१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चितवनको बकुलहर अस्पतालमा जटिल शल्यक्रिया प्रारम्भ


२९ असार, चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ । गर्भवतीको शल्याक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत सुरु गरेको हो । हालै मात्र सो अस्पताललाई वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगालेका अनुसार ३५ वर्षीया एक चेपाङ महिलाको सफल शल्यक्रिया गरिएको हो । अस्पतालका सर्जन डा दिपेन्द्र मल्लिकको नेतृत्वको समूहले शल्यक्रिया गरेको हो । बगालेका अनुसार अब त्यस्ता शल्यक्रिया नियमित रुपमा गरिने छ ।

शल्यक्रिया गर्न अन्य बिरामीले पनि नाम टिपाएका छन् । उहाँका अनुसार केही वर्ष अगाडि हाडजोर्नीको शल्यक्रिया गरिएको भए पनि हाल प्रसूति बाहेक जटिल प्रकृतिका शल्यक्रिया गरिएको थिएन । प्रसूति शल्यक्रियामा शरीरलाई आंशिक रुपमा बेहोस बनाइने भए पनि यस प्रकृतिको शल्यक्रियामा पूरै शरीर बेहोस पारिन्छ । उहाँले छिट्टै हाड जोर्नीको शल्यक्रिया पनि थालिने बताउनुभयो ।

पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय अस्पताल भएको हो । वगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेशस्तरको भएसँगै ५० श्ययाको हुनेछ । विसं २०५८ मा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो । हाल सो अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् ।

अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, प्याथोलोजी, डायलासिस, भिडियो एक्सरे, एक्सरे जस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ । वगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १२:००