८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

युवालाई अब चार प्रतिशतमै सहुलियत ऋण


१४ असार, चिप्लेढुंगा । कोभिड–१९ का कारण रोजगार गुमाएर स्वदेश फर्केकालाई लक्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रममलाई प्राथमिकता दिएको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम र बजेटमार्फत कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्किएका युवालाई लक्षित गरेर स्वरोजगार बनाउने र उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिने नीति ल्याएको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने कार्यक्रमलाई जोड दिएर युवालाई चार प्रतिशतमा सहुलियत ऋण प्रदान गरिने बताउनुभयो । गाउँपालिकाले युवा तथा स्वरोजगार शीर्षकमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

सात वडा रहेको गाउँपालिकामा करिब चार हजार ५०० घरधुरी छन् भने २२ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिकाले घरघरमा गएर वैदेशिक रोजगारबाट फर्कन चाहनेको तथ्याङ्कसमेत सङ्कलन गरेको छ । एक हजार ८८१ युवा दशैँसम्ममा स्वदेश फर्कन चाहेको तथ्याङ्क गाउँपालिकासँग छ । विदेशबाट आएका ६०० र स्वदेशका ४०० गरी करिब एक हजार जनालाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत ऋण प्रदान गर्ने गृहकार्य गाउँपालिकाको छ । उनीहरुका लागि पशुपालन, कृषि, साना उद्योग र घरेलु उद्योगमा ऋण प्रदान गरिनेछ ।

गाउँपालिकाले आगामी वर्षलाई कृषि वर्षका रुपमा मनाउने तयारीका साथ कार्यक्रम अगाडि सारेको छ । कृषि वर्षका लागि रु एक करोड १६ लाख बजेट विनियोजन गरिएको छ । गाउँमा उत्पादिन कृषिउपज कृषि एम्बुलेन्समार्फत निःशुल्करुपमा बजारमा पु¥याउने, फलफूल तथा तरकारीको बिरुवा सहज बनाउने, एक वडा एक नर्सरी स्थापना गर्ने साथै एक घर एक करेसाबारी कार्यक्रम अघि सारेको छ ।

गाउँपालिकाले कृषकको सहजताका लागि घरघरमा मोटरसाइकलबाट प्राविधिक सेवासमेत पु¥याउँदै आएको छ । त्यसैगरी पशुपालनमा सहुलियत ऋण, उन्नत जातको पशुपालनका लागि कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष ओझाले जानकारी दिनुभयो । पशुपालन क्षेत्रका लागि गाउँपालिकाले रु ९४ लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले हालै आव २०७७÷७८ का लागि ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ रु पाँच करोड एक लाख २४ हजार र पूँजीगततर्फ रु १८ करोड ८० लाख २४ हजार विनियोजन गरेको अध्यक्ष ओझाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १४ असार २०७७, आईतवार २०:१८