७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तनहुँको व्यास नगरपालिकाको डेढ अर्ब बजेट पारित


२६ असार, दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न ३३ औं नगरसभाले आगामी वर्षका लागि उक्त बजेट पारित गरेको हो । नगरसभाले शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४४ करोड पाँच लाख, पर्यटन प्रबद्र्धनतर्फ रु चार करोड ५८ लाख, कृषि तथा पशु सेवातर्फ रु तीन करोड ८३ लाख, स्वास्थ्यतर्फ रु सात करोड ४८ लाख ८७ हजार, महिला, जनजाति, दलित, अपाङ्गता एवं ज्येष्ठ नागरिकतर्फ रु एक करोड तीन लाख बजेट विनियोजन गरेको छ । वडा कार्यालय पहुँच मार्ग अन्तर्गत वडा नं ७, ८, १०, १२, १३ र १४ को सडक कालोपत्रेका लागि रु एक करोड ९० लाख बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

अन्य मार्ग र सडक नाला निर्माण तथा मर्मतका लागि रु ९ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । ऐतिहासिक तनहुँसुर जाने खड्गकाली मार्गका लागि अघिल्लो वर्ष विनियोजन भएको रु तीन करोड आगामी वर्ष रकमान्तर गरी आगामी वर्ष रु पाँच करोड बजेट थप गरिएको उहाँले बताउनुभयो । त्यसैगरी खानेपानी, विद्युतीय पूर्वाधार निर्माणतर्फ रु दुई करोड ७७ लाख, वातावरण, सरसफाइ र विपद् व्यवस्थापनतर्फ रु एक करोड ४० लाख, वडा कार्यालय मर्मतका लागि रु एक करोड बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका विभिन्न योजनाको रु २० करोड आगामी वर्ष समावेश गरिएकाले बजेटको आकार बढेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले आगामी वर्षका लागि करीब रु १३ करोड घटी बजेट पारित गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक अर्ब ४४ करोडको बजेट ल्याएको थियो । “कोरोना सङ्क्रमणका कारण चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनालाई आगामी वर्ष सम्पन्न गर्ने गरी बजेट थप गरिएको छ,” उहाँले भन्नुभयो, “सोही कारण आगामी वर्षको बजेटको आकार बढेको हो । वास्तवमा आगामी वर्षको बजेटको आकार भने घटेको छ ।”

नगरसभाले भाडामा लगाइएका सटरको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीलाई मर्कामा परेकाले नगरपालिका अन्तर्गत पसल कबल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय भएको उहाँले बताउनुभयो ।

नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा शटर भाडामा लगाएको छ । नगरसभाको यस निर्णयबाट व्यवसायीले मासिक रु १३ लाखका दरले दुई महिनाको रु २६ लाख भाडा छुट पाएका छन् । नगरसभाले व्यवसाय कर असार मसान्तभित्र तिर्नुपर्नेमा असोज मसान्तभित्र बुझाउँदा पनि जरीवाना नलाग्ने निर्णय गरेको छ । नगरसभाले आर्थिक ऐन, विनियोजन विधेयक, वातावरण परीक्षण ऐन पारित गरेको छ भने ३१ वटा विभिन्न समिति विघटन गरेको छ । नगरसभाको अवसरमा क्वारेन्टिन बनाउन सहयोग पु¥याउने निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, मदर्शा आधारभूत विद्यालय र जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो ।

बाढीले ४२ घर विस्थापित

अविरल वर्षासँगै आएको बाढीले तनहुँको शुक्लागण्डकीनगरपालिकाका ४२ घर विस्थापित भएका छन् । बिहीबार रातिदेखि परेको वर्षाले सेती नदीमा आएको बाढीले शुक्लागण्डकीनगरपालिका वडा नं ४ र ८ का ४२ घर विस्थापितभएका हुन् । वडा नं ४ का १४ र वडा नं ८ का २८ घर जोखिममा परेको शुक्लागण्डकीनगरपालिका ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ती घरधुरीका करीब १ सय ६२ जनालाई सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ । “भीषणबाढीले बस्ती नै जोगाउनगाह्रो परेकाले हाललाई स्थानीयवासीलाई सुरक्षित स्थानमा सारेका छौ” उहाँले भन्नुभयो । बाढीले स्थानीयवासीको घरमा पालिएका कुखुरा र बंगुर लगायत बगाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १२:२८