Logo

नेपाल अंकलले लेखेको अन्तिम डेथ ग्याजेट (कोरोना कथा)



-निर्मलकुमार थापा

नेपाल अंकलको वास्तविक नाम पृथ्बीपाल हो मुल घर गोर्खा तर पछि दमौली झरेका थिए उनका परिवार । नेपाल अंकलले सेन्ट्रल लण्डनको असन चाइना टाउनमा एकमात्र रेष्टुरा कुमारी कुजिन खोलेको पनि बिस बर्ष बितिसक्यो । बेलायतमा नेपाल अंकलको परिचय बिशिष्ट छ । त्यो बिशिष्टता शरिरको उचाइ भन्दा पनि, काम र पैसाको हिसाब भन्दा पनि वा बौद्धिक तडकभडक, मिडियामा चर्तिकला देखाउने, नेपालबाट पाल्ने राजनीतिक नेता कार्यकर्तासँग झण्डारोहण कार्यक्रमका अनिवार्य फूर्तिसाथ भाग लिने पतकर घर्षणकर्म छाडि निस्वार्थ सामाजिक सेवाका कारणले नेपाल अंकलले बेलायती समाजमा निकै गरिमा कमाएका छन् ।

देशको गौरव बढाएकाछन् । बेतुकका हल्लाहरु, अनावश्यक दललाई बिदेशी मलद्धारा पोषण गरी हुर्काएको परेदेशीपनालाई बेलाबेलामा हुने जमघटहरुमा मातृभुमिका सपूतहरु बिर्सनेगरी घुट्क्याएको दृष्य नेपालमा रहँदा तीनपाने पिएको वा कोदा, महुआको असली रस पिएझै संस्कारी गाली गरेका पाकथालीहरु ज्यूँदै छन् । तर भोलिपल्ट देखि सबै सामसुम । वल्लो डाडो र पल्लो डाडो, वल्लो गाउँ र पल्लो गाउँको लडाइ जस्तो हुल्लडवाजको रैथाने जरो किलो पनि नेपालीहरु संसारका सबै भूभागमा ससम्मान पुर्याएकाछन् त्यसमा चिन्ता हुनुपर्ने नहुनुपर्ने गणराज्य नेपालका भूतपूर्व नेपालीहरुलाई छाडौ ।

बेलायतमा पनि त्यस्ताखाले रमीताजन्य मेलाहरु देख्न सकिन्छ । सक्रिय सहभागी नभएपनि भोक्ता भएकाहरु प््रायः सबै हुनुपर्छ, जजसले शिरमा ढाका टोपी लाएका छन्, कम्मरमा खुकुरी भिरेकाछन्, नभए घरघरमा खुकुरी क्रश जताएकाछन्, कासको थाल बजाएकाछन्, नभए गुन्द्रुकको गन्धलाई राष्ट्रिय सुगन्धका रुपमा टोल छिमेकमा प्रचार प्रसार गरीरहेकाछन् । …. देशभक्ति त मर्दैन देशै चुत्थो भएपनि … गहना अनेक छन् । बाहाना अनेक छन् । नेपालीहरुका पिडा पनि छन् चैनका दिन पनि हृदयमा टाँसेकाछन् ।

जन्मदेश छाडेर कर्मदेशमा आउँनेहरु सबै एउटै जातका फलफूल होइनन्, कोही आँप छन्, कोही सुन्तला, कोही मुन्तला, कोही नासपती त कोही मेल छन्, कोही गुराशको जुस पिउछन् कोही गुराशको वाइन पिउछन् तर साझा चिन्ता नेपाल र नेपालीको छ । त्यो कहिल्यै नमेटिने नेपालीको स्वभाव हो, तनको तन्तुमा मासीमा भरिएर बसेकोछ । त्यसको दृष्टान्त समस्यामा एकजुट हुने नेपालीहरुको चासोलाई अन्य मुलका नागरीकहरु नजरअन्दाज पनि गरेकाछन् । बहादुर गोर्खालीको शानमान सँगै सफल व्यवसायी, चिकित्सक, कानूनविद्, आदी सेवाका कारण पनि नेपालीहरु झाँगिदै गएकाछन् ।

