१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा नेपाल-भारत खुला सीमाको नियमन गरौँ


-अर्जुन पाण्डे

हाल एउटा खबर देखिने गरेको छ नेपाली मिडियामाः भारतीय भन्छन् चाँडो सिमा खोलुँ । नेपाली भन्छन्ः सीमा नाका अझ कडा शिल गरौँ । खबरको आशय यो बुझ्न गाह्रो छैनः कि बिगतमा नेपाल भारत सीमा क्षेत्रका भारतीय बजारहरु नेपाली ग्राहकहरुका कारण खुब चलेका थिए । नेपालीहरु दिनहुँ ती बजारहरुमा करोडौँ रुपैयाँ बुझाएर वारी फर्कन्थे । सीमा पारी सस्तो हुन्छ भन्ने नाममा अनेक झन्झट खपेर नेपाली पारी जान्थे । खासमा यो एक भ्रम थियो ।

सामानको गुणस्तर र परिमाणमा उनीहरु ठगिएकै हुन्थे । हाल कोरोनाको कारण सीमा शिल गरिएको छ । नेपालीहरु आफ्नै स्थानीय बजारमा निर्बाध किनमेल गरिरहेछन् । मूल्य पनि मनासिव छ र सामानको गुणस्तर पनि राम्रै छ । वास्तवमा नेपाली व्यापारी र व्यावसायीहरुले अहिले आफ्नै स्थानीय ग्राहकहरुको सेवा गर्ने अवसर पाएका छन् । नेपाली व्यावसायीलाइ टिकाउने उपाय पनि हो यो । साथै आफ्नो देशको पैसा आफ्नै देशमा टिकाउने व्यवस्था पनि हो ।

उता पारिकाहरू भने नेपालीका व्यापार टुलुटुलु हेरेर, थुक निल्दै बस्न बाध्य छन् । पारी कैयन् यस्ता पसलहरु खोल्नु न बन्द गर्नुंको अवस्थामा पुगेका छन् । नेपालका निम्ति कोरोनाको कहरले ल्याएको यो एउटा सकारात्मक परिवर्तन हो । सीमावर्ती भारतीय उद्योग बाणिज्यका मान्छेहरुले शिल गरिएका नाका खोल्न र नेपालीहरुलाइ सीमामा नछेक्न पटक पटक दबाब दिँदै आएका छन ।

अर्कोतिर बिहार र उत्तर प्रदेशका गाउँमा सयौँ मानिसहरू बेरोजगार भएका खबर आइरहेका छन् । भारतमा लक डाउन छैन । उनीहरू नेपाल आएर निर्बाध पूर्ववत रोजगारी गर्न चाहन्छन् । यस विषयमा पनि उनीहरू दबाब दिइ नै रहेका छन् । उता हरेक दिन जसो सीमामा नेपाली सुरक्षाकर्मी माथि भारतीहरुले कुनै न कुनै निहुँमा आक्रमण गरेर हैरान पारेका छन् । यस्तो अवस्थामा नेपाल भारत सीमा नाकाको व्यवस्थापन भारतको निम्ति भन्दा नेपाल निम्ति चुनौतिपूर्ण बन्दै गएको छ ।

कोरोनाको महामारी कम भएसँगै नेपाल भारत सीमा खोल्ने जुन कुरा छ त्यो अब पुरानै तरिकाले खुल्नु, चल्नु हुन्न । अब पूरानै तरिकाले सबै नाका निर्बाध खुल्नु हुन्न । कम्तिमा नेपालको तर्फबाट यसको पहल हुनु पर्दछ । अडान कायम राख्नु सक्नु पर्दछ । जुनसुकै अफ्ठेरो परिस्थितिलाइ आफ्नो अवसरका रुपमा बदल्न र आफ्नो भलाइका निम्ति उपयोग गर्न सक्नु बुद्धिमानी हुन्छ ।

यो कोरोना महामारीको त्रास कम्तिमा पनि अझै एक बर्ष रहनेसक्ने अनुमान विज्ञहरूले गरेका छन । भारतकै कारण नेपालमा कोरोना महामारीले व्यापक रूप लिन सक्ने आम आँकलन रहेको छ । यो अवस्थामा सीमा लामो शिल गर्ने र सीमाको विषयमा स्थायी समाधान खोज्ने कामका निम्ति कुटनीतिक पहल हुनुपर्दछ ।

यदि यस्तो गर्न भारतीय पक्ष राजी नभए यो विषयलाइ पेंडिङमा रहन दिनुपर्छ । सीमा सील अक्षुण कायम राख्नु पर्छ । नेपालको आग्रह भारत मान्दैन भने नेपालले एकतर्फी रुपमा भने पनि सीमा रेगुलेशन गर्नुपर्छ, परिचय पत्र वा अन्य यस्तै प्रावधान लगाएर । आज जस्तो भएभरका सबै नाका खोल्नु हुन्न । यसमा संघीय, प्रदेश र स्थानीय तीनै सरकारले भूमिका निर्वाह गर्नुपर्छ ।

आज सम्मको घटनाक्रमले के स्पष्ट पारेको छ भने नेपालको समृद्धि र विकास हुन नदिने, पछाडी धकेल्ने कडीहरु मध्ये एक प्रमूख कडी नेपाल भारत खुला सीमा हो । विज्ञहरु भन्छन् नेपाल भारत सम्बन्धको नाममा जुन सजिएको घडा छ त्यसमा प्वाल मात्र परेको होइन, यसमा पिँध नै छैन । यो पिँध नभएको घडा हो जसमा एक थोपा पनि पानी अडिँदैन । अब यसमा पानी हाल्नुको कुनै अर्थ छैन । साथै अब यसैलाइ सिँगारीरहनु पनि हुन्न । बदल्नु पर्छ । अब त्यसको ठाउँमा पिँध भएको घडा राख्नु पर्दछ जसमा पानी पनि अडियोस् र हेर्न पनि सुन्दर होस् ।

इतिहासकाल देखि नै नेपाल भारतबाट हेपिएको छ, थिचिएको छ । सीमा पीलरहरु उखेलेर फाल्नेदेखि लिएर कालापानीमा सिंगै भूभाग ओगटेर धम्की दिएर बसिरहेछ । हाल कोरोनाका कारण धेरै नेपाली दाजुभाइहरु विदेशी रोजगारी त्यागेर नेपाल फर्कने क्रम बढीरहेछ । अब यस अघि भारतीयहरले गरिरहेका रोजगारी नेपालीले गर्ने वातावरणबो श्रृजना गर्नुपर्छ । धेरै बर्षको अन्तरमा बल्ल नेपालले के पी शर्मा ओली जस्ता राष्ट्रवादी नेता पाएको छ । नेपाललाइ भारतसमू ठिंग उभिने स्वाभिमानी राष्ट्रको रुपमा उभ्याउन सफल पनि हुनभएको छ ।

नेपालको छवि नेपालमा र भारतमा समेत फरक बन्दै गएको छ । यो अवस्थालाइ नेपालको सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, विभिन्न तप्काका जनता सबैको सहयोग हुने हो भने नेपाल भारत सीमालाइ कम्तिमा एउटा नियम भित्र बाँध्न सकिन्छ । सदियौंदेखिको नेपालको यो सपना यही मेसोमा पूरा हुने सम्भावना बढेको छ । यो अवसरलाइ हातबाट उम्किन दिनुहुन्न ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ०५:४२