१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

शिक्षामन्त्रीले किन कुरे सहसचिवलाई ?


१८ जेठ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बन्धित सहसचिव समयमा नआएपछि मन्त्रीले उनलाई कुर्न बाध्य भए ।

विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप र विद्यार्थी भर्ना अभियानबारे आयोजित पत्रकार सम्मेलन दिउँसो १ बजे बोलाइएकामा पत्रकारहरु डकुमेन्टेशन हलमा कुरिरहेका थिए । करिव २० मिनेट ढिलो मन्त्री पोखरेल हलमा आउँदा पनि सम्बन्धित निकायका प्रमुख आइसकेका थिएनन् ।

मन्त्रीले माइक समातेर अब शुरु गरौँ भनेपछि दायाँबायाँ हेरे । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई नदेखेपछि तुरुन्त बोलाउन सचिवालयलाई निर्देशन दिए । पाँच मिनेट कुर्दा पनि काप्री नआएपछि मन्त्रीले सचिवालयका कर्मचारीलाई भने, “खै त, काप्रीजी भक्तपुर, सानोठिमीबाटै आउँदै हो कि क्या हो ?” भनेर झपारे ।

कुर्दा पनि नआएपछि तथा शिक्षा पत्रकारहरुले अब शुरु गरौँ भनेपछि मन्त्रीले कार्यक्रम शुरु गरे । केहीबेरमा हस्याङ फस्याङ र नमस्कार गर्दै झुल्किए काप्री । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल भने १२ः ४५ मै मन्त्रालय छिरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १५:४२