११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेकपा भित्रको पदीय किचलोमा ओलीविरुद्ध भारतीय मिडियाको रोइलो


-डा. खोमराज खरेल

अहिले देश गम्भिर अवस्थाबाट गुज्रेको छ । एकातर्फ कोरोना महामारीको संक्रमणबाट जनतालाई बचाई सकेसम्म कम क्षतिमा सीमित गर्नुपर्ने छ भने अर्कोतर्फ भारतले हड्पेको नेपाली भूमिलाई कुटनीतिक सम्बन्धबाट फिर्ता गराउनु पर्ने चुनौति छ । बर्षाको समय भएकोले जनतालाई बाढी तथा पहिरो जस्ता प्राकृतिक विपत्तबाट सुरक्षित राख्नु पर्नेछ ।

यसैगरी नागरिकता विधेकलाई संसदबाट पारित गराई दीर्धकालमा नेपालमा पर्नसक्ने असरलाई नियन्त्रण गर्नुपर्ने दायित्व छ । यस्तो दीर्धकालीन प्रकृतिको दायित्व बोकेको नेकपाका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री के.पी.ओलीलाई एकातर्फ आफ्नै पार्टीका माथिल्लो तहका नेताहरुद्वारा घेराबन्दीमा पारिएको छ भने अर्कोतर्फ भारतीय मिडियाले प्रधानमन्त्री र देशको स्वाधिनताको धज्जी उडाईरहेको छ ।

एकैसाथ पार्टीका केही नेताहरु र भारतीयहरु मिडिया लगायतका व्यक्तिहरु प्रधानमन्त्री के.पी.ओलीको विरुद्धमा लाग्नु एक अर्कोसँग अन्तरसम्बन्धित देखिन्छ। पार्टी भित्रका सानातिना विवादलाई तन्काएर रमाउने नेपाली वर्ग चरित्रका कारणले गर्दा पटक पटक भारतीय हस्तक्षेप बढ्दो छ । जतिखेर नेपालमा विपत्त र पार्टीगत विवादहरु सृजना हुन्छन् सोही समयमा भारतले नेपाललाई हेप्ने तथा सिमा मिच्दै आएको छ । विभिन्न समयमा भएका राजनैतिक अस्थिरतामा भारतले नेपालको हजारौ वर्ग किलोमिटर बराबरको भुभाग हडप्दै आएको छ ।

अहिले नेपालमा विशेषगरी नेकपाभित्रको द्वन्दकाबीच किन भारतले नेपालको भूभाग मिच्यो त । यो गम्भिर विषय हुनु पर्दछ । एकातर्फ नेकपाका सचिवालयका नेताहरु गुट र उपगुट बनाएर सरकारका विरुद्ध लाग्नु र अर्कोतर्फ भारतीय मिडियामा प्रधानमन्त्री के.पी. ओलीका विरुद्ध गरेको कुप्रचार नियोजित र प्रायोजित देखिन्छ ।

अहिले नै कोही नभएको जात्रा हाँडी गाउँमा भने झै नेकपाभित्रको पदीय रडाकोले तीव्रता पाएकोछ । यस्तो संवेदनशील विषयमा नेकपाका वरिष्ठ नेताहरु, अन्य नेता तथा सभासद्हरुमा चासो देश र जनतालाई व्यक्तिगत तर्फबाट तथा राज्यको तर्फबाट सहयोग गर्ने र गराउने तर्फ उन्मुख हुनु पर्नेमा सरकार परिवर्तनको खेलमा लाग्नु देश र जनताका विपक्षमा देखिन्छ ।

विश्वका शक्तिशाली देशहरु समेत कोरोना भाइरसका विरुद्ध लड्दा निरास बन्दै गएको जटिल मोडमा समेत तुलनात्मक रुपमा नेपाल सरकारले चालेका कोरोना नियन्त्रणका उपायहरु सकारात्मक रहेका छन् । विगत केही दिनको परिणामलाई हेर्दा संक्रमिण थपिनेको संख्या भन्दा स्वास्थ्यलाभ गर्नेको संख्या बढ्दै गएकोले अबका दिनमा कोरोना भाइरस नियन्त्रणका उपायहरु आशावादी बन्दै गएका छन् तथापि यसको पूर्ण रुपमा नियन्त्रण नभए सम्मका लागि नियन्त्रणका उपायहरुलाई अझै कडाईका साथ कार्यान्वयन गर्दै जानु आवश्यक छ ।

