६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

लेबनान विस्फोटः १३५ जनाको मृत्यु, चार हजार बढी घाइते


२२ साउन, बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका बताइएको छ । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम  नाइट्रेट’ भण्डारण गरिएको थियो ।

लेबनानका गृहमन्त्री मोहम्मद फाहमीले सो गोदाममा एमोनियम नाइट्रेट राखिएकाले त्यो विस्फोट शक्तिशाली हुन पुगेको र यसले ठूलो क्षति पुर्याएको बताउनुभएको थियो । लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विस्फोटलाई देशको ठूलो विपत्ति हो भन्नुभएको थियो । उहाँले यस विषयको अनुसन्धान शुरु भइसकेको र दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताउनुभएको छ ।

उहाँले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नहरुलाई कडा कारबाही गरिने छ र उनीहरुलाई उम्किन दिइने छैन भन्नुभएको छ ।गोदाममा राखिएको एमोनियम नाइट्रेटको अवस्था बारेमा जाँचबुझ गरी पाँच महिना अघि नै लेबनान सरकारलाई प्रतिबेदन बुझाइएको पनि संचार माध्यमहरुले जनाएका छन् । प्रतिबेदनमा एमोनियम नाइट्रेटको भण्डारमा सुरक्षा सतर्कता अति जरुरी रहेको औंल्याइएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १४:५१