११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कमरेड प्रचण्ड, नेकपाको राजनीति र लुँडो खेल


-सह प्रा.डा. खोमराज खरेल

नेकपा भित्रका सचिवायलका नेताहरुहरुबीच देखिएको अन्तरद्वन्दको आकार बढ्दै स्थायी कमिटिसम्म झ्याङ्गिदै गएको छ र त्यसबाट पनि तन्काउँदै केन्द्रिय कमिटीमा लैजाने प्रपञ्च भइरहेको सन्दर्भमा नेकपाका उपाध्यक्ष क.वामदेव गौतमले सन्तुलनको विकल्पको सिद्धान्त अनुसार नयाँ प्रस्ताप अगाडि बढाउनु भएको छ ।

यो विकल्पले नेकपाको वृहत आकार देख्न चाहने, देशको स्वाधिनता, स्थिर सरकार तथा विकास चाहने समस्त नेपाली जनता, नेकपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुमा आशाको किरण देखा परेको छ । अहिले नेकपामा देखिएको विवाद प्रधानमन्त्री के.पी. ओली केन्द्रित छ । जसरी हुन्छ प्रधानमन्त्री के.पी.ओलीलाई दवाव दिएर बहुमतको नाटक मञ्चनगरी गलहत्याएर राजिनामा गराउने भन्ने नेकपाका सचिवालयका केही नेताहरु लागि परेका छन् । यसले पार्टीभित्रआन्तरिक द्वन्दलाई चर्काएको छ ।

आज देश एकातर्फ भारतीय हस्तक्षेपका कारणले गर्दा राष्ट्रिय स्वाधिनता र वीर पूर्खाको बहादुरीप्रति अपमान भएको छ भने अर्कोतर्फ कोरोना भाइरस तथा बाढी पहिरोका कारणले गर्दा सयौँको संख्यामा नेपाली जनताले ज्यान गुमाई सकेका छन्, हजारौँको संख्यामाकोरोनाभाइरसबाट संकर्मित भएका छन् भने त्यसैगरी बाढी पहिरोको कारणले धेरै नेपालीहरु घाइते तथा घरवार गुमाएर विचल्लीमा परेका छन् ।

यस्तो विषम परिस्थितिबाट देश र जनता र नेकपालाई सहि गन्तव्यमा पुर्याउने गहनतम जिम्मेवारीमा भएका नेताहरुबाट सत्ता परिवर्तनदेखी पार्टी एकताको कोर्ष पुरा नहुँदै विभाजन सम्मका विषय उठान हुनु देश, जनता र नेकपाका लागि दूर्भाग्य हुने परिस्थितिको आँकलन गरी आफ्ना व्यक्तिगत ईच्छा र आकांक्षालाई थाति राख्दै विगतमा विभिन्न पक्षबाट आफू माथि गरिएका अन्याय तथा धोकालाई समेत विर्सदै क. बामदेव गौतमले देश र जनताको वर्तमान र भविष्यलाई मध्यनजर राखी पार्टी एकता र राष्ट्रियताको सवालमा महत्वपूर्ण विकल्प उठान गर्नुभएको छ । उहाँको यस्तो दूरगामी सोच नेकपाका नेताहरु समन्वय र समझदारी अनुसार अगाडि बढ्दा देश, जनता र नेकपाका लागि न्याय हुन्छ भन्ने हो ।

नेपाली जनता सबैलाई थाहा छ, अहिले सरकार एकातर्फ कोरोना महामारी र प्राकृतिक विपत्तिसँग लडिरहेको छ भने अर्कोतर्फ भारतीय हस्तक्षेपविरुद्ध जुधिरहेको छ । यस्तो विषम घडीमा राखिएको नेकपाको स्थायी कमिटीको बैठकबाट सरकार संचालनमा भएका कमी कमजोरीहरुलाई सरकारमा नभएका नेताहरुले औँल्याउने र सरकारमा भएका नेताहरुले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता गर्नुपर्ने परिस्थितिको उल्टो पार्टी भित्रका सानातिना विवादलाई महाभारत बनाउँदै नकारात्मक सन्देश प्रवाह गर्ने गुट तथा उपगुटको उब्जन हुनुको साथै एकले अर्कोलाई सिद्धाउने जस्ता विषयमा बहस केन्द्रित हुनु दूभाग्यपूर्ण कदम हो ।

स्थायी कमिटीको बैठक पार्टी अध्यक्षहरुको आशन ग्रहणमा प्रयोग गरिएको कुर्चीका सम्बन्धमा विवाद निकालेर शुरुआत भएको थियो । नेकपा सचिवालयका नेताहरुको प्रस्तुतिकरणले स्पष्ट गरेको छ कि उहाँहरुमा देश र जनताका बारेमा भन्दा पनि आ–आफ्नै पद र जिम्मेवारी तथा राज्य सञ्चालन गर्ने तहमा आफ्नो भूमिका बढ्नु पर्ने देखिन्छ ।

वर्तमान सरकारले गरेका सकारात्मक कामहरुको सहिमूल्यांकन र कमजोरीलाई रचनात्मक किसिमले सुझाव दिई कमजोरीलाई सच्याई अघि बढ्नेतर्फ भन्दा पनि सरकारलाई खुइल्याउनेतर्फ ध्यान केन्द्रित भएको देखिन्छ । विभिन्न वाहना बनाएर प्रधानमन्त्री के.पी.ओली माथि प्रत्यक्ष रुपमा चौतर्फी घेराबन्दी गरी कमजोर बनाई दुबै पदबाट हटाउने खेल नेकपाका नेताहरु खेलीरहेका छन् । विगतले औँलाए अनुसार घात प्रतिघात नेपाली बामपन्थी नेताहरुको वर्ग चरित्र बनेको छ ।

