१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आईसीयूमै बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ


२५ असार, वीरगञ्ज । वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलकाे आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा हस्पिटलमा कार्यरत ३ स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेकाे छ । हस्पिटलमा उपचार गराइरहेकी वीरगञ्जकी १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हस्पिटलमा कार्यरत कृष्ण दास, एहसान हुसैन र सरफुदीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर ।

लुगा फेर्ने बहानामा स्वास्थ्यकर्मीले आफूलाई दुर्व्यवहार गरेको आरोप युवतीले लगाएकी छन् । उपचारका क्रममा आईसीयूमै मंगलबार राति स्वास्थ्यकर्मीले आफुलाई दुर्व्यवहार गरेको युवतीको भनाइ छ । आमा भेट्न जाँदा युवतीले घटनाबारे जानकारी गराएपछि बुधबार बिहानै आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको माग गरेका थिए । त्यसपछि प्रहरीले ३ स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन्। प्रारम्भिक अनुसन्धानपछि आएको निष्कर्षको आधारमा नै कारबाही प्रक्रिया अघि बढाइने  कुँवरले बताए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १२:४९