१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

पर्यटन व्यवसायी महिलालाई स्वास्थ्य प्रोटोकलसम्बन्धी प्रशिक्षण


 १५ साउन, पोखरा । साउन १५ देखि सञ्चालनमा आएका पर्यटन क्षेत्रका व्यवसायी महिलाले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका बारेमा तालिम लिएका छन् ।  नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा र पर्यटन व्यवसायी मञ्चको आयोजनामा आफ्ना सदस्यलाई स्वास्थ्य सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण दिइएको मञ्चका अध्यक्ष जमुना पराजुलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयको बन्दाबन्दीले पछि सञ्चालन हुन लागेको पर्यटन व्यवसायलाई कसरी स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्ने सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिएका हाैँ ।” कोरोना जोखिम बढिरहेकै अवस्थामा सञ्चालन हुन गइरहेका होटल, रेस्टुराँ, ट्रेकिङलगायत अन्य व्यवसाय सञ्चालन गर्दा विश्वस्वास्थ्य सङ्गठनले जारी गरेको ‘हेल्थ प्रोटोकल’लाई अपनाएर कसरी व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा इन्टरनेशनल मेडिकेयर एण्ड असिस्टेन्स सेन्टरका डाइरेक्टर डा मुकेश मल्लिकले प्रशिक्षण दिनुभएको थियो ।

उहाँले कोरोना असावधानीका कारण फैलने भन्दै व्यवसाय सञ्चालन गर्दा प्रारम्भिक तहदेखि नै सेवा प्रवाहको अन्तिम अवस्थासम्म ध्यान दिनुपर्ने र सेवा प्रवाह गर्दा आवश्यक स्वास्थ्य सामग्री, त्यसको प्रयोग, सामाजिक दूरीका बारेमा केन्द्रित रहेर प्रस्तूति राख्नुभएको थियो । डा मल्लिकले घरमै स्यानिटाइजर बनाउन सकिने विधिका बारेमा समेत सिकाउनुभएको थियो ।

कार्यक्रममा मञ्चका सल्लाहकार देवका पहारीले विषम् परिस्थितिमा सञ्चालन हुन थालेको पर्यटन व्यवसायलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य प्रोटोकलको प्रशिक्षण निकै प्रभावकारी भएको भन्दै यसको पालनमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले व्यवसायमा सानोसानो लापर्वाहीले ठूलो क्षती व्यहोर्नुपर्ने अवस्था आउने हुँदा स्वास्थ्य सतर्कता पूर्वतयारीका साथ व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पर्यटन व्यवसायमा संलग्न विभिन्न क्षेत्रका ५० व्यवसायी महिला सामाजिक दूरी कायम गरेर कार्यक्रम सहभागी भएको सचिव उमा भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार २२:२०