लेखक/साहित्यकार निर्मलकुमार थापा ।

बेलायतमा बसोबास गर्ने नेपालीहरुमाझ एउटा भनाइ अर्मुतरुपले फैलिएकोछ, त्यो हो, कुमारी कुजिनमा नेपालबाट आउनेहरुमा घुस खानेहरु जानै सक्दैनन् । किनकी त्यहाँको मसलाको करामत नै त्यस्तै खाले थियो, देशको पैसा डुबाएर शानमा उब्राउँनेहरु आजभोली बिदेश घुम्न नौलो घटना भएन तर घुस खाने नेता कर्मचारी कोही छन् कि ती कहिल्यै कुमारी कुजिनमा पाइला टेक्नै सक्दैनन् । कोहि भन्थे, नेपाल अंकलले ढोकामा बाँधो फुकेर मोहोर र चामल राखेकाछन्, कोही भन्छन्, उनले प्रयोग गर्ने मसलाले खाना खाने मान्छेको पहिचान गर्छ ।

कागती र खुर्सानी दलिनमा झुण्डाउने हरु बेलायतमा नभएका होइनन तर कुमारी कुजिनको चर्चा बिशेषखालको छ । बजारमा हल्लाहरु निकै चलेका हुन्छन् तर वास्तवमै घुस्याहाहरु अहिलेसम्म जाने आँट गरेका छैनन । गइहालेमा पनि उनीहरु प्रतिकुल स्वास्थ्यका लागि तयार हुनुपर्छ । कोही कोही त ठहरै भएर ओछ्यानमै ढलेका पनि छन् । कोही भने भगौडा बनि नेपाल नै फर्केर दुरी कायम गरेका किस्साहरु सुन्न सकिन्थ्यो । सानो देश नेपालका ठुला भ्रष्टाचारीहरु अन्धविश्वासमा परेर बेलायतबाट खानाको निहुँमा लखेटिनु देशभक्तिको एउटा सर्को हो, त्यो अख्तियारलाई अपुष्टरुपमा सहयोगी सावित भएको छ ।

नेपाल अंकल बेलायत आएको २९ बर्ष भयो । देशको राजनीति चित्त नबुझेर आएको हो भन्नुहुन्थ्यो । जहिलेपनि देशभित्रको राजनीतिको कुरा गर्दा चासो देखाउनुहुन्छ र आफ्नो अवधारणा स्पष्टरुपमा राख्नुहुन्छ । बाहिरीयका नेपालीहरुको बुद्धि र सिप देशवासीको लगन र इमान्दारीताको घुलन हुन सक्यो भने, सिंगापुर स्विजरल्याण्ड होइन चमत्कारिक कैलासकुट ल्याड सावित हुन्छ । नेपाल अंकललाई अंशुबर्मा ताकाको नेपाल निकै घत लाग्छ, त्यसबेलाको कैलाशकुट दरबारको पनि कुरा गर्नुहुन्छ ।

देशमा अर्थव्यवस्था चौपट पर्दा गाढधन हाँडिगाउँमा कतै भेटिन्छ कि पनि भन्नुहुन्छ तर नजिकै अहिले बनेको भाटभटेनी सुपरमार्टले सबै नेताहरुको गाढधन जिम्मा लिएदेखी कैलाशकुट दरवार अझ माटोको सतहमुनि धसीदै गएकोछ भन्नुहुन्थ्यो । कार्टुन नबनाएपनि हास्यरसले भरिएका उहाँको बोली ठेट जनबोलीका रुपमा चाँडै बुझिन्थे । परदेशमा झर्रो नेपाली कुरा गर्ने मान्छे पाउनु गाहे हो त्यसमाथि नेपाली खाना अर्को असंभव कुरा हो ।

नाममात्रका नेपाली रेष्टुराले नेपाली खानाको बेइज्जत नै गरेका छन् । यस मामलामा नेपाल अंकल अपवाद छन् । सन्तुलित मेनु छ, अर्डन पनि लिइन्छ, बुफे पनि छ । जसलाई जे मन पर्छ खाए हुन्छ । हिन्दुधर्ममा खाना र पूजाको कुरा गर्दा गणेशको नामा पहिला आउँछ । खानाको मामलामा जिप्सीहरुले भगवान् गणेशको पनि मानाहानी गर्ने अवस्था देखिन्छ । कंगारुको झोल्लीएको झोलीमा लुकाएजस्तो यिनीहरुले खाएको यतिका खाना कहाँ जान्छ होला? नेपाल अंकल थोरै खाने नेपालीहरुलाई जिप्सी, गोरा, काला, चीनिया सबैले कसरी, कति खान्छन् भनेर बर्णन गर्नुहुन्छ ।

