१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरितः नेता रायमाझी


२१ असार, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश दुर्घटना हुने बताउँदै सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पार्नुभएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको बताउनुभयो । पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पार्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिईरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ । मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको छ । यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् हो ।’

रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुनेपनि टिप्पणी गर्दै भन्नुभयो, ‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ । अहिले बहुमत वा अल्पमतमा जाने होईन् । बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरित हुन्छ ।’

नेताहरुले एकले अर्कोलाई सम्मान गर्दै अहिले देखिएका विवाद वा समस्याको समाधान खोज्नुपर्ने बताउँदै उहाँले नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने टिप्पणी गर्नुभयो । नेताहरुलाई सहमतिको लागि अन्तिमसम्म प्रयत्न गर्नपनि आग्रह गर्दै आफूहरु दोस्रो पुस्ताका नेताहरुपनि पार्टी एकतालाई जोगाउनको लागि नेतृत्वलाई दबाब सिर्जना गर्ने काममा लागिरहेको बताउनुभयो ।

कसैको उक्साहटमा, निर्देशन वा बहकावमा लागेर पार्टी विभाजन गर्ने कदम चाले स्वयम ती नेताहरुको लागि दुर्भाग्यपूर्ण हुने बताउँदै उहाँले नेकपा विभाजन भयो भने गणतन्त्र धरापमा पर्ने खतरा औंल्याउनुभयो ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १८:५१