१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

टुकुचालाई सुन्दर सहरकाे रूपमा व्यवस्थित गरिने


२९ असार, काठमाडाैँ । सरकारले काठमाडौँ उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । बागबजार स्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लान अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताउनुभयो । मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरि काम हुने स्पस्ट पार्नुभयो । उहाँले टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताउनुभयो ।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताउनुभयो । उहाँले बागमती प्रदेशका सांसद केशब स्थापितले सांसद विकास कोषबाट डेमोस्ट्रेसन गर्नुभएको र त्यसलाई हेरेर एडिबिको सहयोगमा डिपिआर तयार गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन् । खोलामा बढ्दै गएको प्रदुषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफुहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन् । स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफुहरुको पूर्ण सहयोग रहने बताउनुभयो ।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डिपिआरलाई अन्तिम रुप दिइने भएको छ । सुन्दर सहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालिन योजना सहति काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १३:०६