१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

वैकल्पिक सिकाइबारे प्रदेशगत समीक्षा गरिँदै


२६ असार , काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो पद्धतिको सिकाइ र अवस्थाबारे प्रतिवेदन तयार गर्न सात प्रदेशका लागि मन्त्रालयबाट एक एक जना सहसचिवस्तरका कर्मचारीलाई जिम्मेवारी तोक्नुभएको छ । वैकल्पिक सिकाइ पद्धतिको कार्यान्वयनको प्रभावकारिता, यसका समस्या, आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा मन्त्री पोखरेलले सुझाव लिन थाल्नुभएको उहाँका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो ।

प्रारम्भिक चरणमा विद्यालय पुनः सञ्चालन गर्नुपर्ने र वैकल्पिक सिकाइलाई शैक्षिकसत्रसँग जोड्नुपर्ने विषयलगायतको सुझाव आएको जनाइएको छ । प्राप्त प्रतिवेदनका आधारमा निर्णयका लागि मन्त्रालयले कोरोना रोकथाम केन्द्रीय निर्देशक समिति (सिसिएमसी) मा प्रस्ताव लानेछ । कोरोना महामारी र बन्दाबन्दीका कारण शिक्षालय बन्द भएको स्थितिमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सिकाइ निरन्तरताका लागि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक प्रणलीबाट सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी सबै प्रदेश र स्थानीय तहमा कार्यान्वयनका लागि आग्रह गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार ११:०६