दैनिकी

  • २४ भाद्र २०७७, बुधबार २०:१९

खोलामा डोजरको रजाइँ चल्दा सिंचाइ योग्य जमिन मरूभूमि बन्दै, नियन्त्रणमा निरीह प्रशासन

-अनुजकुमार श्रेष्ठ

सानोमा मामाघर जाँदा नुवाकोटको विदुरमा बाजेबजैसँगै खेतमा जान्थ्यौ। खेत सामरी खोलाको किनारमा थियो। खेतमै पानी घट्ट पनि थियो । खोला पारी ठूलो बालुवा खानी थियो । मजदुरहरुले बालुवा झिकिरहेको दृश्य खुब चाख दिएर हेर्थ्यौ । बालुवा बोक्न ठूलाठूला ट्रकहरु आउथ्यो । मजदुरहरु ट्रकमा बालुवा लोड गर्थे । हात्तीगौडामा गेट राखेर कर उठाउने काम हुन्थ्यो ।

जिल्ला विकास समितिले हरेक वर्ष बालुवाको खानीहरु ठेक्कामा लगाउथ्यो । ठेकदारले खानीबाट कच्चा बालुवा उत्खनन गरि पखालेर तयार गरि आपूर्ती व्यवस्थापन गर्थ्यो । जिल्लामा विभिन्न ठाउमा बालुवाखानी थियो । माझिटार च्वाडी स्कुलमा पनि ठूलो बालुवाखानी थियो । सिधै खोलाबाट बालुवा झिक्ने क्रम शुरु भएपछि खानीहरु तर्फ व्यवसायी र सरकारी निकायको ध्यान जान छाडेको देखिन्छ ।

डोजर, स्काभेटर सिधै नदीमा चलाएर टिपरमा भर्दा व्यवसायीलाई त फाईदा होला तर पर्यावरणीय दृष्टिले अत्यन्तै घातक हुन जान्छ। माछा लगायत जलचर जीवजन्तुहरुको उत्पादनमा प्रतिकुल प्रभाव पर्ने समस्या एकातिर छ भने पानी धमिलिएर नदीको सौन्दर्यमा असर गर्ने तर्फपनि सोच्नुपर्ने हुन्छ। खेतियोग्य जमिनको तह भन्दा नदीको तह दिन प्रतिदिन गहिरिदै जानुले सिचाइमा प्रतिकुल प्रभाव परेकोछ ।

त्रिशूली बजार नपुग्दै ढुङ्गेको मोडमा धोवी खोलाको किनार-डिलमा ढुङा फोरेर गिट्टी कुट्दै गरेको दृश्य अहिले पनि झल्झली याद आउछ। धोवी खोला र त्रिशूली नदीको किनारबाट ढुङ्गा बोकेर रोडा कुटेर बिक्री गरि जीवन चलाउनेहरु धेरै थिए। तर क्रसर उद्योगको विकास संगै यी मजदुरहरु विस्थापित हुदै अहिले करिव लोप भैसकेक छन्।

पहिले पहिले बालुवा सिमेन्ट भन्दा माटो जडित घर बनाउने चलन थियो। बालुवा रोडाको भन्दा खोलाको ढुङ्गाको माग बढी थियो। घर बनाउदा एक तला ढुङ्गाको गाह्रो लगाएपछि मात्रै ईट्टाको गाह्रो थप्ने चलन थियो। ढलान गर्ने खास चलन थिएन। घर बनाउन आवश्यक ढुङ्गा त्रिशूली नदी किनार, बेत्रावती, भैसे, सिमुटार शुभघाट, देवीघाट प्रोजेक्ट, मान्द्रेढुङ्गा क्षेत्रबाट ल्याउने गरिन्थो।

अहिले पनि घरको जगमा हाल्ने ढुङ्गा त्यतैबाट ल्याईन्छ। काठमाडौं आउदा बेलकोट र पैतिसकिलोमा ठूलो ढुङ्गाखानी देखिन्थ्यो। तर पछिल्लो समय बन्द अवस्थामा रहेकोछ। यस्तो खानीहरु राईसिङ, बुधसिङघाट, थाना भञ्ज्याङमा पनि रहेकोछ। तर अहिले खास प्रयोग भएको देखिदैन।