विगतमा पार्टीका नेताले गरेका अन्तर्घात घाम जस्तै छर्लङ्ग छँदैछ । यदि नेकपा नेताहरु यस्तै किसिमले दोष अर्काको टाउको थुपार्ने र आफू सधैभरी ठिक भन्ने परम्परा दोहोर्याई रहने हो भने आगामी दिनमा नेकपाका नेताहरुले जनताको बीचमा जाने हैसियत समेत गुमाउन सक्ने खतरा देखिन्छ ।

वर्तमान सत्यता, नेकपाको अध्यक्षको सवालमा दुई पार्टीबीच एकीकरण हुँदा नेकपा एमाले तर्फको नेतृत्व अध्यक्ष क. के.पी. ओलीले गर्नुभएको थियो भने माओवादीतर्फको नेतृत्व अध्यक्ष क. प्रचण्डले गर्नुभएको थियो । यो सहमति पार्टीको महाअधिवेशन नभएसम्मका लागि हो । अध्यक्ष क. के. पी. ओली नेकपा एमालेका देश भरिका हजारौँ महाअधिवेशन प्रतिनिधिको मतले प्रतिस्पर्धाबाट निवार्चित भएको अध्यक्ष हो केही माथिल्लो तहका नेताहरुबीच असमझदारी हुँदैमा लुँडो खेलमा हारेजस्तै राजिनामा दिने पनि होईन ।

केपी ओली टिके वा कोठे अध्यक्ष पनि होईन, नेकपा एमालेका लाखौँ कार्यकर्ता तथा नेपाली जनताको अभिमतबाट स्थापित नेता हो । प्रधानमन्त्रीको पदबाट हटाउन विधि र प्रक्रिया हुन्छन् । एक व्यक्ति एक पदको मान्यता अनुरुप २०७६ साल, मंसिर ४ गते दुई अध्यक्षबीच भएको सहमति अनुसार क. प्रचडले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने र क. के. पी. ओलीले ५ बर्षका लागि सरकार प्रमुखको जिम्मेवार वहन गर्ने तथ्यलाई लत्याउँदै फेरी पुरानै अवस्थामा फर्किएकोले नेकपाको अवस्था गम्भीर मोडमा पुगेको छ । क. बामदेव गौतमले अघि सार्नु भएको विकल्पको सार वर्तमान प्रधानमन्त्री के.पी. ओलीको नेतृत्वको सरकारलाई निरन्तरता दिनुरहेको छ ।

अहिले विभिन्न कोणहरुबाट उठेका गुनासाहरुमा प्रधानमन्त्रीले पार्टीलाई बेवास्ता गरी आफूखुशी किसिमले सरकार चलाएको तथा पार्टीका नेताहरुसँग समन्वय नगरेको भन्ने सवालमा आगामी दिनमा पार्टी र सरकारका बीचमा समन्वय गर्नका लागि उच्च स्तरीय पार्टी–सरकार समन्वय समिति बनाउने जसमा नेकपाको सरकार र पार्टीबीचको अन्तरद्वन्द तथा पार्टी नेतृत्वको जिम्मेवारी सम्बन्धको विवादलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्न र सबैको आत्मसम्मान बढ्ने पद्धतिको विकास गर्नका लागि वस्तुगत आधारमा विश्लेषण गर्न सक्ने, सम्यंता भएका जिम्मेवार नेताहरु भएको अधिकार सम्पन्न समन्वय समिति बनाइनु आवश्यक देखिन्छ । उक्त समितिले आगामी दिनमा पार्टी र सरकारकाबीच समस्या देखिन थाल्यो भने तुरुन्तै समन्वय गरी समाधानका उपायहरु निकाल्ने छ ।

वास्तवमा, समस्या समाधानको उच्चतम विकल्प भनेको क. बामदेव गौतमले अगाडि सार्नु भएका विकल्पहरू अनुसार पार्टीलाई अगाडि बढाउँदा कसैको जित वा हार हुँदैन । अध्यक्ष क. ओली पूर्व नेकपा एमालेको वैधानिक अध्यक्ष भएको र पार्टी एकिकरणका बेला महाअधिवेशन सम्मका लागि स्वतः अध्यक्ष हुने प्रावधान छ । क. गौतमले नेकपा र नेकपाको सरकारप्रति नेपाली जनताले गरेको आशा र भरोसालाई जोगाइ राख्न नेकपाका नेताहरु जिम्मेवार र धैर्यवान बनी आफ्ना व्यक्तिगत स्वार्थलाई बिर्सेर एकता र राष्ट्रिय स्वार्थ पूरा गर्नुपर्ने विषयलाई उठान गर्नुभएको छ जुन देश, जनता र पार्टीका लागि धेरै महत्वपूर्ण छ । एकीकृत नेकपाबाटै देश र जनताको भविष्य सुनिश्चत छ भन्ने कुरालाई सार्थक बनाउनु आजको आवश्यकता हो । त्यसैले कुनै पनि मूल्य मान्यतामा पार्टी एकतालाई बलिलो बनाई आगामी दिनहरुमा एकले अर्कालाई सम्मान र सहकार्य गर्ने वातावरण तयार गर्न उचित हुने देखिन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार ११:५४