आज देशमा एकातर्फ कोरोना महामारीका कारणले गर्दा जनताको दैनिकी असहज र कठिन बन्दै गएको छ भने अर्कोतर्फ अहिले नेकपाका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीमाथि आन्तरिक र वाह्य शक्तिले निशाना बनाएका छन् । विशेषगरी नेकपाका केही नेता र भारतीय सरकार तथा मिडियाहरुले प्रधानमन्त्रीका विरुद्ध मोर्चाबन्दी बनाएर लागेको देखिएकोछ । एउटा स्वतन्त्र र सार्वभौम देशका प्रधानमन्त्री विरुद्ध विदेशी सरकार र मिडियाले जथाभावी कुप्रचार गर्दा नेकपाको तर्फबाट कुनैपनि औपचारिक विरोधको आभास नआउनु पार्टी र देशकै लागि विडंवना हो ।

प्रधानमन्त्री पद देशको कार्यकारी प्रमुख भएकोले विदेशी मिडिया अनावश्यक र तथ्यहिन प्रचार गर्नु नेपालको सार्वभौमसत्ता र नेपाली जनताप्रतिको अपमान हो । यस्ता संवेदनशील विषयमा नेकपाका माथिल्लो तहका नेताको औपचारिक विचार नआउनु सोचनीय विषय हो । आगामि दिनमा देशको प्रमुख जिम्मेवारीमा जो कोही पुग्दा पनि भारतीय कठपुतली भनेर छोटा भाइको उपाधी लिने सोच भएमा केही भन्नु छैन् ।

अहिले प्रधानमन्त्री माथि लागेका आरोपहरुमा एकलौटी गरे, पार्टीमा सल्लाह गरेनन् र जथाभावी बोले भन्ने मुख्य तीनवटा आरोपहरु देखिएका छन् । यी आरोपहरुका पछाडि व्यक्तिलाभ र पदीय कुण्ठा जोडिएको छ । नेकपाका केही नेता प्रधानमन्त्री विरुद्ध एक भएर लागे भन्ने सवालमा प्रश्नको उत्तर खोज्दा विगतमा पार्टी र सरकारको प्रमुख भएर नेतृत्व गर्दाको अवस्थालाई विश्लेषण गर्दा कुन कार्यलाई जनताले उहाँहरुलाई सम्झिरहने अवस्था छ त ।

पार्टीका प्रमुख नेताको सफलता र असफललाई मापन गर्ने प्रमुख कडी भनेको जनमतलाई पार्टीको पक्षमा ल्याउने र देशको शिर उचो राख्दै अल्पकालीन र दीर्घकालीन विकासलाई अगाडि बढाउन सक्ने विषयलाई आधार मानिन्छ । प्रधानमन्त्री के.पी. ओलीलाई अन्य तीन नेताहरुसँग तुलना गर्दा सवल र सक्षमतामा अगाडि देखिनु हुन्छ । २०७४ सालका तीनै तहका निर्वाचनमा पार्टी उहाँ कै नेतृत्व प्रतिस्पर्धा गरेको थियो । नेपाली जनताले ओली कै विश्वास र भरोसामा नेकपालाई जनमत दिएका हुन र देश र जनताले लामो समयपछि उहाँको एउटा स्थिर सरकार र शान्त नेपालको अनुभूति गर्ने अवसर पाएका छन् ।

विगतमा नेकपा नेताको नेतृत्वको क्षमता विश्लेषण गर्दा २०६४ को संविधान सभाको चुनावमा क.प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले जनमत पाएको थियो तर आन्तरिक द्वन्दका कारणले सो जनमतलाई आफ्नो विश्वासमा राख्न नसकेको तितो यर्थातता छदैछ जसले गर्दा २०७० सालको संविधान सभाको चुनावमा नेकपा माओवादी तेश्रो दलमा सीमित हुन पुग्यो । नेकपा माओवादी पार्टी फुटेर चिरा चिरा भई स्थानीय तहको चुवावमा ने.का.सँग तालमेल गर्दा समेत जनमत आफ्नो पक्षमा लिन नसकेको सत्यता लुकेको छैन ।

२०६४ सालको चुनावमा ततकालीन नेकपा एमाले क.माधव कुमार नेपालको नेतृत्वमा चुनावमा प्रतिस्पर्धा गर्दा खुम्चिएर तेश्रो दलमा झरेकोले महासचिव पदबाट राजिनामा दिएको प्रमाण छँदैछ । २०७० सालको दोश्रो संविधान सभाको चुनावमा तत्कालीन नेकपा एमाले अध्यक्ष क.झलनाथ खनालको अध्यक्षातामा नेकपा एमालेले प्रतिस्पर्धा गर्दा दोश्रो ठूलो दलमा उक्लिएको थियो । उहाँलाई पार्टीको अध्यक्षबाट हटाउने खेल कतैबाट भएको थिएन् ।

