११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

तनहुँका ३ फरार प्रतिवादी पक्राउ


–कृष्ण न्यौपाने

१९ साउन, दमौली । विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो । म्याग्दे गाउँपालिका–३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई निजहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

जिल्ला अदालतको विसं २०७२ भदौ २३ गतेको फैसलाले निजहरुविरुद्ध जनही एक वर्ष कैद र रु ३०० जरिवानाको फैसला गरेको थियो । निजहरुले गरेको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महिना कैद र रु ३०० जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुई जनालाई अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ । यसैगरी शुक्लागण्डकी नगरपालिका–७ बस्ने नवीनलाल श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएको छ । उनीविरुद्ध जिल्ला अदालतको विसं २०६८ वैशाख २१ गतेको फैसलाले एक महिना कैद र रु एक हजार जरिवानाको फैसला गरेको थियो ।

फाइल फाेटाे

उनलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ । गतअसार तेस्रो सातादेखि मात्रै जिल्लामा २३ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् । सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बजेट सार्वजनिक

भीमाद नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ । सातौँ नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेट नगरपालिकाले आइतबार सार्वजनिक गरेको हो । नगरप्रमुख मेखबहादुर थापाले रु ५६ करोड ५३ लाख सात हजार ७२० को बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये आर्थिक विकास क्षेत्रतर्फ कृषिमा रु एक करोड २४ लाख, पशुपंक्षीमा रु ९२ लाख ६० हजार, जलस्रोत तथा सिँचाइमा रु ८७ लाख, वनमा रु एक लाख, पर्यटनमा रु ६० लाख र उद्योगमा रु छ लाख बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकासतर्फ यातायात पूर्वाधारमा रु नौ करोड २० लाख, भवन आवास तथा शहरी विकासमा रु तीन करोड ९६ लाख, उर्जामा रु पाँच लाख बजेट विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रतर्फ शिक्षामा रु एक करोड २० लाख ९९ हजार ७२०, खानेपानी तथा सरसफाइतर्फ रु एक करोड पाँच लाख, स्वास्थ्यमा रु एक करोड पाँच लाख १७ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारको सशर्त, विशेष र समपूरक बजेटमध्ये कृषि क्षेत्रतर्फ रु एक करोड ५३ लाख, पशुपंक्षीतर्फ रु एक करोड आठ लाख, जलस्रोत तथा सिँचाइतर्फ रु ९० लाख, पर्यटनतर्फ रु ७० लाख, यातायात पूर्वाधारतर्फ रु १० करोड २० लाख, भवन तथा आवास शहरी विकासतर्फ रु तीन करोड ९६ लाख रहेको छ ।

नगरपालिकाले कृषिमा रोजगारी र व्यावसायिकता, आर्थिक समृद्धिको लागि अपरिहार्यता भन्ने मूल नारालाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई गतिशील बनाउँदै आर्थिक क्रियाकलापलाई समृद्धितर्फ केन्द्रित गरेर लैजानुपर्ने चुनौती नगरपालिका समक्ष रहेको उहाँले बताउनुभयो । नगरपालिकाले आर्थिक क्रियाकलाप, कृषि उत्पादन, रोजगारी सिर्जना, उत्पादनशील क्षेत्रमा परेको असरका आधारमा पुनरुत्थानका विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

कोरोना कोषमा रु ९९ लाख सङकलन

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा रु ९९ लाख जम्मा भएर रु ४३ लाख मात्र खर्च भएको छ । उक्त कोषमा नगरपालिकाले रु ५० लाख जम्मा गरेको थियो भने गण्डकी प्रदेश सरकारबाट रु १० लाख, स्थानीय पूर्वाधार विकासको खर्च हुन नसकेको रकम रु १२ लाख, घिरिङ गाउँपालिकाबाट रु पाँच लाख, सामुदायिक विद्यालयका शिक्षकबाट रु १० लाख सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्रोतको सुनिश्चित नगरी नीति, कार्यक्रम तथा बजेट ल्याइए कार्यान्वयनमा समस्या आउने बताउनुभयो । मन्त्री गुरुङले स्रोतको पूर्वतयारी गरेर मात्रै कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम सञ्चालनका लागि कति बजेट चाहिन्छ र त्यसको स्रोत कहाँबाट आउँछ त्यसको निक्र्यौल गर्न आवश्यक रहेको उहाँको भनाई थियो । “हचुवाका भरमा नीति तथा कार्यक्रम बनाइयो भने त्यसलाई कार्यान्वयन गर्न सकिँदैन, स्रोतको पहिचान पहिल्यै गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १३:४८