१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

१०७ औँ अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन श्रममन्त्री जेनेभा प्रस्थान


१९ जेठ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन ।

अन्तराष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित मन्त्री विष्ट आज बिहान जेनेभा प्रस्थान गरेका हुन् । सम्मेलनमा मन्त्री विष्टले यही जेठ २१ गते सबै देश सहभागी हुने पूर्णसत्रलाई सम्बोधन गर्नुहुनेछ । सम्मेलनका क्रममा आयोजना हुने असंलग्न राष्ट्र र एशिया प्रशान्त समूहका मुलुकका छुट्टाछुट्टै मन्त्रिस्तरीय बैठकलाई जेठ २२ गते सम्बोधन गर्ने छन् ।

सम्मेलनमा नेपालले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा असल श्रम सम्बन्ध स्थापित गरी श्रमिक, हित र कल्याणको प्रत्याभूति गरी श्रमिकको उत्पादकत्व बढाउने विषयमा जोड दिन मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । आन्तरिक रोजगारीको अवसर अभिवृद्धि सम्बद्ध सरोकार भएकाहरुबीच समन्वयात्मक सहकार्य अभिवृद्धि र स्थानान्तरणका लागि विश्वव्यापी सम्झौतासम्बन्धी प्रक्रियालाई उचित निष्कर्षमा पु¥याई दिगो विकास लक्ष्य हासिल गर्ने विषयलाई नेपालले प्राथमिकतासाथ जोड दिनेछ ।

सम्मेलनका क्रममा नेपालका प्रमुख श्रम गन्तव्य मुलुकका मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिका साथै अन्तराष्ट्रिय श्रम संगठनका महानिर्देशक एवं उच्चस्तरीय पदाधिकारीसँग मन्त्री वा सचिवका स्तरमा छुट्टाछुट्टै भेटघाट तथा छलफल हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार ०९:०३