१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः अध्यक्ष दाहाल


२८ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।”

पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उहाँले भन्नुभयो, “ यसमा पनि तपार्इंहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उहाँले सुझाव दिनुभयो । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको समृद्धिको आधार बन्छ ।” साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । वर्षात्मा नभएर त्यसअघि नै विपद् व्यवस्थापनको तयारी र विकासनिर्माणको काम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाको समग्र विपद् व्यवस्थापनको पूर्वतयारी र अहिलेको अवस्थाबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, सरोकार कार्यालयका प्रमुख तथा सरोकार सङ्घसंस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रको गतिविधि र धारणा राख्नुभएको थियो ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्इ दाहाल उपस्थित भएको बेला पारेर विपद् व्यवस्थापन समिति बैठक राखिएको हो । अध्यक्ष दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृहजिल्ला आउनुभएको हो ।

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १४:०१