८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चीनविरूद्धको समाचारमा कान्तिपुरले माफी माग्यो, कांग्रेसका तीन सांसदले के गर्छन ?


१३ असार, काठमाडाैँ । कान्तिपुर दैनिकले चीनका विरूद्धमा प्रायोजित रूपमा प्रकाशित समाचार स्रोतले धोका दिएको भन्दै माफी मागेर सच्याएको छ । असार १० गते बलराम बानियाँको बाइलानमा प्रकाशित समाचार पूर्णत झुटो रहेको भन्दै कान्तिपुरले माफी मागेको छ । शनिबार कान्तिपुरले उक्त समाचारमा माफी मागेपछि समाजिक सञ्जालमा त्यही माफीको विषयले बढी चर्चा पाएको छ ।

कान्तिपुरले समाचार प्रकाशित गरेको १० घण्टा पनि बित्न नपाउँदै सोही समाचारको धरातलमा संसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने नेपाली कांग्रेसका तीन सांसदले के भनेर स्पष्टिकरण दिन्छन भन्ने विषय चासोसाथ हेरिएको छ । एक वर्षदेखि विभिन्न सञ्चार माध्यममा विभिन्न रूपमा प्रकाशित हुँदै अाएको उक्त भ्रमपूर्ण समाचारको परराष्ट्र मन्त्रालयले खण्डन गरेर चीनसँग नेपालको कुनै पनि खालको सीमा विवाद नरहेको स्पष्ट पारेपछि कान्तिपुरले माफी मागेको हो ।

नेपाली कांग्रेसका सांसद समेत रहेका (भारतीय नागरिक समेत रहेको भनेर विवादित) पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कडेँल, पूर्वमन्त्री सञ्जयकुमार गाैतम र समानुपातिकका सांसद सत्यनारायण शर्मा खनालले असार १० गते संघीय संसद सचिवालयमा प्रतिनिधिसभाको सचिवालाइ सम्बाेधन गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । कडेँलको नेतृत्वमा कान्तिपुरमै समाचार प्रकाशित भएकै दिन प्रस्ताव दर्ता भएपछि त्यसलाइ शंकाको दृष्टिकोणले समेत हेरिएको थियो ।

विभिन्न बहाना झिकेर नेपाल र चीनबीचको मित्रतापूर्ण सम्बन्धमा खलल पुर्याउन भएका प्रयास समयक्रमसँगै असफल भएका छन । यद्यपी योजनावद्ध रूपमा भएका प्रयास झुटको सहारामा भएको प्रमाणित नै भैसकेका कारण कांग्रेस सांसदहरूले कसरी अाफ्नो स्पष्टिकरण पेश गर्छन भन्ने विषय चासोका साथ हेरिएको छ ।

कान्तिपुरले भ्रमपूर्ण समाचार प्रकाशन गरेसँगै परराष्ट्र मन्त्रालयले चीनसँग कुनै पनि खालको सीमा विवाद नरहेको स्पष्ट पारेको थियो । कृषि मन्त्रालयको प्रतिवेदनको हवाला दिँदै चीनसँग सीमा विवाद देखाउने प्रयत्न हुन थालेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको थियो ।

मन्त्रालयको विज्ञप्तिमा हराएको भनेर चर्चा गरिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ नै नराखिएको बताएको छ । उसले दुबै देशको सहमतिमा त्यस्तो काम भएको विज्ञप्तिमा उल्लेख गरेको छ । परराष्ट्रले नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम नै रहेको परराष्ट्रले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार १६:३२