१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

मन्त्रिपरिषद‍्मा लकडाउन खुकुलो बनाउन छलफल, कार्ययोजना बनाउने जिम्मा उच्चस्तरीय समितिलाई


२२ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल भएको छ। बिहीबार रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन बाँकी रहेको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन काेराेना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको ती मन्त्रीले जानकारी दिए। समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको अर्काे बैठकले लकडाउनको मोडालिटी तय गर्ने ती मन्त्रीले जानकारी दिए।

यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो। विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका छन्। सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन जेठ ३२ गतेसम्मका लागि ताेकिएकाे छ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार २०:३१