७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेकपा स्थायी कमिटी बैठक असार २६ सम्मका लागि स्थगित, सहमतिको सुत्र भेटिएन


२४ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २६ गते (शुक्रबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पुनः २४ गतेसम्मका लागि स्थगित भएको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको बताइएको छ । अध्यक्षद्धयले विवाद निकासका लागि सहमतिको सुत्र खोजिरहेका छन ।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायतका विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ । तर बीचमा एजेण्डा बाहिरको विषयमा छलफल चलाएर प्रचण्ड समूहले स्थायी समिति बैठक पर धकेलिदिएका छन ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार ०९:२५