१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रातो मच्छेन्द्रनाथ मन्दिर पुनःनिर्माण शुरु


२२ असार, काठमाडौँ । पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त ललितपुरको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिमार्फत शुरु भएको छ । यही असार २० गते शनिबार क्षमा पूजा गरी आजदेखि काम शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिनुभयो । आज मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुङ्गाका खम्बा एकत्रित गर्ने काम गरिएको छ । उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीसँग छलफल पनि गरेको छ ।

मन्दिर पुनःनिर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेश्की रकम उपलब्ध गराएको विभागका सीडीई सम्पत घिमिरेले बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको नेतृत्वमा विभागले मन्दिर पुनःनिर्माणको प्राविधिक रेखदेख गर्नेछ । उपभोक्ता समिति र विभागबीच भएको सम्झौतानुसार समितिले एक वर्ष अर्थात २०७८ असार १५ गतेभित्र रु तीन करोड आठ लाख लागतमा मन्दिरको पुनःनिर्माण गर्नुपर्नेछ । सम्झौतापछि उपभोक्ता समितिले रु ४० लाख पेश्की लिएको विभागले जनाएको छ ।

यसअघि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजनानुसार मन्दिरको काम अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत गर्न लागिएको हो । मन्दिर पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपालिका एवं सम्बन्धित वडाका प्रतिनिधि, विभागका प्रतिनिधि, बुङ्गमती क्षेत्र पुनःनिर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ ।

गत पुस १४ गते सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बसेको जनप्रतिनिधिसहितको बैठकले मन्दिरको बाँकी पुनःनिर्माण उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको थियो । उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण गर्दा सकारात्मक परिणाम आएका छन् । रानी पोखरीको पिँध र पानी रहने वरिपरिको पर्खालको पुनःनिर्माण सकेर त्यहाँको उपभोक्ता समितिले गत साता प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १८:२९