१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जलविद्युत कम्पनीमा डरलाग्दो संकट, सेयर लगानीकर्ताको विचल्ली निश्चित


-अर्जुन पाण्डे

आज भन्दा सात, आठ बर्ष अघिको कुरो हो, धरै साथीहरु शेयर बजारमा आकर्षित भैरहेका थिए । त्यहि मेसोमा मैले पनि धेर थोर अनुभव पनि हुने शेयर बजारको बारेमा थोरै ज्ञान पनि हुने आसमा केही कित्ता शेयरमा लगानी गर्ने सोच बनाएँ । शेयर बजारको बारेमा यथेष्ठ ज्ञान त थिएन तर शेयरका पण्डित साथीहरुको कमि थिएन । अब नेपालको विकास गर्छ भने हाइड्रो इलेक्टिसिटीले गर्छ । जल संपदाले धनी र जल विद्युतको अपार संभावना भएको देश नेपाल तर सेता मोती बगेर खेर जाने देश हो । तर समय बदलिएको छ । अब हाइड्रोमा जत्तिको संभावना अरुमा छैन । भुक्तभोगीका यस्तै यस्तै सल्लाहले एउटा हुटहुटी चल्यो र चिलिमे हाइडोको शेयर किनेँ प्रति कित्ता २६०० मा ।

अब एउटा नयाँ काम थपियो, दैनिक जसो नेप्से शेयर बजार हेर्ने क्रम शुरु भयो । पत्रपत्रिकामा शेयर बजारका सामाग्री देखे पनि ध्यान जाँदैनथ्यो यस अघि । तर अब हरेक दिन बजार खुल्नासाथै नेप्से खोलिहाल्ने बानी बस्यो । किन यस्तो भयो ? यसको कारण रहेछः जब कतै आफ्नो लगानी हुँदैन भने त्यहाँ त्यसबारे मानिस धेरै गम्भीर हुँदैन । धेरै चित्त पनि दुख्दैन, धेरै चासो पनि हुन्न, बरु गफ, हाँसो ठट्टाको विषय बन्दोरहेछ । आज धेरै युवाहरु जो आर्थिक विषयहरुमा गफ ठट्टा गरेर समय विताउँछन् , हल्का रुपमा लिन्छन्, उनिहरुमा त्यो गाम्भीरता नदेखिनुको एउटा कारण उनिहरुको लगानी नहुनाले हो भन्ने मान्छु म ।

मेरो आफ्नो सवालमा भने यो नियमको ठीक विपरित नियम लागु भैरहेको थियो । म अत्यन्त गम्भीर भै दैनिक नेप्से बजार हेर्थेँ तनमनका साथ । तर अफसोच, म देख्दै थिएँ मैले किनेको शेयरको मूल्य दिन दिनै घट्दै थियो । हेर्दा हेर्दै दुइ हप्ताको विचमा त्यो प्रति कित्ता रु २००० मा आइपुग्यो । यति बेला सम्म झण्डै सवा लाख घाटा भैसकेको थियो । आफ्नो ज्ञान नभएको विषयमा प्रवेश गर्ने बित्तीकै यत्रो घाटा मेरो निम्ति ठूलै संकट बन्यो । अब के गर्ने ? कल्लाइ सोध्ने ?

नाफा नभए पनि कम्तिमा किनेको रेटमा बेचेर उम्किन पाए त हुन्थ्यो । उहिलेका शेयर पण्डित साथीहरु पनि कता हराए । निर्णय गर्न नसक्दा नसक्दै घटेर फेरी रु १६०० मा झर्यो । अब कुरेर बस्नु हुन्न भन्ने सोच कहाँबाट आयो कुन्नि ? आधा उदो बेचेँ र बाँकी कहिले बढला भनेर कुरेर बसेँ । यसरी कुरेर बसेको अहिले ६ / ७ बर्ष भयो कुरेको कुर्यै छु । बढ्ला र बेचुँला भनि कुरेको त्यो शेयर यतिबेला प्रति कित्ता रु ४०० वा त्यस्तैमा आइपुगेको छ । अब त नेप्से बजार हेर्न र घाटा कति भयो भनेर हिसाव गर्न पनि छाडिसकेँ । बरु यो अवस्था किन आयो होला भनि चिन्तित छु ।

