१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहमा खटायो १५ चिकित्सकको टोली


२३ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई/दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक र चन्दननाथ नगरपालिकासहित अन्य छ गाउँपालिकामा दुई/दुई गरी १५ चिकित्सकको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्वोन्द्वबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा कमलराज शर्मा र प्रा डा रामप्रसाद उप्रेतीलाई खटाइएको छ । यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा सुनिल बुढाथोकी र प्राध्यापक सुष्मा काफ्लेलाई खटाइएको छ । जिल्लाको पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाईं, डेण्टल सर्जन भुमेष काफ्ले, तिला गाउँपालिका लेक्चर सञ्जीव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोखरेल र सर्जन दृष्टिराज जोशीलाई खटाइएको प्रतिष्ठानले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिकामा डा शम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा प्रवीण गिरी र डा अर्जुन तिवारी खट्ने भएका छन् । यसैगरी हिमा गाउँपालिकामा मेडिकल अधिकृत अजीत मिश्र र मेडिकल अधिकृत डा महिमा थापालाई खटाइएको छ ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारले चिकित्सक पठाउन नसकेको भन्दै तत्काल चिकित्सक पठाउन अनुरोध गर्नुभएको थियो । गाउँपालिकाले क्वारेन्टिनमा राख्ने नागरिकका लागि स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचारसमेत गरेको थियो ।

यसैगरी हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी एक जना अध्ययनमा गएका र अर्को व्यवस्था अहिलेसम्म नहुँदा सङ्कटको घडीमा पनि समस्या भएको गाउँपालिकाले जनाउँदै आएको छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले स्वास्थ्य र सुरक्षाको क्वारेन्टिनमा ग्यारेन्टी गर्न माग गरेपछि स्थानीय प्रशासनले सुरक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्लाका सबै स्थानीय तहमा एक÷एक चिकित्सक पठाउने प्रतिबद्धता जनाएको थियो । यसैगरी गाउँपालिकाका एकीकृत क्वारेन्टिनमा समेत सुरक्षा व्यवस्था कडा गर्न जिल्लास्थित सुरक्षा प्रमुखको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार ०८:१४