतको साथ रहेको नौ महिने शासनमा गरिएको कामको परिणाम स्वरुप २०५४ को स्थानीय चुनावमा एमालेले झन्डै दुतिहाइ स्थान जित्न सफल भयतो ।

नेपालका कम्युनिस्टहरूमा एउटा अनौठोँ रोग छ । जब जब यिनीहरु सफलताको शिखरमा पुग्छन तब त्यहाँ टुटफुटको राजनीति सुरु हुन्छ । चाहे त्यो २०५४ पछिको एमाले होस या २०६४ पछिको तत्कालीन एमाओवादी । अहिले नेकपा भित्र देखिएको विचलनलाई पनि त्यसैको निरन्तरता भन्दा फरक नपर्ला ।

१२ बुँदे मार्फत तत्कालीन माओवादीलाई शान्तिपूर्ण मार्गमा ल्याइ जनआन्दोलन मार्फत गणतन्त्रसम्म पुग्न तत्कालीन एमाले महासचिव माधव कुमार नेपालको समान्यवकारी भूमिका निकै महत्वपुर्ण रह्यो । उहाँको नेतृत्व क्षमता मा प्रश्न चिन्ह हुँदाहुँदै पनि त्यस बखत गरेको त्यो योगदानलाई सबैले स्विकार्नै पर्छ ।

२०६४ पछिको एक समय तत्कालीन एमालेको लागि निकै कठिन थियो । माओवादीको लडाकु दस्ता वाइसिएलको जगजगीमा एमालेलाई नेता कार्यकर्ताको ज्यान जोगाउन नै हम्मेहम्मे परेको थियो । त्यो कठिन समयमा एमालेको अवसान भैसकेको मान्नेहरु धेरै थिए तर त्यस्तो कठिन समयमा पनि कुनै हार नमानी तत्कालीन एमालेका जुझारु नेता कार्यकर्ता दिलोज्यान दिएर लागे र एमालेलाई बचाए । तत्कालीन एमालेका विदेश विभाग प्रमुख तथा प्रभावशाली नेता भनेर चिनिने हालका नेकपा अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै पनि अतिवादबिरुद्द डटेर लाग्ने चरित्र र पार्टीको युवा र विद्यार्थी शक्तको प्रयोग गरेर गरिएको पूर्ण प्रतिवादले एमाले जोगिन र नेता कार्यकर्ता जिउँदै रहन सहयोग पुग्यो ।

संबिधानसभामा तेस्रो दलको रुपमा रहेको नेकपाले त्यसै कार्यकालमा दुइ पटक सरकार को नेतृत्व गर्ने अबसर पायो तर उत्त कार्यकालमा एमालेले खासै सम्झन लायक कुनै काम गर्न सकेन । त्यस समयको एमालेलाई सबैले अडान नभएको पार्टी भनेर चितृत गर्ने गरेका थिए । दोस्रो संबिधानसभापछि एमालेको नबौं महाधिबेशनबाट केपी ओली नेतृत्वमा पुगे । त्यस पश्चात ओलिको नेतृत्वमा एमालेले लिगेको अडानले एमालेले सिङो देशलाई आफ्नो अजेण्डामा हिडाउन सफल रह्यो ।

तत्कालीन एमाले अध्यक्ष राजनीति केपी ओलीले संबिधान जारी गर्दा बखत जातीबादी अतिवाद र भारतीय नाकाबन्दीबिरुद्द लिगेका राष्ट्रबादी अडानको कारण एमाले देशैभरी लोकप्रिय रह्यो । एमाले र तत्कालीन माकेबिचको बाम तालमेल पछी झण्डै दुइतिहाइ सिट जित्दै नेपालमा मात्र नभै बिश्व कै इतिहासमा नयाँ अध्याय थप्दै विश्वलाई नै कम्युनिष्टहरु लोकतान्त्रिक पद्दतिबाट सरकार चलाउन सक्षम छन भन्ने महत्वपूर्ण सन्देश दिन सफल रह्यो ।

पछिल्लो चुनाव पश्चात नेकपा एमालेका अधक्ष्य ओलीको नेतृत्वमा शक्त्तिशाली कम्युनिष्ट सरकार बन्यो । तत् पश्चात नेकपा एमाले र माकेको एकीकरण हुन गइ संसदमा झण्डै दुइ तिहाइ बहुमतसहितको नेकपा निर्माण हुन पुग्यो । उक्त कार्यसम्पादन गर्नमा सबै नेतृत्व तहमा रहेका नेताको सामूहिक भूमिका रह्दा रह्दै पनि प्रम ओली र प्रचण्डको विषेश भूमिका रहेको कुरा सबैलाई थाहा नै छ ।

पार्टी भित्रैबाट भएको असहयोग र बिदेशी शक्तीसहित नेपालमा रहेको एक कुलिन बर्ग र तीनले चलाएका मिडियाका अनेक प्रोपोगाण्डाको बिच पनि ओली सरकार देशहित अनुकुल अनेक काम गर्न सफल रह्यो । अहिले देश, बिकाश निर्माणको नयाँ चरणमा प्रबेश गरेको छ ।  यसको प्रमुख कारण अहिले को स्थायित्व र सुझबुझ पुर्ण नेतृत्व हो भन्ने कुरा त प्रष्टै छ ।

बिगत २ बर्ष देखी नेपालको ब्यापार घाटा घट्दो क्रममा छ । बैदेशिक मुद्राको संचिती बढ्दो क्रममा छ । कोरोना प्रकोप अघीसम्म नेपालको पर्यटन आगमनमा उल्लेख्य बृद्दी भएको थियो । ओली सरकारको आगमन पश्चात भुकम्पपछीको पुनर्निर्माण कार्यले उल्लेख्य सफलता पायो । विश्व बैंक लगायतको प्रतिवेदनमा नेपालले हरेक क्षेत्रमा सकारात्मक प्रगति गरेको उल्लेख गरेको छ ।

केहि कमी कमजोरीको बाबजुद ओली नेतृत्वको सरकारले उल्लेखनिय काम गर्न सफल रह्यो । अहिले देश एकतिरबाट कोरोनाको प्रकोप, बाढी पहिरो लगायत समस्यासँग जुधिरहेको छ । यसै समयमा आफ्नो सार्बभौमसिद्द अधिकार प्रयोग गरी एतिहासिक रुपमा देशको सम्पुर्ण भुभाग सहित जारी गरेको नया नक्साको कारणले गर्दा भारतबादी बिभिन्न शक्तीहरुको प्रहार पनि सहनु परेको छ ।

अब को महाधिबेशन नेकपा एकता को लागी जिबन मरण को महाधिबेशन हुने पक्का छ । अहिले को डेडलक चिरेर नेकपालाई अझ परिपक्क दल बनाउन दोस्रो र तेस्रो तहका युवा नेताको नेतृत्व अहिलेको नेकपाले खोजिरहेको छ l पूर्ण स्थयित्व र बिधी अनुरुप महाधिबेशन मार्फत पार्टी सत्ता को पुस्तान्तरण अहिले को प्रमुख आबस्यकता हो भन्ने कुरा प्रष्टै छ ।त्यसैले सत्ताको फोहोरी खेलमा लाग्नु भन्दा महाधिबेशनलाई एक मात्र लक्ष्य बनाएर सम्पुर्ण नेतागण लाग्नु को बिकल्प छैन ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १९:३६