विडम्वनाका जगमा अनुत्तररित प्रश्नहरु

भनिएको छ, नेपाल देश ब्राजील पछिको विश्वको दोश्रो जलविद्युत संभावनाले धनी भएको देश हो । यहाँ ८५ हज्जार मेगावाट जलविद्युत उत्पादनको संभावना छ । एकातर्फ विद्युतको माग दिनानुदिन बढिरहेको छ, विद्युुत महँगो पनि भैरहेछ आर्को तर्फ यत्तिका नदिनालामा हरपल पानी बगेर खेर गैरहेको छ । विद्युतको उत्पादन गरेर देशमा आन्तरिक उपयोग बढाएर, विदेशमा बेचेर देशको मुहार फेर्ने नारा गणतन्त्र पछिका हरेक सरकारले गरेका छन् ।

नेपालको पानी जनताको लगानी नारा नै दिइएर लगानी बोर्ड पनि बनेका छन् तर निजी लगानीकर्ताहरुले जन्माएका र सन्चालन गरेका हाइड्रो कम्पनीका हालत किन खराब भए ? हाइड्रो कम्पनीका शेयर मूल्यहरु किन घटिरहेछन् ? के नेपालको जल विद्युत लगानिको हिसावले अति जोखिम क्षेत्र हो ? के विद्युतमा लगानी धेरै प्रतिफल कम छ ? यदि यस्तो अवस्था छ भने सरकारले नै स्पष्ट गर्नु पर्यो कि यो जोखिम युक्त क्षेत्र हो भनेर । यदि राम्रो प्रतिफल दिने क्षेत्र हो भने जनताले गरेको लगानी किन डुविरहेछ ? यसतर्फ संबन्धित सबै सचेत हुनु जरुरी छ ।

निजी हाइड्रो कम्पनीहरुको अवस्था कस्तो छ ?

देशको मुहार फेर्ने विद्युत उत्पादनको नाममा प्रोजेक्टहरुमा भएका लगानीकर्ताहरुको अवस्था यति भयावह भैसकेको छ कि अब यो डरलाग्दो दुर्घटना तर्फ उन्मुख भैरहेको हो कि भन्ने देखिन्छ । आज नेप्सेमा सूचिकृत झण्डै दुइ दर्जन हाइडो पावर कम्पनीहरुका शेयर मूल्य हेर्ने हो भने यिनको हालको आर्थिक अवस्था कस्तो छ र भोलिको भविष्य कस्तो होला भनि आँकलन गर्न सकिन्छ । सूचिकृत त्यस्ता कम्पनीहरु मध्ये १५ कम्पनीका शेयर मूल्य रु १००। भन्दा कम छन् । अर्थात खरिद मूल्य भन्दा कम ।

अझ आधा दर्जन कम्पनीको शेयर मूल्य त रु ७५। भन्दा पनि कम ( रु ५०।६० सम्म) छन् । यि कम्पनीहरुमा प्राइमरी शेयर खरिद गर्नेहरु त पुर्पुरोमा हात लागइरहेका छन् भने सेकेन्डरी शेयर खरिद गरेर मुनाफा खाउँला भनि आसा गर्ने म जस्ता हज्जारौं लगानीकर्ताको हालत के होला ? अब यि शेयरधनीहरुले आफ्नो साँवा पनि कहिले उठाउने ? नेपाल स्टक एक्सचेन्जमा सूचिकृत धेरै जसो जलविद्यूत आयोजनाहरुले सर्बसाधारण लगानीकर्तालाइ लाभांश बाँड्नु त कता हो कता बैंकको ऋण र व्याज भुक्तानि गर्न सक्ने अवस्था समेत देखिँदैन । यसको अर्थ हालको अवस्थामा सुधार नआउने हो भने, विद्युत कम्पनीका शेयरमा लगानी गर्ने हज्जारौं सर्बसाधारण लागनीकर्ताहरुको अरबौंको रकम सावाँ पनि नउठ्ने स्पष्ट छ ।

