१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रधानमन्त्री ओलीको पक्षमा लेख्ने, बोल्ने वा समर्थन गर्नेलाई कारबाही गर्ने नेकपा नुवाकोटको चेतावनी


२७ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नुवाकोटको विदुरमा सयौँको संख्यामा प्रदर्शन भएपछि नेकपा नुवाकोटले समर्थकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेकपा नुवाकोटको जिल्ला कार्यालयको बैठकपछि विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायण खतिवडाले ओलीको पक्षमा प्रदर्शन गर्ने र विचार दिनेलाई कारबाही गर्ने चेतावनी दिएका हुन ।

केही दिनअघि विदुरमा भएको प्रदर्शनबाट त्रसित नेतृत्वले कार्यकर्ताको मुख थुन्न खोजेको भन्दै बिरोध सुरू भएको छ । अचम्म त के छ भने प्रधानमन्त्रीका विरूद्धमा नयाँ जंगबहादुर भनेर अभिव्यक्ति दिने जिल्ला अध्यक्ष खतिवडाले नै विज्ञप्तिमा हस्ताक्षर गरेर कार्यकर्तालाइ अनुशासन सिकाउने प्रयत्न गरेका छन । नेकपा नेताहरूका अनुसार आन्तरिक गतिबिधमा संलग्न भए पनि सचिव खतिवडाले भने घृणित अभिव्यक्ति दिएका छैनन् ।

अध्यक्ष खतिवडाले विदुरमा हुन लागेको प्रदर्शन रोक्नका लागि अनेक प्रयास गरेका थिए यद्यपी उनी सफल भएको थिएनन् । खतिवडाले पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका बागमती प्रदेशका सांसद बद्री मैनाली मार्फत विदुरमा हुन लागेको प्रदर्शन रोक्न दबाब दिएका थिए । तर स्वतस्फूर्त रूपमा उठेका युवाहरूको आवज नेताहरूको निर्देशन र आदेशले रोकिएन ।

प्रायः काठमाडौँमै कार्यालयको बैठक गरेर पार्टी सञ्चालन गर्दै आएका नेताहरूले भारतीय हेपाहा प्रवृति र विदेशी दलालीकाविरूद्धमा चर्को स्वरमा नारा लाग्ने र सामाजिक सञ्जालमा टिप्पणीहरू हुन थालेपछि यस्तो विज्ञप्ति प्रकाशित गरेका हुन । विज्ञप्तिमा पार्टीको विवादको विषयलाइ लिएर बोल्न, लेख्न र प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ । खतिवडाद्धयको निर्देशनविपरित कसैले पार्टीको बरेमा लेखे बोले उनीहरू स्वत कारबाहीको भागिदान हुने चेतावनी दिइएको छ ।

पार्टी प्रचार विभागका प्रमुख समेत रहेका सांसद मैनालीले अब उप्रान्त पार्टी नेताको बारेमा टिप्पणी गर्न प्रतिबन्ध लगाइको भन्दै पुरानो विषयको हिसाबकिताब नहुने बताए । तपाइको पार्टीका जिल्ला अध्यक्ष नै प्रधानमन्त्री विरूद्ध अभिव्यक्ति दिँदै हिड्ने अनि कार्यकर्तलाइ कारबाहीको धम्की दिने ? भन्ने दैनिकीको प्रश्नमा मैनालीले भने ‘अब उहाँहरू पनि सुध्रनुहुन्छ, आत्मआलोचना गर्दै अघि बढ्नुहुन्छ, पार्टी एकतामा खलल पुर्याउने गरी गतिबिधि नहोस भन्ने चाहना हो ।’ यस्तो छ नेकपा नुवाकोटको विज्ञप्ति

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १६:५०