११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नवीन सोच र सिर्जनशीलताका साथ राष्ट्र निर्माण जुट्न मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीको अपिल


१५ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले एघारौं गणतन्त्र दिवसका अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना  व्यक्त गरेका छन । शुभकामना सन्देश मार्फत उनले विपन्‍न, निमुखा र अवसरको पहुँचबाट वञ्चित जनतालाई अनुभूत हुने गरी जनचाहनाबमोजिमका अपेक्षा र वास्तविकता सम्बोधन गर्न सके मात्र गणतन्त्रको प्रतिफल जनतामा पुगेको महशुस हुने बतएका छन ।

पढ्नुहोस् रेग्मीकाे शुभकामना सन्देश

नेपाली जनताले लामो अवधिसम्म गरेका संघर्ष र आन्दोलनमार्फत् अभिव्यक्त चाहनाबमोजिम स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एघारौं गणतन्त्र दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाई व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु।

लोकतन्त्रको मूलमन्त्र नागरिक सर्वोच्चता हो। संघीयता, लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्ने गरी संविधानसभाबाट हामीले संविधान जारी गरी लागू गरिसकेका छौं । केही समय अघि मात्र स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्‍न भई सबै तहले संविधानबमोजिम आ(आफ्नो कार्यभार सम्हाली सकेका छन्। संरचनागत रुपमा हाम्रो यात्रा अघि बढेको वर्तमान एक्‍काइसौं शताब्दीमा नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन र सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास राज्यको प्रमुख लक्ष्य र गन्तव्य बनेको छ। तर, समृद्धिको सपना चाहँदैमा स्वतस् यथार्थमा रुपान्तरित हुन नसक्ने रहेछ भन्ने विगतको अनुभव छ। यस अर्थमा हामीसँग अवसर र चुनौती दुवै छन्। आज एघारौं गणतन्त्र दिवससम्म आइपुग्दा विभिन्‍न आरोह अवरोह पार गर्दै स्थायित्व र समृद्धिको लक्ष्य उन्मुख हुने वातावरण निर्माणमा हामी समर्थ हुन पुगेका छौं। शासन प्रणालीको कुशल व्यवस्थापन र सञ्‍चालन, जनताको राष्ट्रप्रतिको प्रेम र समर्पण एवम् सिंगो राष्ट्रको कटिवद्धता र प्रतिवद्धता भएमा समृद्ध राष्ट्रको परिकल्पना साकार पार्न पनि सफल हुनेछौं भन्नेमा विश्वस्त हुन सकिन्छ।

विपन्‍न, निमुखा र अवसरको पहुँचबाट वञ्चित जनतालाई अनुभूत हुने गरी जनचाहनाबमोजिमका अपेक्षा र वास्तविकता सम्बोधन गर्न सके मात्र गणतन्त्रको प्रतिफल जनतामा पुगेको महशुस हुनेछ। अनि मात्र जनता राज्यप्रति आश्‍वस्त भई भरोसा राख्‍नेछन्, किनकि, जनताका अपेक्षा र चाहना पूरा भएनन् भने नैराश्यता हावी हुन्छ र अन्ततस् अस्थिरता उत्पन्न गराउने भय रहन्छ। त्यसैले, नवीन सोच र सिर्जनशीलताका साथ शान्त, समृद्ध र सुदृढ राष्ट्र निर्माण गर्ने कार्यमा अभिमुख भई सक्रियताका साथ लाग्न गणतन्त्र दिवसले सम्वद्ध सबैलाई प्रेरणा प्रदान गरोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु।

२०७५ साल जेठ १५ गते, मंगलबार, काठमाडौँ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार ०९:४२