पछिल्लो समय शहरीकरणसँगै निर्माण सामाग्रीको माग ह्वात्तै बढेकोछ । जसको कारण गिट्टी बालुवाको माग पनि बढ्दो छ । पुरानो खानीहरु बन्द भएको र निर्माण सामाग्रीको माग बढेको कारणले अधिकांश व्यवसायीहरु नदी खोला तर्फ लागेकाछन् । आधुनिक यन्त्रहरुको सहज उपलब्धताले नदी जन्य पदार्थ उत्खनन् गर्न समेत सहज भएको देखिन्छ ।

डोजर, स्काभेटर सिधै नदीमा चलाएर टिपरमा भर्दा व्यवसायीलाई त फाईदा होला तर पर्यावरणीय दृष्टिले अत्यन्तै घातक काम भैरहेको छ । माछा लगायत जलचर जीवजन्तुहरुको उत्पादनमा प्रतिकुल प्रभाव पर्ने समस्या एकातिर छ भने पानी धमिलिएर नदीको सौन्दर्यमा असर गर्ने तर्फपनि सोच्नुपर्ने हुन्छ। खेति योग्य जमिनको तह भन्दा नदीको तह दिन प्रतिदिन गहिरिदै जानुले सिचाइमा प्रतिकुल प्रभाव परेकोछ ।

सरकारले तोकेको मापदण्ड विपरीत क्रसर उद्योगले गाउँ बस्तीको नजिकै मेसिन चलाउँदा ध्वनि प्रदुषण समेत बढ्न गई जनस्वास्थ्यमा प्रतिकुल असर परेकोछ। पछिल्लो समय ह्वाइट गोल्डको रुपमा बालुवाको व्यापार विकास भएको छ । यसकै कारण जनप्रतिनिधि, प्रशासन र प्रहरीलाइ प्रभावित गरेर तस्करहरूले खोला माथि निरन्तर गिद्दे नजर लगाइरहेका छन । यो व्यवसायलाई थप मर्यादित बनाएर विकास निर्माण र पूर्वाधार विकासका लागि अधिक्तम उपयोग गर्नुपर्ने देखिन्छ।

उद्योगलाई मर्यादित बनाउन स्थानीय सरकार, उद्योगी व्यवसायी तथा स्थानीय प्रशासन र स्थानीय जनता समेतको समन्वय हुनु आवश्यक देखिन्छ। उपयुक्त तवरले समन्वय गर्ने र नियमित रुपमा उद्योग संचालन गर्ने बाहनामा हुने अदृश्य साँठगाँठ र लेनदेनले यो व्यवसाय थप अन्यौलग्रस्त हुदैछ ।

सरकारले तोकेको मापदण्ड अनुसार स्थानीय उद्योगहरु संचालन नहुने र मापदण्ड पालना गराउने नाममा हुने चलखेल नै अहिले देखिएको मुख्य समस्या हो। यो व्यवसाय प्रति जनप्रतिनिधिहरुको बढ्दो चासो र व्यवसायीहरुको बढ्दो महत्वकांक्षाले नदीजन्य पदार्थ उत्खनन र विक्रि वितरण समेत प्रभावित हुने गरेकोछ।

कानुनी राज्यमा कानुनको पालना सबै क्षेत्रमा हुनु अनिवार्य छ। कुनै पनि बाहनामा कानुनले निर्धारण गरेको मापदण्ड उलंघन गरेमा दण्डनीय हुनु पर्छ। दण्डहीनताले अराजकता बढ्ने र अराजकताले द्वन्द्व सृजना हुन सक्छ। तसर्थ कानुनी सर्वोच्चतालाई आत्मसाथ गरि अदालतको आदेश र निर्देशनलाई पालना गरौँ।

(नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता श्रेष्ठ सामाजिक अभियन्ता हुनुहुन्छ ।)