नेपाल अंकल पेशाले दर्तावाल लेखापाल हो । उहाँ जतिबेला नेपालमा हुनुहुन्थ्यो, उहाँ लेखाअड्डाको कार्यलय बाहिर कलमकापि लिएर, नेपाली पोशाकमा बडो ठाँटले बस्नुहुन्थ्यो रे । पैसा तिर्न सक्नेहरुसँग चल्तीको दर लिने र दिन नसक्नेहरुलाई निःशुल्क सेवा दिने गर्नुहुन्थ्यो रे । सम्बन्ध बिच्छेदका नाममा कागज र अंशबण्डाका लागि आउने झमेलाका निवेदन उहाँले कहिल्यै लिनुभएन रे । गज्जबको मान्छे सबैले यसै भन्थे । चिन्नेजान्नेहरु प्रभावित नभएका विरलै हुन्थे । नेपाल अंकलका कुरा र खाना दुबै मिठा हुन्थे । उहाँको नेपाल हुँदाको लेखनदास जीवन बेलायत आएपछि त्यागीदिनुभयो । किन त्यसो गर्नुभयो त भन्दा, मलाई कम्प्युटर नआउँने, अग्रेजि भाषा बोल्न सम्म त ठिकै हो लेख्ने कुरा आयो गाइगन्ध आउन थाल्यो र पेशा परिवर्तन गरेर खानपानमा लागे । भन्नुहुन्थ्यो । नेपाल अंकलको हात साह्ै मिठो, ने खाना बसाएपनि पकाएपनि मुखमा मालदार अनुभूती गराइछाड्ने उहाँको पकवानशिल्प थियो ।

लण्डनमा चीनियाँ बजार प्रशिद्ध ठाउँ हुने नै भयो । विश्वमा चीनको प्रभाव यसरी सृजना गरिएका मोडेल टाउनले संकेत गर्दछन् । त्यो राम्रो पक्ष भएपनि नराम्रा पक्ष भने गैरकानूनी ढंगले बसेका चिनियाँहरु र देहव्यापारमा लागेका दोस्रो र तेस्रो लिंगीका कारण चाइना टाउनको इज्जत बेइज्जत दुबै छ तर चिनियाँ खाना खान आउँने पारखीहरु पनि प्रशस्तै देखिन्छन् लण्डनमा । ती सबैको अन्तिम थलो यही चाइनाटाउन हुन्छ । केही एसियन मुलका रेष्टुरा पनि छन् तर नेपाल अंकलको कुमारीकुजिन अरुभन्दा पुरानो गरीमा बोकेको २० बर्षे लक्का जवानीमा हिडेकोले होला सधै भिडभाड नै हुनेगर्छ । बिशेषतः नेपाली खाना, हिमाली खाना र भारतीय खानाको लागि यो रेष्टुरा रोजाइमा पर्दछ ।

कोरोना भाइरसको प्रलयकारी कुइरीमण्डलमा बेलायत पनि परयो । बेलायत भित्रका व्यवसायले पनि घुँडा धसे । सबैले भन्थे बेलायतमा सबै कुरा डुबेपनि एउटा कुरा सधै तैरिरहन्छ त्यो हो बिबिसि सेवा । सूचनाको महत्व र ताकत त्यही सञ्चारमाध्यमले संसारलाई सिकाएको थियो । बिषम् अवस्थाबाट उठाउँन एक्लै मद्दत गरेको थियो । कोरोनाले लथालिगं भएका सबै धन्दाहरुमा रेष्टुरा व्यवसाय पनि पर्यो तर नेपाल अंकलले केहि दिन लकडाउनमै घरमा बस्नुपर्यो तर मनले मानेन ।

