६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

काँग्रेस पुनर्जागरणका लागि वरिष्ठ नेता पौडेलको सातबुँदे प्रस्ताव


२७ साउन, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस पुनर्जागरणका लागि सातबुँदे प्रस्ताव अगाडि सार्नुभएको छ । वरिष्ठ नेता पौडेलले सोमबार सातबुँदे प्रस्ताव अगाडि सार्दै पार्टीलाई नवजीवन दिनका लागि ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील काँग्रेसको निर्माण गर्नुपर्ने बताउनुभएको हो । उहाँले सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि, देशभक्ति र फराकिलो राष्ट्रवादी विचारले काँग्रेस बलियो हुने बताउनुभयो ।

उहाँले संसद्, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र काँग्रेस बनाउने आफ्नो दृष्टिकोण रहेको भन्दै न्याय, पारदर्शी मूल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार हुने उल्लेख गर्नुभयो । वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोवास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव र परराष्ट्र सम्बन्धबारे आफ्नो दृष्टिकोण अगाडि सार्नुभएको हो ।

उहाँले उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास र जनमुखी शासन आवश्यक रहेको भन्दै युवा केन्द्रित रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । प्रविधि प्रयोग गरी दक्ष नागरिक निर्माण गर्ने, स्वच्छ पानी, हावा र खुल्ला मैदानसहितको सुरक्षित बस्ती निर्माण गर्ने बताउँदै उहाँले ७० वर्षको सङ्घर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना, समाजमा हरेक समूहबीच सहकार्य तथा नेपालको अखण्डता र स्वाभिमानको रक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १७:३९