दैनिकी

  • १३ भाद्र २०७७, शनिबार १०:०५

फूर्पाको तामाङ उखानकोश

-देवराज अर्याल

हरेक भाषामा उखानको खास महत्व हुने गर्दछ । चाहे नेपाली भाषा होस चाहे हिन्दी, अङग्रेजी वा चाइनिज भाषामा नै किन नहोस सबै भाषाहरुमा उखानहरुले विशेष स्थान लिएका हुन्छन । विश्वव्यापी रुपमा फैलिएका र प्रयोग गरिने र बोलिने भाषाहरुमा मात्र होइन सानो समुदायले प्रयोग गर्ने मातृभाषाहरुमा पनि आ–आफ्नै प्रकार र शैलीका उखानहरु हुने गर्दछन । सीमित शब्दमा फराकिलो र गहिरो अर्थ बोक्ने यस्ता उखानहरुलाई अङग्रेजीमा प्रोभर्ब (Proverb) को चिनिन्छि । यिनीहरुले आ–आफ्नै प्रकारका मौलिक परिचय, पहिचान र महत्व स्थापित गरेका हुन्छ । तत्सम्बन्धी भाषाहरु बोलिदा र लेखिता यस्ता उखान र टुक्काहरुको समुचित प्रयोग गरिन्छन ।

वास्तवमा उखान भनेको हरेक संस्कृतिको दर्पन हो । निश्चित प्रकारको समाज, जाति, संस्कृति र ऐतिहासिक परिवेशबाट संश्लेषित भइ स्थापित मान्यताको रुपमा भाषामार्फत उखान प्रतिबिम्बित भएको हुन्छ । उखानमा एकातिर इतिहासको निरन्तरता रहेको हुन्छ भने अर्कोतिर सम्बन्धित समाज र संस्कृतिको प्रतिबिम्ब र मूल्य–मान्यता निसृत भएको हुन्छ । वाचनमा लय र संगति मिल्ने उखान–टुक्काहरुमा गहिरो अर्थ र मर्म लुकेको हुन्छ । जसले मनोरञ्नात्मक अभिव्यक्तिको साथसाथमा तथ्यगत सन्देश र हास्यमय अभिव्यञ्जना प्रस्तुत गरेको हुन्छ । त्यसैले हरेक भाषाहरुमा उखानको महत्व र उपदेयता विशिष्ट रुपमा स्थापित भएका हुन्छन । यसै आधारमा आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउन उखान टुक्काको प्रयोग गर्ने गरिन्छ ।

नेपाल बहुजाति, बुहभाषी र बहुसाँस्कृतिक देश हो । वि.सं. २०६८ सालको जनगणाअनुसार नेपालमा अहिले १२६ भन्दा बढी प्रकारका जाति जनजातिहरुको बसोबास रहको छ । सबै प्रकारका जाति जनजातिहरुको आ–आफ्नै प्रकारको मौलिक र मातृभाषा रहेको छ । यद्यपि, अहिलेसम्म नेपालमा १ सय २३ वटा भाषा प्रयोगमा आएको पाइएको छ । त्यही मध्येको एउटा प्रमुख भाषा हो– तामाङ भाषा । तामाङ भाषा नेपालमा बोलिने भाषाहरु मध्ये पाँचौ स्थानमा पर्दछ । नेपालको भर तामाङ भाषा बोल्नेको संख्या ५.१ प्रतिशत रहेको छ । यही तामाङ भाषाभित्रको उखानहरुको संङगालो हो–तामाङ उखानकोश ।

तामाङ उखानकोश– युवा लेखक फूर्पा तामाद्वारा लिखत नवीनतम् कृति हो । वि.सं. २०७५ सालमा प्रकाशित भएको यस कृतिमा तामाङ भाषामा बढता प्रचलनमा रहेका २ सय ३५ वटा उखान टुक्काहरुलाई संकलित गरिएको छ । निकै मेहनत र लामो परिश्रमका साथ संकलन गरिएका उल्लेखित उखान टुक्काहरुले मानव जीवनको सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक र धार्मिक क्षेत्रलाई छोएका छन । जसमा मानव जीवनको सुख–दुःख, सफलता–असफलता, उन्नति–अवनति र उज्यालो–अँध्यारो पक्षको अनुभव र अनुभूतिहरुलाई समेटिएका छन । कृतिमा समेटिएका उल्लेखित उखान टुक्काहरु प्रस्तुतिका हिसावले निकै मार्मिक, हदृयस्पर्शी र बोधगम्य साथसाथै जीवन दर्शनका हिसावले प्रेरणापरक पनि रहेका छन ।

यतिबेला नेपालमा तामाङ भाषा बोल्ने मानिसहरुको संख्यामा ह्रास आइरहेको छ । हुन त तामाङ भाषामात्र होइन अन्य मातृभाषा बोल्नेहरुको संख्यामा पनि कमी आएको छ । खासगरी आधुनिक शिक्षाको प्रभावको कारणले गर्दा आम मानिसहरुमा नै मातृभाषाप्रतिको अपनत्वमा नै स्खलन आएको छ । जसले गर्दा आ–आफ्नो मातृभाषाको खोजी गर्ने, त्यसलाई संरक्षण गर्ने, मातृभाषामा रचना गर्ने र पुराना उखान, टुक्का र शैलीहरुलाई संकलित गर्ने परिपाटीमा कमी आएको छ । यो आफैमा दुखःद पक्ष हो । यद्यपि यस्तो अवस्थामा पनि लेखक फूर्पा तामाङले जुन मेहनतका साथ तामाङ भाषाका उखान टुक्काहरुलाई संकलन गरेर कृतिको रुपमा पुस्तक तयार गर्नु भएको छ– यो काम अत्यन्तै स्रहानीय रहेको छ । यसले तामाङ भाषाको उन्नति र समृद्धिमा एउटा ठोस योगदान पुराएको छ । यतिमा होइन नेपालको समग्र बहुभाषिक साहित्यिक पहिचानमा यो कृति एउटा अनुपम रत्नको रुपमा स्थानकृत हुन पुगेका आभाष हुन्छ ।