अस्पतालमा रोइरहेका आत्माहरुको आवाज सुन्ने कहि कतै निर्माण भइरहेका कफिन बक्सहरुमात्र थिए । डक्टर, नर्सहरुको अवस्था नाजुक थियो । समयभन्दा पनि चिन्ताको औषधी कहाँ पाउनु? भोकको शोकमा रुग्ण भइरहेको शरिरलाई सन्तुलनमा ल्याउन गाहे थियो । नेपाल अंकलले अस्पतालका कर्मचारीहरुका लागि भनेर आफ्नो रेष्टुरा खुला गर्नुभएको थियो । आफ्नो परिचयपत्र देखाएर निःशुल्क खाना खान आउँनेहरुका लागि कुमारीकुजिन खुल्लै थियो ।

खानाको स्वादका अम्मलीहरु पनि अचम्मका हुन्छन् । देशप्रेमको झिल्के शेष कसरी जिब्रोमा बास गर्न पुग्छ र आफ्नै जन्मघरको पाकताउली सम्झाउँछ । रेष्टुरा खोल्नुपछाडीको रहस्य पनि नेपाल अंकल स्वयंम खानाको पारखी भएकोले हो । खाना र जीवन भनेको टायर र हावाको सम्बन्ध जस्तो हो भन्नुहुन्थ्यो । कोनमा बसेको आइसक्रिमजस्तो हो भन्नुहुन्थ्यो । मकैको सोलीले के नै मिठास थप्ने हो र तर पनि हाम्रो जिब्रोको स्वाद यसरी अम्मली भइसकेको छ कि आइसक्रिमको साथमा सोली चाहिन्छ चाहिन्छ, कोनको नम्र कठोरता कुलत बनेर रौं रौं मा बसेकोछ ।

नेपाल अंकलपनि विभिन्न परिकारका खानाको मजेदार शुभचिन्तक, परदेशमा कति घरमा पकाउनु र फ्रिजमा स्टोर गर्नु–तताउँनु–खानु ! बरु रेष्टुरा खोल्यो भने आफू पनि खान पाइने र हरेक दिन ताजा खानाको साथमा दाना (पैसा) पनि आउने, साथीभाइ सँग पनि भेट हुने, देश विदेशको हाल जान्न पाइने । नयाँ नयाँ साथिहरु पनि बनाउँन पाइने । यावत् कारणहरले नेपाल अंकलले कुमारी कुजिन खोल्नुभएको । चंख आँखाले ठम्माएर, रसीलो हातले हल्लाएर, मरमसला हाली जिब्रो मार्फत भुडिसेवा गर्न पाउँनु शरिररक्षाको अर्को के उपाय होला र संसारमा ?

ग्राहकहरुले खानाको तारीफ गरिदीएर होला नेपाल अंकलको अजंगको अमासय लाग्छ पौराणिक नेपाली संस्कृती जम्मा गरिराख्ने भकारी हो, भण्डार हो । त्यहाँ खाना मात्र छैन, शुभचिन्तकहरुले दिएको पुष्टकारी अहोभाव पनि छ, धन्यवाद पनि छ, टिप्सको गणितले ल्याउने आनन्दपनि क्याँटी बनेर कतै कुनामा रसपरवाह गरिरहकोछ । आलिसान डिट्याच घर दिएकोछ, आरामी डसना दिएकोछ । त्यहाँ लडेर घुर्न स्वतन्त्रता दिएकोछ । त्यस्तो अनुकम्पा अस्तित्वमा रहेका अन्य कर्महरुबाट पाउन असंभव छ । त्यसैले कुमारी कुजिन दृष्यमा आउनपुग्यो र नेपालीहरुमाझ ताली पाउन सफल भयो, विदेशीमाझ थम्सअप पाउँन सफल भयो, धक्का दिएर धाप भन्नेहरु पनि छन् । ती बलिया सुडौल खानाका पारखीहरुले नेपाली खानामार्फत नेपालको प्रचार सित्तैमा गरिदीएकाछन्, त्यसको हेक्का नेपाल पर्यटन बोर्डले राखेकोछैन ।

