१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेकपाको फुट टर्यो, दुर्घटनाबाट जोगाउन भूमिका खेल्ने सबैलाई शंकर पोखरेलको धन्यवाद


२६ असार, काठमाडाैँ । नेकपाको फुट टरेको संकेत मिलेको छ । प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेकपा स्थायी कमिटीका सदस्य शंकर पोखरेलले नेकपा फुटको संघारबाट जोगिएको सन्देश दिएका हुन । उनले शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथसहयोग रहने विश्वासका साथ आफू आजै कार्यक्षेत्रमा(वुटवल) फर्किएको बताएका छन ।

सँगै उनले पार्टी एकतालाई दुर्घटनामा पर्नवाट जोगाउदै सम्वादको प्रकृयालाई अघि वढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र रहेको बताएका छन । उनले भनेका छन  ‘पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ । पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौ। निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन ।’

मुख्यमन्त्री पोखरेले भनेका छन ‘नेपालभारत बीचको सिमाविवाद समाधानगर्ने उद्देश्यकासाथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको छ । सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको छ । यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प हो ।’

त्यस्तै मुख्यमन्त्री पोखरेलले अघि भनेका छन ‘छिमेकी भारत त्यसबाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एकभएर साथ दिनेवेलामा पार्टीमै विवाद देखिनु राम्रो होइन । यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्छ । ’

मुख्यमन्त्री पोखरेलले धर्ना,जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडमा रहेका जनताको सेवामा जुट्न अपिल समेत गरेका छन । उनले भनेका छन ‘यतिवेला जनता कोभिड १९ र वाढी पहिरोको त्रास र पीडामा छन् । उनीहरुको सेबागर्नु हामी सबैको कर्तव्य हो । अध्यक्षद्वयले परिस्थितिको गंभीरतालाई मननगरी चालु वैठकलाई एक साताका लागि स्थगन गर्नुभएको छ । यसलाई सदुपयोग गर्दै धर्ना,जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडमा रहेका जनताको सेवामा जुटौ । वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुदैन ।’

प्रधानमन्त्रीले पनि शुक्रबार राति देशबासीका नाममा गरेको सम्बाेधनमा सहमति भएको संकेत गरेका छन । प्रधानमन्त्रीले भनेका छन ‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार २१:३२