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकाको ठूलो भार्खूमा जन्मनु भएका लेखक फुर्पाले लामो समयदेखि तामाङ जातिको संस्कृति, भाषा परम्परा र रहन–सहनबारेमा अध्ययन अनुसन्धान गर्दै आउनु भएको छ । तामाङ समुदायको वास्तविकता र मनोविज्ञानलाई गहिरो रुपमा बुझ्नु भएका फुर्पाले यस अघि पनि ठिम्छोक पङपल ता ईम्बा (संविधानसभा के हो ?) शीर्षकको पुस्तक प्रकाशित गरिसक्नु भएको छ । यसैगरी उहाँको मेरो रसुवा रोइरहेछ शीर्षकको कविता संग्रह र जैविक विविधता संरक्षण र पर्यटन विकासमा धर्मसंस्कृति शीर्षकको पुस्तक पनि प्रकिाशित भएको छ । यसबाहेक पनि उहाँका तामाङ भाषा र नेपाली भाषामा लेखिएका सयौ समसामयिक लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन । लेखन जीवनको यही सेरोफेरोमा लेखक फुर्पाले आफ्नो जातिको मौलिक पहिचानको रुममा रहेको उखान टुक्काहरुलाई समेटेर यो कृति तयार गर्नु भएको हो ।

लेखक फुर्पाले यस कृतिमा तामाङ जातिको भाषामा बढी प्रचलनमा रहेको २ सय ३५ वटा उखान टुक्काहरु संकलन गर्नु भएको छ । यी उखान तथा टुक्काहरुलाईले सरसर्ती संकलन गरेर लिपीबद्ध गर्नु भएको मात्र होइन की ती उखानहरुको अर्थ र मर्मलाई पनि व्याख्या गर्नु भएको छ । र, उल्लेखित उखान टुक्काको व्याख्या तामाङ भाषाको साथसाथै नेपाली भाषामा पनि गर्नु भएको छ । जसले गर्दा यो पुस्तक सबैको लागि पठनीय रुपमा आएको छ । जसले गर्दा तामाङ भाषाको उखानलाई अन्य भाषा भाषीहरुले पनि प्रयोग गर्न सक्ने अवसर प्राप्त भएको छ । जस्तैः उदाहरण रुपमा– ड गाले थ्वेन, फुदल्ले थ्वेन (शत्रु खोज्न टाटा जानु पर्दैन, आफ्नै आँगनमा हुन्छ) । ज्या फोलि जे, म्ही म्होली जे (पन्छी जातिमा भाले सुन्दर हुन्छ, मानव जातिमा महिला सुन्दर हुन्छ) । टकर केदी गेप्पु म्हेन, नोसम तङगी गेप्पु हियन (कपाल सेतो पुल्दैमा बुढो भइन्न बरु सोचले मानिसलाई बुढो तुल्याउँछ) । डुल्की खनेन ज्याख्युङ हियन (सर्पलाई मार्ने गरुड नै हो) । दर्सिङ कर्मो सितङ जिङना खितङ ङयाम (कुकुरसंग झगडा गर्न गए सिंहको हैसियत पनि कुकुरको जस्तै हुन्छ) ।

वास्तवमा उखान टुक्काहरु भनेको जुनसकै भाषाबाट आएको भए पनि त्यसको प्रयोग सबैले सबै भाषामा गर्न सक्दछन । सबैभन्दा पहिले अर्थमा स्पष्टता हुनु पर्दछ । लेखक फूर्पाले तामाङ भाषाको उखानहरु संकलन गरेर सबैको लागि भलो गरिदिनु भएको हो । यस्तो कार्य अन्य भाषाहरुमा पनि हुनु आवश्यक छ । वास्तवमा विभिन्न भाषाहरु समृद्ध भए भने न समग्र नेपाली वाङमय समृद्ध हुन पुग्दछ । जसले लोप हुने अवस्थामा पुगेका भाषा भाषीहरुलाई पनि पुनजीवित हुनका लागि आधार निर्माण गर्दछ । यहाँनेर, पुस्तकको सन्दर्भमा चर्चा गर्दा लेखकको प्रयासलाई मुक्तकण्ठले प्रशंशा गर्नु पर्ने देखिन्छ । तथापि समालोचनात्मक रुपमा हेर्दा यसमा अझै पनि परिमार्जन, सम्पादन र पुनसंयोजन गर्ने सकिने ठाउहरु पनि छन । लेखकले प्रस्तुत संगालोमा उखान टुक्काहरुलाई तामाङ भाषाबाट नेपालीमा रुपान्तरणमार्फत गर्नु भएको छ । त्यसको अलिकति व्याख्या पनि गर्नु भएको छ । यद्यपि, ती उखानहरुको ऐतिहासिक पृष्ठभूमिलाई पनि समेट सकियो भने तामाङ जातिका र्सस्कृतिलाई गहिरो रुपमा अध्ययन गर्न अझ सजिलो हुन जान्छ । यसैगरी उखान टुक्काहरुको संख्यात्मक र भौगोलिक दायरालाई पनि थप विस्तार गर्न सकिने अवस्था रहेको छ । आगामी दिनमा यी पक्षहरुमा पनि दृष्टि पुग्ने छन भन्ने विश्वासका साथ शुभकामना ।