पर्यटनमन्त्री सुर्ती माड्दै कतै बसेर टिभीमा कुमारी कुजिनको भिडदृष्य हेरिरहेको हुनुपर्छ । वा राजदुतले उपद्रो अंग्रेजि बोलिदीएर सजिलो नेपाललाई गोर्खाबाट इटलीको नेपल्समा पुर्याईदिएकोछ । बरु संस्कृतमा बोलिदीए हुने कमसेक देशको गरीमा बढ्थ्यो । डिग्री लुकाउँनेहरु, काम लुकाउँनेहरु, सम्बन्ध लुकाउँनेहरु बेलायतमा थुप्रै भेट्न सकिन्छ । यसरी नेपाल अंकलले अचम्मको बाटो रोज्नुभयो र प्रशस्ती गर्नुभयो । देशलाई ठगेर आउँने नेता कर्मचारीलाइ तह लाउन वीचक्राफ्ट, बोक्सी बिद्या सिक्न स्कटल्याण्ड जानुभयो र त्यसलाई रेष्टुरामा हुल्नुभयो ।

समाजसेवा पनि एकखाले कुलत रहेछ । थोरै गर्यो धेरै गर्न मन लाग्ने, जति गर्यो उती गर्न मन लाग्ने । अरुलाई सकेको सेवा सहयोग गर्न पाउँदा आउने हर्षले अन्तसहृदयलाई आनन्दी दिने नै भयो तर पनि गर्दैजाँदा त्याग्नै नसकिने गरी आत्मीय कर्म लाग्दोरहेछ । मेरो कर्म नै यही हो सायद, यि आवश्यक परेकालाई म नभए अरु कसले गर्ने त? भन्ने जिम्मेवारी बोध बढ्दैजाँदोरहेछ र थप निरन्तरताका लागि प्रेरणा बन्दारहेछ । नेपाल अंकलले पनि धेरै सहयोगी हातहरु फैलाउँनुभएको थियो । विमानस्थलमा अलपत्र परेका नेपलीहरुदेखि, सुत्न, घुम्न र गन्तव्यसम्म पुग्नका लागि सक्दो सहयोग गर्नुभएकै हो । जहिले देखी रेष्टुरा संचालनमा आयो त्यहाँबाट आउँने आम्दानीको धेरै हिस्सा नेपाल र बर्माका नेपालीहरुको हितमा जाने गर्दछ ।

सहयोग रकमको के हेक्का राख्नु नेपाल अंकल भन्छन्,‘त्यो त गर्ने हो बिर्सने हो । भगवानको भाग हो त्यो खासमा र म ब्रोकर भइदिएको मात्र हो । निःशुल्क फेर्न पाएको हावाको मूल्य कसलाई तिरुँ? हरिया मिलेका पार्कहरुमा फुलेका बैजनी रंगका फुलहरु हेर्दा पाउने आनन्दको मूल्य कसलाई तिरुँ? सम्बन्धका अनेक भुमरीले समुन्द्रभित्र हुलेका बेला अचानक झुल्कने छालहरुलाई के तिरो तिरुँ जसले मेरो अतितलाई किनारामा ल्याइदिए र फेरी समुन्द्रका ज्वारभाटासँग मिलीगए । मैले धेरै तिरो तिर्नु बाँकी छ र यहाँ लिने कोही छैन । भनौ न मेरो शरिरको गडबडी नै मानौं, खै अहिलेसम्म चंगा भएर दौडेकै छु । अब मैले गर्ने भनेकै समाजसेवा हो । त्यो पनि हल्ला नगरी हल्का हल्कागरी सक्ने गर्ने हो ।’

नेपाल अंकलको रेष्टुरा बाहिर एउटा डोनेसन–बाकस छ । खानका लागी आउँने ग्राहकहरुले सम्झीएर खसाले भने ठिकै छ, छैन भने उनी आफै साँझ बन्द गरेर जानेबेलामा खल्तीमा हात पसाउँदा हातमा आएजति रकम खन्याउँछन् र रंगिन अनुहार लिएर घरतर्फ लाग्छन् । च्यारीटी यात्रा र सन्ध्याकालिन् सत्रहरुको सञ्चालन उनले निकै गरेकाछन् । रेष्टुरामै उनले कतिवटा च्यारीटी डिनर होस्ट गरे त्यसको कुनै लेखाजोखा रहेन, बजारमा हिँड्दा सम्झाउँनेहरु भेटिन्छन् तर उनले भने गिन्ती गर्न छाडिसके ।

