८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो


२४ असार, टोकियो । बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि अबरुद्ध भएको देखाइएको छ ।

प्रभावित क्षेत्रका सयौँ नागरिकहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरु ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नु पर्ने सुझाव दिएको छ । तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरुले जनाएका छन् । जापानमा हरेक बर्ष बाढी, पहिरोमा परेर सयौँको मृत्यु हुने गरेको छ । विशेष गरेर वर्षायामको बेलामा यस्ता घटना धेरै हुने गरेका छन् । यसअघि सन् २०१८ मा पनि बाढी पहिरोमा परी दक्षिणी क्षेत्रमा २०० भन्दा धेरैको मृत्यु भएको थियो । ती मध्ये झण्डै आधाको हिरोसिमामा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १४:५१