एकातिर सर्बसाधारणको लगानीको अवस्था यस्तो छ भने अर्को तर्फ सूचिकृत हाइडो कम्पनीहरु धमाधम लिलामीमा जाँदैछन् जुन बैंकहरुको समेत टाउको दुखाइको विषय बनिरहेछ । यस्ता आयोजनाका प्रवर्धकले सावाँ व्याज तिर्न नसकेर लिलामीमा चढेका आयोजन अहिले बैंकहरुलाइ निल्नु न ओकल्नु जस्तै भएका छन् । बैंकहरुले न अर्को व्यक्ति वा कम्पनीलाइ बिक्र गर्न सकेका छन् न त आयोजनाको पार्टपुर्जा बिक्री गरेर आफ्नो साँवा र व्याज नै उठाउन सकेका छन् । जस्तैः २ मेगावाटको झाडी खोला जलविद्युत, ३ मेगावाटको भैरवकुण्ड आयोजना पनि लिलामिमा गैसकेको छ ।

यी आयोजनाका अवस्था यस्तो छ कि यिनका उपकरण कवाडीलाइ बिक्री गर्दा पनि सावाँको त कुरै छोडौं ब्याज पनि उठ्न नसक्ने निजी उत्पादकका प्रतिनिधि संस्था इपानका अधिकारीहरु नै बताइरहेका छन् । उता बैंकहरु हतारमा निर्णय गरियो भनेर पछुताएका छन् । भन्छन्ः साना जलविद्युत आयोजनामा लगानी गर्नु मुर्खता बाहेक केही हुँदोरहेनछ ।

लिलामीमा चढ्न ठीक्क परेका हाइडो कम्पनीहरु अरु पनि धेरै छन् । यतिबेला सम्म धेरै कम्पनी लिलामीमा चढीसक्थे । धन्न कोरोनाको माहामारी शुरु भयो र कम्पनीहरु लिलामीमा चढ्ने प्रकृया तत्कालको लागि रोकियो । हुनत यस्ता १५ । १६ कम्पनीहरुलाइ रुग्ण भनिएको छ र यिनलाइ धरासायी हुन नदिन सरकारले सहयोग गर्ने भनेको पनि छ तर त्यो व्यवहारमा कहिले आउने टुंगो छैन । मरिसकेपछि औषधि गर्ने हाम्रो सरकारी परंपराले तिनलाइ बचाउला भनेर थोरै आसा गर्ने ठाउँ त छ, विश्वास कसैलाइ छैन ।

समस्या कहाँ छ ?

जल विद्युतको संभावना नेपाललाइ प्रकृतिले दिएको बरदान भएपनि सरकारी निकायको अकर्मण्यता, स्थानीय र केही निजी क्षेत्रका गलत व्यापारिक सोच भएका कम्पनीहरुका कारण सर्बसाधारण जनताका निम्ति भने यो कागलाइ बेल पाके जस्तो भन्दा क्यै हुन सकेन । विगत धेरै बर्ष झोलामा खोला हाल्ने प्रबृत्तिले टाक्सिएको विद्युतको विकास पछिल्लो समयमा हाइड्रोेलाइ जनता झुक्याउने बल्छी बनाउने केही ब्यापारी र सरकारी उदासिनताका कारण संकटग्रस्त छ । पहिलो कुरो हाइड्रोमा हात हाल्न जो पायो उहिले सक्तै सक्दैन । आयोजना सन्चालन गर्ने खोलाको स्थानीय उपभोक्ताको चित्त बुझाउनु, विविध पक्षसंग पौठेजोरी खेल्नु, सरकारी निकायबाट फाइल सदर गराउनु, लाइसेन्स लिनु आदि काम क्वीन्टलको भारी वोकेर हिमाल चढ्नु जस्तै हो भन्छन् भुक्तभोगीहरु ।