जीवनपछि आउने अर्को जीवनको लोभ नेपाल अंकलमा छैन । युवावयमा एकफेर कम्युनिष्ट नहुने को हुन्छ र? चिन्नेले नेपाल अंककलाई बेलायती नेपालीहरुको साझा श्रमीक थलोका संस्थापककारुपमा सम्मानपूर्वक लिने गर्दछन् तर अचेल उक्त संस्था बेलायतमा बस्ने नेपालीहरुको हितमा भन्दा पनि नेपालमा बस्ने शासकहरुका हितमा काम गर्ने भएदेखी नेपाल अंकल मौन भइगएकाछन् ।

कसैले उनीसामु राजनीतिक दाऊ राख्यो भने उनी भन्थे, ‘त्यो कम्युनिष्ट भनेको कार्लमाक्र्स, एंगेल्स वा माओ, स्टालिनसँग सरोकार राख्ैन ती महान् आत्माहरुभन्दा पनि पहिले परीवार, समाजमा कलह गर्नेहरु धेरै थिए । देशका गतिमा असहती राख्नेहरु थिए तर तीनीलाई ब्यख्या गर्नका लागि कम्युनिष्ट शब्दको क्वाइन भइसकेको थिएन । तसर्थ उनीहरुका प्रतिक्रिया र कर्महरु जसरी उठे उसैगरी बिलाए । तिनको इतिहासको कुनै लेखाजोखा भएन ।’

सबैखाले राजनीतिकर्मदेखी पर रहेको अंकल सबैलाई समभावले हेर्ने गर्दथे । विस्तारै आयु पातलीदै जाँदा सिद्धान्तको ज्वरो घट्दै जानेरहेछ, क्युबाली नेताहरुको डिएनए र उत्तरकोरीयाली नेतृत्वको बंशआस छोडेर विश्वमा कहि कतै पनि उती बिध्न तातो बलिदानीको भाषण पचास कटेपछि सुनिदैन, देखिदैन । तसर्थ कोही धर्मको शरणमा पुग्छन्, कोही बिरामी मर्म छाम्दै गम्दै घरआँगन गार्डेनमा घुमिरहन्छन ।

नेपाल अंकलको व्यापार बन्द भयो । नेपाली खानाको लत छुट्यो । नेपाली खाना खाने पारखीहरुलाई ख्वाउँन नपाएको छटपटी बढ्यो र कोरोनाको लहर झ्याम्मीदै गएपछि पनि सेवा सक्रीयता जारी राख्न नेपाल अंकल निरन्तर जुटिइरहेका थिए । अचम्म के भयो भने, कोरोनाको क्रमलाई भंग गर्दै नेपाल अंकलको आवाज बन्द हुन पुगेको थियो । पछिल्लो समय उनी नियमीतरुपमा अस्पतालका स्टाफहरुलाई निःशुल्क खाना खुवाउने काममा लागेको समाचा फैलिएको थियो तर उनको आम व्यापार र आम्दानीको स्रोत भने बन्द थियो । सरकारले दिने राहत रकमलाई सदुपयोग गर्दै आएका थिए ।

क्रेडिट लिमीट बैंकले बढाएपनि त्यसको रकमले धान्न सक्ने अवस्था थिएन र कार्ड नै चिरीन पुगेको थियो । लपसप भएर होला उनलाई पनि कोरोनाले डसेछ र उनै ग्राहक एनएचएसका स्टाफहरुको निगरानीमा उनी अस्पतालमा लम्पसार परेका थिए । सबैले माया जताएका थिए, उनी संचारमा नेपाली हिरो भएर हाँसीरहेका थिए तर वाचाल बेडमा लडीरहेका उनको मधुरो श्वासको धाँगो ती बाहीरी हल्लाहरु सुन्नबाट बञ्चित थियो । र त्यो धाँगो पनि कतिबेला चुँड्यो भेन्टिलेटरमा राखेपछि के सक्कली समय के नक्कली समय, गोलमाल भयो र नेपाल अंकलले सबैलाई छोडेर जानुभयो ।

