११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : प्रधानमन्त्री मोदी


१२ असार, नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताउनु भएको छ । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो । कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै उहाँले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो ।

“हामी सवै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,” उहाँले एक कार्यक्रममा भन्नुभयो । यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउदै उहाँले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिनुभयो । यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उहाँको भनाई छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १५:२९