८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ओली–प्रचण्डबीचकाे तीन घण्टा लामाे भेटवार्ता सकियो


१८ साउन, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ६ पौने १इ बजेबाट सुरु भएको बार्ता केहीबेर अघि सकिएको हो ।

नेकपाभित्रको आन्तरिक संघर्ष चरम बिन्दुमा पुगेपछि दुवै अध्यक्षबीच संवाद हुनसकेको थिएन । आजको छलफलमा प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अध्यक्ष प्रचण्डले बरिष्ठ नेता झलनाथ खनाललाई साक्षीको रुपमा राखेका थिए ।

स्रोतका अनुसार आजको छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीले महाधिवेशनको मिति तोकिसकेको कारण महाधिवेशनतिरै केन्द्रित भएर समस्याको निकास दिनुपर्ने बताएका छन् । गत माघमा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले आगामी चैतमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

नेकपाभित्र बिवाद बढदै जाँदा अध्यक्ष ओली र प्रचण्डबीच आगामी मंसिरमै एकता महाधिवेशन गर्ने सहमति पनि भएको थियो । सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा अर्लि महाधिवेशन गर्ने प्रस्तावमा सचिवालयले सर्वसम्मत निर्णय गरेपनि त्यसबाट अध्यक्ष प्रचण्ड पछि हटेपछि दुई अध्यक्ष आमने सामने देखिएका हुन् ।

आजको छलफलमा केन्द्रीय कमिटीले मिति तोकिसकेको र सचिवालयमा समेत सर्वसम्मत महाधिवेशनमा जाने निर्णय भएकोले सोही आधारमा दुवै अध्यक्षको तर्फबाट सचिवालय बैठकमा प्रस्ताव लैजाने र सचिवालयबाट निर्णय गराई स्थायी कमिटीमा अनुमोदन गर्नुपर्ने धारणा अध्यक्ष ओलीले राखेका छन् । अर्का अध्यक्ष प्रचण्डले पनि महाधिवेशनबाट आफू भाग्न नखोजेको भन्दै थप छलफल गरी ठोश धारणा बनाउनु पर्ने जानकारी दिएकाे स्रोतले बतायो ।

सोमबार पुनः छलफलमा बस्ने गरी बैठक सकिएकाे छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १५:०२