७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता कायम गर्छः मुख्यमन्त्री गुरुङ


१७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने बताउनुभएको छ । मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताउनुभएको छ ।

इद उल अज्हा पर्व इस्लामिक क्यालेण्डरको १२ औँ तथा अन्तिम महिना जुलहिज्जाहको १० औँ दिनमा मनाइन्छ । मुस्लिम समुदायले यस दिन इदगाह (खुल्ला चौर)मा सामूहिक नवाज पढेर एकअर्कालाई अंकमाल गर्दै खुशी साटासाट गरेर पर्व मनाउने गर्छन् । यस पर्वलाई बकर इद वा कुर्वानीसमेत भनिन्छ ।

यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको कुरा मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले कोभिड–१९ बाट जोगिन सतर्कता अपाउनसमेत आग्रह गर्नुभएको छ । साथै, बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भइरहेको स्मरण गर्दै प्राकृतिक विपत्तिको अवस्थामा उद्धार, राहत र उपचारमा सक्रिय भएर जुट्न र धैर्य हुनसमेत सबैमा अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ११:३८