नेपाली समाजका असली हिरो त थिए नै तर बेलायती समाजमा पनि नेपाल र नेपालीको शिर उँचो राख्न काम नेपाल अंकलले गरेका थिए । त्यसको चर्चा चारैतिर फैलिएको थियो । शोकको समय थियो, आँशुको अनिकाल थियो । कोरोनाले मरेका नम्बरी मान्छेहरु थेग्न नसक्ने भएकोले कसको मृत्युमा कति पिडा खन्याउँने बाँच्नेहरुले हिसाब लगाउनुपर्ने बेला थियो । घरबाट मर्नेहरुको संख्या बढेर परिवारमा घुलेको थियो, यस्तैमा नेपाल अंकलको नम्बर आयो र बन्द बाकसमा थुनियो ।

उनको मृत्युपछि विस्तारै गाईगुइ चल्न थाल्यो । नेपाल अंकलको छाडेर गएको डेथनोट जसलाई उनले एकजना चिकित्सकलाई थमाएका रहेछन् त्यसको बारेमा समाचार बाहिर आयो । नेपाल अंकलको संकल्प जिल पार्ने खालको थियो । उनले आफ्नो मृत्युको अन्तिम बकपत्रमा उनले कसरी कहाँ के प्रकारले उनलाई बिसर्जन गरीओस् र कस्ता कर्महरु गरीओस् भनी पहिल्य नै लेखेर सुरक्षित राखेका रहेछन्;

नेपाल अंकलले लेखेको अन्तिम डेथ ग्याजेटको व्यहोरा यस्तो छः

मेरा प्रिय शुभचिन्तकहरु,
तपाईंहरुले मेरो मृत्युको समाचार पाएपछि आउनै पर्छ भन्ने पनि केही छैन, श्रद्धाञ्जली व्यक्त गर्नैपर्छ भन्ने पनि केही छैन । मौनधारण त भुलेर पनि नगर्नुहोला । मसँग जोडिएका विगतका कुनै कार्मिक कनेक्सन भएपनि तीनील्याइ ल्याएर गह्ुगो नहुनुहोला । तपाईं मात्र तपाईं भएर बाँच्नुहोला, नाच्नुहोला । मैले जसरी चिनेको थिए त्यसैगरी हाँस्नुहोला पिउनुहोला र मेरो शेषलाई छेको पारेर आफ्नो बँचेको आयुपातोलाई सम्हाल्नुहोला ।

मेरो परिवारका सदस्यहरु,
संयोगले हामी हामी कहलियौं, फलानो परिवार । मैले परिवारका लागि कहिल्यै केही गर्न सकेजस्तो लागेको छैन । मैले गर्न नसकेकोमा गुनासो वा केही गरेजस्तो गरेकोरहेछु भने त्यसबापत अनुग्रहका रुपमा आँशु खसाउने धृष्टता नगर्नुहोला । मेरो इच्छा यही छ, जतिसक्दो चाँडो मेरो सम्झनामा आफ्नो शरिरलाई पिडा नदिनुहोला । सम्झना गहुगों भूत जस्तो हो जसले कालको कालो चट्टान बोकेको हुन्छ र आजन्म पिरोलीरहन्छ । त्यसैले अनावश्यरुपमा मेरो सम्झनाको अघेल्याई माझमा नल्याउनुहोला ।

