१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मदन जन्माउने आमा चन्द्रकुमारीप्रति ऋणी छौँ


-महेश बर्तौला
दुनियाँको ध्यान नेपाल तर्फ आकर्षित भैरहेको थियो । यसै बेला मे २७, १९९१ मा विश्वप्रख्यात म्यागेजिन न्युजविकमा “नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् ” शिर्षकको जननेता मदन भण्डारीको अन्तरबार्ता प्रकाशित भयो । उक्त म्यागेजिनका पत्रकार मिचेल लितभिनको मदन भण्डारीलाई पहिलो प्रश्न थियो, अरू मुलुकहरुमा कम्युनिस्टले पराजय भोगिरेका बेला तपाईंले जितिन्छ भनेर कसरी ठान्नुभयो ? ’

भण्डारीको जवाफ थियो– ‘कम्युनिज्मको मुख्य लक्ष्य भनेको समाजबाट शोषण, भ्रष्टाचार र अन्यायको निर्मूलीकरण गर्नु हो। विगतमा कहीँकतै नीति कार्यान्वयनका क्रममा केही गल्ती कमजोरी भएका छन् भने कम्युनिज्मकै लक्ष्य विफल भयो भन्न मिल्दैन। हाम्रो पार्टीका सबालमा, हामीले प्रजातन्त्र स्थापनाको निर्णय लिएका छौं र जनताबाट मतादेश लिएर मात्र शासन सम्हाल्नेछौं।’

अन्तरबार्तामा भने जस्तै जनताबाट मतादेश लिएर मात्र शासन सम्हाल्ने जननेता मदन भण्डारीको सुबिचारित लोकतान्त्रिक राजनीतिक दृष्टिकोण सहितको नेतृत्व कै कारण बाममोर्चाको निर्माण हुँदै नेपाली काङ्ग्रेसलाई समेत साथैमा लिइ संयुक्त जनआन्दोलन मार्फत निरंकुश पन्चायती शासन समाप्त गरि बहुदलीय प्रजातान्त्रिक ब्यवस्था स्थापना गर्न सम्भब भयो । तत्कालीन नेकपा माक्र्सवादी र नेकपा माले मिलेर बनेको नेकपा (एमाले)ले मदन भण्डारीको नेतृत्वमा २०४८ को आम निर्वाचनमा जनताको ब्यापक मन जित्न सफल भयो ।

काङ्ग्रेसले बहुमत ल्याए पनि एमाले प्रमुख प्रतिपक्षी दल बन्न पुग्यो । तर बिश्वका कयौं समाजबादी मुलुकहरूबाट कम्युनिस्ट सरकारहरु एक पछी अर्को असफल हुँदै गइरहेको बेला नेपालमा कम्युनिस्ट पार्टीप्रति जनताको अपार आकर्षकले बिश्व समुदायको ध्यान नेकपा एमाले र यसको नेतृत्व मदन भण्डारी प्रति खिच्यो । दुनियाँको ध्यान नेपाल तर्फ आकर्षित भैरहेको बेलामा विश्वप्रख्यात म्यागेजिन ‘न्युजविक’ ले “नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् ” भन्दै जननेता मदन भण्डारीको अन्तरबार्ता प्रकाशित गरेको थियोे ।

कम्युनिस्ट भनेका निर्दलीय एवं निरंकुश हुन्छन्, कम्युनिष्ट पार्टी र त्यसका नेताहरू अलोकतान्त्रिक र जडसुत्रबादी हुन्छन् भन्ने वुर्जवावर्गको कुप्रचारलाई झुठो साबित गर्दै अन्तरबार्तामा भनेजस्तै जनताबाट मतादेश लिएर मात्र शासन सम्हाल्ने नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणको नवीन बिचार लाई मुर्तरुप दिन मदन भण्डारी द्वारा नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज) प्रतिपादन गर्नुभयो । यसलाई २०४९ माघ १४ देखि २० सम्म भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनले पारित गर्‍यो। र, त्यो नै पार्टीको मार्गनिर्देशक सिद्धान्त र नेपाली कम्युनिस्ट आन्दोलनको प्राण बन्यो र बनिरहेको छ ।

तर दुर्भाग्य नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनबाद पारित भएको ४ महिना नपुग्दै ०५० जेठ ३ गते जिबराज आश्रित सहित मदन भण्डारीको ‘दासढुंगा दुर्घटना’ मा षड्यन्त्रपुर्बक हत्या भयो। उनले जन्माएको ‘जबज’ कै जगबाट नेकपा एमालेले २०५१ को मध्यावधि निर्वाचनमा ठूलो दल बन्ने अवसर प्राप्त गर्‍यो । जनताको बहुदलीय जनबादको उत्कृष्ट राजनैतिक दृस्ठिकोण कै कारण नेपाली काङ्ग्रेसलाई राजतन्त्र विरुद्ध उभ्याउदै संघीय लोकतान्त्रिक गणतन्त्रको झन्डा बोक्न बाध्य बनायो भने ससस्त्र युद्ध गरिरहेको तत्कालीन माओवादीलाई हतियार त्यागी शान्तिपूर्ण संघर्षको मार्गमा आउन प्रेरित गर्‍यो ।

