१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नुवाकोटमा मध्यरातमा बालुवा तस्करको रजगज, बिरोध गर्ने स्थानीय माथि खुँडा प्रहार


२ साउन, नुवाकोट । नुवाकोटमा स्थानीय प्रशासनको मिलेमतोमा बालुवातस्करी तीब्र बनेको छ । जिल्लाको लिखु गाउँपालिकामा मध्यरातमा खोलामा डोजर चलाएर अबैध उत्खनन् गरिरहेको थाहा पाएर रोक्न गएका स्थानीय माथि खुँडा प्रहार भएको छ । क्षेत्रपाल क्रशर उद्योगका  संचालक शैलेश श्रेष्ठले बालुवा झिक्न अबरोध गरेको भन्दै खुँडा प्रहार गरेको स्थानीयले बताएका छन ।

श्रेष्ठले खुँडाले हान्दा स्थानीय २२ बर्षिय सन्तोष राई र २९ बर्षिय अनिश राइ गम्भीर घाइते भएका छन । उनीहरूको काठमाडौँको ग्रिनसिटी अस्पतालमा उपचार भएको छ । खोलामा मेसिन प्रयोग गरि बालुवा उत्खनन भैरहेको थाहा पाएपछि आफुहरु राती करिब ११ः३० मा खोलामा पुगेको  स्थानीयले बताएका छन । उनका अनुसार बालुवा नझिक्न आग्रह गर्दा बिवाद बढ्दै गए पछि क्रशर संचालकले खुँडा प्रहार गरि लखेटेका हुन ।

स्थानीय प्रशासनको मिलेमतोमा गंगटेसम्म सुराकी राखेर वर्षौदेखि नदीको दोहन हुँदै आएको छ । पछिल्लो समय प्रशासनको नेतृत्व गर्दै नुवाकोट आइपुगेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जिम्मेवारी सम्हालेको एक साता नबित्दै यस्तो घटना भएपछि धेरैले शंकाको दृष्टिकोणले हेरेका छन । यसअघि ढकाल बालुवा तस्करहरूको योजना अनुसार नै नुवाकोटमा सरूवा मिलाएर गएको आरोप उनीमाथि लागेको थियो ।

यता पीडितहरूले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पीडक शैलेश श्रेष्ठको विरूद्धमा किटानी जहेरी दिएका छन । बिहीबार दिउँसो पीडितहरूको तर्फबाट जाहेरी दर्ता भएको हो । यस धटनालाइ सामसमु बनाउनका लागि नेपाली कांग्रेसले दिउँसो पत्रकार सम्मेलन गर्ने जनाएको छ । जिल्ला अधिकांश अबैध रूपमा नदी दोहन हुने क्रसरहरूमा कांग्रेस नेता र केही नेकपाका नेताहरूको समेत लगानी रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १०:४४