यी तथ्यहरुको आधारमा प्रधानमन्त्री के.पी. ओलीको कार्य दक्षताको विश्लेषण गर्दा पार्टी नेतृत्वको सवालमा नेकपा एमालेको महाअधिवेशनमा प्रतिस्पर्धा गरी निर्वाचित अध्यक्ष र नेकपा एकिकरण पश्चात् आगामि महाअधिवेशनसम्मको अध्यक्ष हो भने जनमत हेर्दा करिव दुईतिहाई जनमत पार्टीको पक्षमा ल्याउन सक्षम नेता हुनुहुन्छ । उक्त चुनावमा अहिले ओलीलाई गलहत्याएर हटाउन खोज्ने अधिकांश नेतालाई आफु कसरी निर्वाचित हुने भन्ने चिन्ता थियो । यदि क.के.पी.ओलीलाई हटाउन खोजियो भने पूर्व नेकपा एमालेको विरुद्धको खेल हो र पार्टी एकता विरुद्ध गरिएको षडयन्त्र बुझिन्छ । क.के.पी.ओली हटाउनु भनेको पार्टी एकताको औचित्य समाप्त गर्न लाग्नु हो ।

आजसम्म पनि नेकपाको एकिकरणको प्रक्रिया सम्पूर्ण तहमा सम्पन्न भइ नसकेको अवस्था र नेकपा पार्टी बनिसकेपछि पार्टीको सदस्यता वितरण प्रक्रिया लागु नभएसम्म नेकपा एमालेका सदस्यहरुसँग एमाले कै संगठितसदस्यता तथा साधारण सदस्यता रहेको र नेकपा माओवादीसँग माओवादी कै सदस्यता रहेको छ । परिस्थिस्ति र भागवण्डाको खेललाई विश्लेषण गर्दा दुई पार्टीको संयुक्त सरकार बनेको र के.पी.ओली ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्नुभएको देखिन्छ । केही नेताहरु उहाँप्रति व्यक्तिगत ईर्षाका कारणले गर्दा यस्तो खेलमा लागेको देखिन्छ । जनमतलाई हेर्दा के.पी.ओलीको पक्षमा देखिन्छ ।

फाइल फाेटाे

प्रधानमन्त्री के.पी.ओली दुवै पदमा रहनु पर्ने कारणमा नेकपा एमालेको अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भइसकेपछि नेपाली जनतामा उहाँप्रति विश्वास र भरोसा बढ्न थाल्यो । २०७३ सालमा प्रधानमन्त्री पदमा चयन भई भारतीय अघोषित नाकाबन्दी र हेपाहा प्रवृत्ति विरुद्ध नझुकेपछि सम्पूर्ण देशभक्त र विकासप्रेमी जनताले के.पी. ओलीलाई विश्वास र भरोसाको नेताको रुपमा मनन गरे । २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमाले एकातर्फ अर्कोतर्फ अन्य दलहरु हुँदा स्थानीय तहको चुनावमा नेकपा एमालेलाई भारीमत दिई ठूलो दल बनाए ।

संसदीय चुनावमा दुई पार्टीको साझा उम्मेदवारको प्रावधान अनुसार पनि ठूलो दलको हैसियतले के.पी.ओली कै नेतृत्वमा चुनावमा प्रतिस्पर्धा गर्दा उहाँकै विश्वास र भरोसामा नेकपा करिव दुईतिहाई जनमत प्राप्त गरि सरकारको नेतृत्व गर्ने अवसर उहाँलाई मिलेको हो । उहाँले देश भरिकै आफ्ना साझा उम्मेवारलाई जिताउन देश दौडाहा लाग्नु भएको थियो ।

त्यतिखेरको चुनावी मैदानमा उहाँको अग्रणी भूमिका रहेको र नेपाली जनताले पनि उहाँ प्रतिको भरोसा र दुई कम्युनिष्ट पार्टीको एकताले देशको विकास र जनताको भलो हुने अपेक्षाले गर्दा आज देशमा नेकपाको शानदार बहुमतको सरकार बन्न सकेको कुराले नेकपाका कार्यकर्ता तथा शुभचिन्तकले गर्व गर्ने अवसर प्राप्त भएको छ भने नेताहरुको मान र सम्मान बढेको छ ।

उहाँले पार्टीको तर्फबाट चुनावमा जनतासँग ५ बर्षभित्र कार्यगर्ने गरेका वाचाहरु पुरा गर्न सरकारको नेतृत्वगर्न जरुरी छ । दुवै पक्षबाट सक्षम भएका नेतालाई भारतसँगको सीमा सम्बन्धी लडाई लडिरहेको योद्धा युद्ध छोडेर भाग्न मिल्दैन । यसैगरी क.ओलीलाई आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि देश र जनताप्रतिको दायित्व छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १०:५०