मेरी पत्नी र सन्तानहरु,
म धन्य भए तिमीहरुसँग यात्रा गर्न पाएकोमा । कहिले लाग्छ तिमीहरु मेरो जीवनघरमा जसरी आयौ र एक भयौ, म नभइ अरु कोही भए तिमीहरु कसरी बाँच्न धान्न सक्थ्यौ होला जस्तो लाग्छ र गुन लगाएको भान हुन्छ । अर्को मनले मान्थ्यो, तिमीहरुको जीवनमा म आउन नसकेको भए म कहिल्यै मिल्काइसकिएको ढुंगा हुन्थे, जसलाई नदी किनारामा हिड्ने बगरेहरुले पारी तराउँनका लागी पातलो नाडी छाम्दै भंगालोमा छोस्थे । तिमीहरुका कारण मैले पारी तर्न सके र यहाँसम्म आउनसकें, यस अर्थसँग म बढी आकर्षित भएकोछु । त्यसरी बगरेको सहायताले पौडि खेलेर नदी तरेको मेरो जीवनको के अर्थ ? न बिउ हुनसक्यो? न बाँच्न नै जान्यो, यस्तोलाई बिलाउन देऊ र बियोगी बनेर खेतीकिसानी गर्ने जगलाई नहसाऔं । मेरो मृत्युकर्मका कुनैपनि थितीहरु पुरा गर्न तिमीहरु बाध्य छैनौ । तिमीहरु आफैमा पूर्ण छौ र म अपूर्ण शरिर अल्पायुमै बिदा भएकोमा कुनै सुर्ता नगर । म तिमीहरुसँग थिए भन्नु र तिमीहरु म सँग थियौ भन्नुले कुनै अर्थ राख्दैन अब । मेरो हिसाबकिताब, मेरो लेनदेन केही बाँकी रहेको रहेछ भनेपनि म सँगै गलेर जानेछ । केही बैचारीक जोड थिएभनेपनि म सँगै उडेर जानेछन् । तीनले मलाई कुनैपनि रुपमा फरक पार्दैनन् तसर्थ मेरो निम्ती म सँग जोडिएका हरेक कर्महरु निन्दनिय र अव्यवहारीक हुनेछन् यदी तिमीहरुले ठाउँ दियौ भने ।

मेरा शुभचिन्तकहरु हो,
तपाईंहरुको सामुहीक तस्विरमा म पनि कतै छु भने, त्यो मुहारमा केरमेट गरीदिनु, च्याँतिदीन सकीयो भने अझ उत्तम । मालिकरुख छैन भने त्यहाँको छाँयाको के काम? ती छायाँमा देखिने हाँगाबिगाको के अर्थ? ती हाँगामा बसेको गुँडको के भरोशा? त्यसैले तस्विरको गरीमा राखीदिन कृपया नष्ट गरीदिनुहोला । मेरो नाममा सुरक्षित मेरो सम्पर्क नं वा इमेल पनि गलाइदिनुहोला । मैले चलाउँने सोसल साइटमा म्यासेज वा रिक्वेष्ट पठाउने वा कुनै पनि माग विचार बोकेका गन्थनको सामुहिक ट्यागको लर्कोबाट मेरो नाम हटाइदिनुहोला, वा सोसल साइट मालीकले अनआइडिन्टीफाई गरीदेला मेरो अकाउन्ट त्यसको हेक्का राख्नुहोला । र भुलेर पनि मेरो मृत्युमा श्रद्धाञ्जली दिन सोसलसाइटको पातोलाई पात्रता नठान्नुहोला न त बार्षिकतिथी सँम्झाउनीको बाहाना पारेर व्यर्थका शब्दको नास गर्नबाट बच्नुहोला । मृतमान्छेका बारेमा लेखेर, पढ्न बाध्य पारेर जिवीत शरिरलाई अमिलो नबनाउँनुहोला, यसैमा तपाईंको कल्याण छ ।

म जस्ता सामान्य मनिसको सम्झना संकलन भनेको महान मान्छेहरुको अपमान हो । तसर्थ मेरो नामको अक्षयकोष, मेरो नामको संस्थाहरु र अर्ध/पूर्णकदका सालीक बन्न नपरेकोमा म खुशी छु । समाधीस्थलमा कुनै चिन्ह राखीदिदा छेउको अस्तु रिसाउने हुन्छ, त्यो मूर्खता पनि नगर्नु । म थिए र थिइन को माझमा अलमलीनु राम्रो कुरा होइन् । तसर्थ म बिन्दुसमान बाँचे र हराउन पाए भने मेरो भाष्य पुरा हुनेछ यसलाई मनन गर्नु ।
अस्तु ।

थाहा छैन के भयो कसो भयो नेपाल अंकलको मृत्युपछि । किनकी सबैले उनको अन्तिम इच्छालाई पालना गर्ने र त्यही असली सम्मान हुने भन्दै आफ्नै शैलीमा अनुबन्ध भए । त्यसपछि नेपाल अंकलका बारेमा कहिल्यै कसैले उच्चारण गरेको थाहा बेलायतमा छैन, सायद यही थिती नेपालमा पनि होला ।

थापालाई ट्वीटरमा भेट्न सकिन्छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार ०९:३०
प्रतिक्रिया दिनुहोस्