समग्रमा भन्नु पर्दा मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त र विचारको प्रकाशमा नै मुलुक आजको परिवर्तनमा आइपुगेको यथार्थ सत्य हो र यसै मार्फत नेपाली समाजको आमुल रुपान्तरणको प्रक्रिया गुणात्मक रूपले अघि बढिरहेको छ । नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनबादका १४ सान्दर्भिक विशेषताहरुले नै यसको महत्त्व र अनुसरणको आवश्यकता अझै बढेर गएको छ ।

१. संविधानको सर्वोच्चता

२. बहुलवादी खुला समाज

३. शक्ति पृथकीकरणको सिद्धान्त

४. मानव अधिकारको रक्षा

५. वहुदलीय प्रतिस्पर्धाको प्रणाली

६. आवधिक निर्वाचन

७. बहुमतको सरकार र अल्पमतको विपक्ष

८. कानुनको शासन

९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण

१०. विदेशी पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग

११. क्षतिपूर्ति

१२. विदेश नीति

१३. नेतृत्व र अधिनायकत्व

१४.जनताको वहुदलीय जनवाद

जबज नेेपाली क्रान्तिको मौलिक सिद्धान्त मात्र नभई क्रान्ति पश्चात् निर्माणको ब्यापक कार्यक्रम हो। जबजले क्रान्तिपछि लागू गर्ने राजनीतिक कार्यत्रमको रूपमा निम्न लक्ष्यहरू निर्धारण गरेको थियो :

१. सामन्तवाद,दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको सत्ता तथा उनीहरूको शोषण उत्पीडन समाप्त गरी मजदुर किसान तथा सामन्तवाद–साम्राज्यवादविरोधी सम्पूर्ण जनवादी, देशभक्त र न्यायप्रेमी जनसमुदायको संयुक्त जनवादी राज्यसत्ता कायम गर्नु ।

२. नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गर्ने ।

३. मानव अधिकार र मौलिक हक अधिकारको प्रत्याभूति दिने ।

४. संविधानको सर्वोच्चता, कानुनको शासन र शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्ने ।

५. बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष रहने व्यवस्था गर्ने ।

६. विकेन्द्रीकरण र स्थानीय स्वशासनको संवैधानिक व्यवस्था गर्ने ।

७. सामन्तवाद दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण उत्पीडनका सम्पूर्ण अवशेषहरूलाई कानुनसम्मत ढंगले निर्मूल गर्ने ।

जबजले निर्दिष्ट गरेको क्रान्तिपछि लागू गर्ने यिनै लक्ष्यहरूका ज्योतिमा नेपालको राजनीतिक प्रणाली अगाडि बढेकै कारण आजको दिन सम्म आइपुदा अधिकाम्स लक्ष्यहरु प्राप्त भएका छन् भने मुलुकले लोकतान्त्रिक गणतन्त्र सम्मको राजनीतिक उपलब्धि प्राप्त गरेको छ । समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण भने अबको मुख्य कार्यभार हो।

जबजकै आलोकमा यसको आधारभूत सैद्धान्तिक मार्गलाई स्वीकार गर्दै र सोही मार्गलाई पच्छाउदै नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बनेको छ। यस अवस्थामा आइपुग्नुमा ‘जबज’ को अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसैले बर्तमान समयमा नेकपाको एकल जिबनका लागी मात्रै होईन सिङ्गो मुलुक, जनता र कम्युनिस्ट आन्दोलनको लागी समेत जबजको महत्त्वले सगरमाथाको उचाई लिइरहेको छ । यसको आवश्यकता र सान्दर्भिकता अझै फराकिलो हुँदै गइरहेको छ । त्यसैले यस्तो महान क्रान्तिकारी र सिर्जनात्मक नवीन बिचारकको जन्मदाता आदरणीय आमा प्रति अनुग्रहित छौं ।

आज असार १४ गते । विश्व कम्युनिस्ट आन्दोलनकै एक नक्षत्र, नवीन बिचारक, सिद्धान्तकार, युग पुरुष, जननेता, राजनेता मदन भण्डारीको जन्म भएको दिन । यस अबसरमा विलक्षण प्रतिभाका धनी यस्ता महान र शिखर ब्यक्तित्वको जन्म गराउने आमा प्रति अटल सम्मान छ । अलोकतान्त्रिक र जडसुत्रबादी चरीत्रका कारण बिषण क्षति र धक्का ब्यहोरिरहेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट गम्भीर शिक्षा लिदै प्रजातान्त्रिक बिधि मार्फत जनताको मतादेश र जनादेश बाट कम्युनिस्ट आन्दोलनको अनुमोदन गर्दै बैज्ञानिक समाजबाद हासिल गर्न सकिने महान बिचार जबजका प्रबर्तकको जन्म दिने आमा प्रति असाध्यै ऋणी छौं । सामाजिक मुक्ति आन्दोलनको कुशल क्रान्तिकारी नेता जन्माउने आमा प्रति सलाम छ।मुलुकका लागि एक होनहार योद्धा जन्माउने आमा प्रति हार्दिक आभार छ। जननेता क.मदन भण्डारी प्रति हार्दिक श्रद्धासुमन !!!!

(बर्ताैला साबिक अनेरास्ववियु केन्द्रिय कमिटीका उपाध्यक्ष हुनुहुन्छ ।)

प्रकाशित मिति : १४ असार २०७७, आईतवार १३:२३