साना आयोजनालाइ ठूलो देखाएर सर्बसाधारणको शेयर संकलन गर्ने, कम्पनी संचालन आदिको खर्च ठूलो देखाउने र कम्पनीलाइ घाटामा देखाउने, सर्बसाधारणबाट संकलित रकम अर्को सुरक्षित र निजी आयोजनामा लगानी गर्ने कम्पनी सन्चालकका प्रबृत्तीले आम हाइड्रोका शेयरहोल्डरहरु पिडीत छन् । नेपालको समग्र विद्युत विकासमा मौलाएको मूल ऐजेरु यही हो । यदि यो ऐजेरु मौलाएको मौलायै हुने हो भने कैयन हाइडो कम्पनीका शेयरको मूल्य घट्दै गएर आयोजना सरकालाइ हस्तान्तरण गर्ने बेला सम्ममा शेयरधनीहरु रित्तो हात हुने अवस्थामा पुग्ने देखिन्छ ।

समाधानका उपाय के छन् ?

बजारमा चलेका हल्लाहरु र केही मेडीयामा आएका कुरा जत्तिकै विद्युतको क्षेत्रमा संकट नभएको दावी गर्नुहुन्छ, शिखर हाइडो पावरका प्रवन्ध निर्देशक हेमराज आचार्य । वहाँ भन्नुहुन्छः जल विद्युत क्षेत्रमा पर्याप्त अनुभव नभै कम्पनी खोल्ने र लक्षित आयोजना प्रति इमानदार नहुने प्रबृत्तीले धेरै समस्याहरु श्रृजना भएका छन् । यस्तोमा सरकार र नियामक निकायहरु सचेत बन्नु पर्दछ, केवल मुकदर्शक बन्नु हुँदैन ।

जसरी बैंकलाइ धरासायी बन्नबाट जोगाउन राष्टबैंकले संरक्षण प्रदान गर्दछ त्यसरी नै सर्बसाधारणको लगानी सुरक्षित हुने प्रत्याभूति हुनुपर्दछ । त्यस्तो व्यवस्था नभै पब्लिकमा शेयर निश्काशन गर्नैै दिनु हुन्न । साथै लगनीकर्ताहरुमा पनि पूर्ण ज्ञान र अनुभव हुनुपर्दछ । सरकारले दिने भनेका छुट र सहुलियतहरु हालसम्म नदिइदिँदा पनि कतिपय आयोजना संचालनमा सुस्तता आएका छन् । ति सरकारका तर्र्फबाट अविलम्व उपलव्ध गराइनु पर्दछ ।

जल विद्युतको विकास गरेर देशलाइ समृद्ध बनाउने राज्यको पनि जुन अठोट र सपना छ त्यसलाइ साकार पार्न सबैभन्दा पहिलो त राज्य यस क्षेत्रको विकासमा अत्यन्त जिम्मेवार बन्न पर्दछ । आज राज्यको कर्मचारी तन्त्र र तीनले व्याख्या गरिदिने नीति नियम र प्रकृयाका झन्झटले लगानीकर्तालाइ फनफनी रिंगाइरहेछ, त्यो सहज बनाइदिनु पर्यो । त्यस्तै कर मिनाहा र भ्याटको छुट दिने सवाल पनि नीतिमा मात्र सिमित हुनु भएन, सिघ्र उपलव्ध गराइदिनु पर्छ । साथै जल विद्युतको विकास गर्ने कम्पनीहरुलाइ सहुलियत व्याज दरमा ऋण उपलव्ध गराउने व्यवस्था हुनुपर्दछ । उपरोक्त उपायहरु अपनाउन सके विद्युतको विकास र नागरिकको लगानीको प्रवद्र्धन दुवै एकसाथ गर्न सकिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार १३:३०