१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

६ बुँदे घोषणापत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मलेन सम्पन्न


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मलेन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) आयोजना गरिएको सम्मेलनमा उत्कृष्ट स्वास्थ्य अनुसन्धानको क्षेत्रमा अग्रसर वैज्ञानिकहरुलाई पुरस्कृत गरिएको थियो ।

विश्वभर फैलिएको कोभिड-१९ को प्रभावका कारण एनएचआरसीले पहिलो पटक भर्चुअल वैज्ञानिक सम्मेलन गरेको थियो । सम्मेलनमा स्वदेशी तथा विदेशी वैज्ञानिकहरुले मौखिक प्रस्तुति दिएका थिए।

सम्मेलनमा जनस्वास्थ्यसँग सम्वन्धित कोभिड-१९, मानसिक स्वास्थ्य, सरुवा रोग, बाल तथा किशोरकिशोरी स्वास्थ्य जस्ता विषयमा ९६ पोस्टर तथा मौखिक कार्यपत्र प्रस्तुत भएका थिए । जसमध्ये आमन्त्रितसमेत गरि ४२ मौखिक प्रस्तुति र ५४ पोष्टर प्रस्तुति रहेका थिए ।

सम्मेलनमा उत्कृष्ट कार्य प्रस्तुति गरेवापत प्रतिक खनाललाई मौखिक पुरस्कृत प्रदान गरिएको थियो । त्यस्तै, शिक्षा अधिकारीलाई उत्कृष्ट ‘पोस्टर प्रेजेन्टेसन अवार्ड’ प्रदान गरिएको थियो ।

परिषद्को जर्नलमा वर्षभरी प्रकाशित वैज्ञानिक लेख मध्ये उत्कृष्ट लेख प्रकाशित गर्ने डा. गेहनाथ बराल र दुर्गादेवी ज्ञवाली ‘स्पोन्सर्ड जर्नल अफ हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार’ प्रदान गरिएको थियो ।

यसैगरी ४० वर्ष मूनिका युवा वैज्ञानिकलाई मृगेन्द्र सम्झना ‘मेडिकल ट्रस्ट अवार्ड’ डा विशाल ज्ञवालीलाई प्रदान गरिएको थियो । मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता अशोक पाण्डेलाई दिइएको थियो ।

‘स्वास्थ्य अनुसन्धान लाईफ टाईम एचिभमेन्ट अवार्ड’ प्राडा जीवन बहादुर शेरचनलाई प्रादान गरिएको थियो । त्यसैगरी, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्ड डा सन्दुक रुइतलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १४:५१