१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अन्तर्राष्ट्रिय हिमाली पर्यटन मेलामा नेपाल ‘थिमकन्ट्री’


१३ साउन, काठमाडौँ । चीनको सिचुवान प्रान्तको कान्च प्रिफेक्चरमा बुधबारदेखि हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई ‘थिमकन्ट्री’का रूपमा प्रस्तुत गरिने भएको छ । मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा ३० कक्षमा नेपाली सामग्री राखिने छ । मेलामा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र पर्यटकीय नगरी पोखराको प्रवद्र्धन गरिने छ । नेपालको प्रतिनिधित्व एवं संयोजन गर्ने जिम्मा पाएको साइनो नेपाल मिडिया सोसाइटीका अनुसार तीन दिवसीय मेलाकै अवसर पारेर नेपाल–चीन साना तथा मझौला उद्योग प्रवद्र्धनसम्बन्धी कार्यशाला आयोजना हुनेछ ।

मेलामा थिमकन्ट्रीका रूपमा नेपाललाई प्रस्तुत गरिए पनि नेपाल सरकारलाई कुनै आर्थिक भार पर्ने छैन । कार्यक्रमको सबै खर्च चीन सरकारले नै व्यहोर्ने सोसाइटीले जनाएको छ । पोखरासँग भगिनी सम्बन्ध स्थापित भएको सिचुवान तिब्बत, छिङ्गहाई, कान्सु र युनानप्रान्तको सङ्गमस्थल मानिन्छ । हिमाली कला र संस्कृतिमा भरिपूर्ण भएकाले त्यहाँ आयोजना गरिने मेलामा नेपाललाई थिमकन्ट्रीका रूपमा प्रस्तुत गर्न सफल भएको सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताउनुभयो । कान्चमा चीन सरकारले हिमाली कला, संस्कृति र पर्यटनसम्बन्धी चीन र दक्षिण एशियाको प्रदर्शनी केन्द्र निर्माण गर्ने योजना बनाएको छ ।

प्रदर्शनी केन्द्रमा पनि नेपाललाई पहिलो प्राथमिकता दिन कान्च सरकारले वचन दिइसकेको र यससम्बन्धी समझदारीपत्रमा स्थानीय सरकार र सोसाइटीबीच हस्ताक्षरसमेत गर्ने कार्यक्रम रहेको छ । मेलाबाट कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अप्ठेरो परेको नेपालको पर्यटन तथा हस्तकला उद्योगको प्रवद्र्धन गर्न योगदान पुग्ने विश्वास गरिएको छ । कान्च प्रिफेक्चरमा करिब ८० प्रतिशत तिब्बती बौद्ध धर्मावलम्बी छन् । उनीहरुका लागि लुम्बिनी प्रमुख र आकर्षक गन्तव्य स्थल हो । उनीहरुका घर, मन्दिर र गुम्बामा नेपालका हस्तकलाका सामान प्रयोग हुँदै आएका छन् ।

बौद्ध पूजा तथा प्रार्थनाका लागि चीनको तिब्बत, सिचुवान, कान्च, छिङ्गहाईलगायतका प्रान्तका बौद्धमार्गीमा नेपालका मूर्ति, थाङ्का, धुप, कचौरालगायत हस्तकलाका सामग्रीको ठूलो माग छ । यस्ता धार्मिक महत्व बोकेका नेपाली हस्तकलाका सामानहरुको व्यापार चिनियाँहरुले गर्दै आएका छन् । सिचुवान नेपालसँग सबैभन्दा बढी हवाई सम्पर्क भएको चीनको प्रान्त हो । सिचुवानको प्रान्तीय राजधानी छन्तुबाट एअर चाइना, तिब्ब्त एअर र सिचुवान एअरले नियमित उडान गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १७:४५